प्रदेशमधेश

छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जनकपुरमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो औँल्याउनुभयो ।

उहाँले नारीप्रति अपमान, एसिड प्रहारलगायतका हिंसाजन्य क्रियाकलाप गर्नेलाई साधारण सजाय नदिई फाँसी दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री राउतले छोरीलाई सशक्त बनाई हिस्सेदारीमा सहभागी बनाउनु आजको आवश्यकता हो भन्दै प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारद्वारा सञ्चालित छोरी बीमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको बताउनुभयो । प्रदेशसभा सदस्य परमेश्वर साह र सरस्वती चौधरीले भेद्भाव गर्ने मानसिकताको अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

नीति, योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नारी आदिशक्ति र स्वतन्त्रताको सन्देशबोधक भएको बताउनुभयो । उपसभामुख उपमा कुमारी देवको सभापतित्वमा भएको सो समारोहमा धनुषा जिल्लामा रहेका २७ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.