कर्णालीप्रदेश

अन्ततः सुर्खेत विमानस्थल विस्तार नहुने भो

लामो समयदेखि विस्तारको चरणमा रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका विमानस्थलको विस्तार कार्य अन्ततः स्थगित भएको छ ।

स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ ।

अब विमानस्थलका लागि नयाँ स्थानको खोजी गरिने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार नगरिने भन्दै विकल्प खोज्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

“प्रदेश सरकारले लामो समयदेखि हालकै विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्न सकिन्छ भनेर धेरै प्रयास ग¥यौँ, बजेट पनि छुट्यायौँ, सम्भव भएन” ।

उहाँले भन्नुभयो, “विस्तारमै वर्षौँ अल्झिनुभन्दा उपयुक्त नयाँ स्थानको खोजी गरी विमानस्थल निर्माण गरौँ भन्नेमा टुङ्गोमा पुगेका छौँ ।” हाल सुर्खेत विमानस्थलमा ठूलो सिट क्षमताका जहाज अवतरणमा समस्या छ । धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालन हुन नसकेपछि सङ्घ र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नतिको योजनाअघि सारिएको थियो ।

हाल धावनमार्गको लम्बाइ एक हजार २५५ मिटर छ । सुर्खेत नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल विस्तार गर्न उत्तरतर्फ करिब ६०० मिटर लम्बाइ र २४० मिटर चौडाइ विस्तार गर्न करिब ३० बिघा जमिन अधिग्रहण गर्न योजना थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाको असहमति रहेकाले विकल्प खोज्नु नै उपयुक्त देखिएको बताउनुभयो । यस विषयमा सङ्घ र प्रदेश सरकारको स्पष्ट धारणा आउनुपर्ने उहाँको भनाइ छ ।

विमानस्थल विस्तार नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ भएको बताउँदै भन्नुभयो, “विस्तार गर्दा पनि दीर्घकालीन नहुने हुँदा नयाँ स्थान खोज्न सबैमा सहमत भएको छौँ ।”

प्रदेश राजधानी रहेको सुर्खेतमा विमानस्थल साँघुरो हुँदा हाल ४७ सिटे जहाजले मात्र सुर्खेत काठमाडौँ उडान भर्दै आएको छ । जसले गर्दा भाडादर महँगो हुन गएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.