जल/वातावरण

कोरोना संक्रमण र नेपाल : हिजोको जस्तो सावधानीले पुग्दैन

चीनबाट सङ्क्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको र छिमेकी मुलुक भारत र भुटानमा समेत विस्तार भएको वर्तमान अवस्थामा मुलुकमा हिजोको जस्तो मात्रै सावधानीले नपुग्ने देखिएको छ ।

कोरोना सङ्क्रमणको दायरा फराकिलो हुँदै जाँदा भारतसँगको खुला सिमानाका कारण सीमाक्षेत्रमा कडा निगरानीको आवश्यकता महसुस गरिएको छ ।

सर्वसाधारणदेखि संसद्मा समेत कोरोना भाइरस भित्रिन नदिन सरकारले आफ्नो गतिलाई बढाउनुपर्ने माग उठिरहेको छ । सोही सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस र यसको नियन्त्रणका विषयमा एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै पेश भएको छ ।

उक्त प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई यसअघि नै उच्च जोखिम देशको रूपमा राखिसकेको छ ।

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले संसद्मा प्रस्तुत गर्नुभएको उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै विभिन्न दलका ४० सांसदले कोरोना भाइरस भित्रिन नदिन सरकारले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय र प्राविधिक तयारीमा जुट्नसमेत आग्रह गर्नुभएको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार अहिलेसम्म विश्वका ८९ देशका ९८ हजार ४०७ जनामा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ । यसमा तीन हजार ३८७ को मृत्यु भएको तथा ५५ हजारभन्दा बढी सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदले उठाएको जिज्ञासा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले हिजोको जस्तो सावधानीले मात्रै नपुग्ने भएकाले सरकारले निगरानी बढाउन थालेको सदनलाई जानकारी गराउनुभयो । उहाँले छिमेकी राष्ट्र भारत र भूटानमा पनि यो भाइरसले छोएको भनेर पछिल्लो जानकारी आएको उल्लेख गर्दै सङ्क्रमित हुनेहरूको दायरा बढ्दो क्रममा रहेको बताउनुभयो ।

मन्त्री ढकालले जवाफमा भन्नुभयो, “कोरोनाको सङ्क्रमण दर फराकिलो बन्दै गएको छ, हिजोको जस्तो सावधानीले मात्र नपुग्ने अवस्थामा छ, हिजो चीनमा मात्रै थियो, अहिले युरोप, अमेरिका, दक्षिण कोरिया, जापान, इरान, अरबलगायत थुप्रै मुलुकमा रोग देखापरिसकेकाले अझै चनाखो हुनुपर्ने अवस्था छ ।” खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले पनि मुलुकमा अझै जोखिम बढेको छ ।

मन्त्री ढकालले जोखिम बढ्दो रहेकाले अहिले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्पडेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिनुभयो । उहाँले औषधि र कच्चापदार्थको आयातका बारेमा कूटनीतिक ढङ्गले भारतसँग कुरा भएको जानकारी दिँदै भारत सरकारबाट माग भएका वस्तुको उपलब्धता गराउने बचनबद्धता नेपाललाई प्राप्त भएको सदनलाई जानकारी गराउनुभयो । उहाँले मास्क र औषधिका विषयमा बाहिर केही हल्ला देखिएको भन्दै सरकारले अनुगमन र कालोबाजारी नियन्त्रणका लागि तीव्रता दिएको बताउनुभयो ।

सरकारले सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय सम्मेलन–सेमिनारमा कम जाने निर्णय गरिसकेको छ । पहिलोपटक नेपालमा हुने सगरमाथा संवाद नै सरकारले स्थगित गरेको छ । सरकार उच्चस्तरीय समन्वय समिति बनाएर नियन्त्रणका उपाय खोजी गर्दै अघि बढेको छ । मुख्यसचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले नै निर्देशक समिति बनाएर काम गरिरहेको छ । तीनै तहको सरकारको प्रतिनिधित्व हुने गरी सम्बन्धित नाकामा सहकार्यको माध्यमलाई पनि फराकिलो पार्दै जनचेतना अभिवृद्धिको कामलाई पनि अगाडि बढाएको सरकारले जनाएको छ ।

कोरोनाको सङ्क्रमण भित्रिन नदिन पहिलो त सावधानी अपनाउने, प्रवेश भएमा कसरी जोगिने ? र अति जोखिममा पुगियो भने के गर्ने ? भन्ने बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री ढकालले जवाफको क्रममा भन्नुभयो, “पहिलो काम प्रवेश गर्न नदिनमा नै सरकार चिन्तित छ, आजको छलफलले अझै सरकारलाई बल पुगेकोे छ, रोग भित्रिन नदिनका लागि आग्रह–पूर्वाग्रहको सीमामा नबाँधी सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार छ ।”

उहाँले अहिलेसम्म विभिन्न सात अस्पतालमा १५५ ‘आइसोलेशन बेड’ तयार पारिएको जानकारी दिनुभयो । सही सूचनाका लागि मन्त्रालयले नियमितरूपमा सूचना सम्प्रेषण गरिरहेकाले कोही पनि आतङ्क हुनुपर्ने अवस्था नरहेकाले संयमता अपनाउन मन्त्री ढकालले सबैमा आग्रहसमेत गर्नुभयो ।

सांसदहरूको सकारात्मक सुझावको मनन गर्दै सरकार अघि बढ्ने बताउँदै मन्त्री ढकालले सरकारको निर्णयहरू एकीकृतरूपमा एकै ढङ्गले आउनुपर्छ भन्ने सांसदहरूको सुझावको सराहना गर्नुभयो । मन्त्री ढकालले भारतबाट सुदूरपश्चिम नाका हुँदै नेपाल फर्कने नेपालीको चाप बढिरहेकाले अब त्यस नाकामा थप सजगता अपनाउनुपर्ने सरकारले महसुस गरेको जानकारी दिनुभयो ।

कोरोना नपडकिएको एम्बुस भएको उल्लेख गर्दै मन्त्री ढकालले भन्नुभयो, “कहाँ छ ? भन्ने थाहा नभएको तर पड्केपछि मात्रै थाहा हुने अवस्थामा रहेकाले सावधानी अपनाउनु जरुरी छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.