जल/वातावरण

गुर्जो कसले सेवन गर्ने कसले नगर्ने ? यसको विशेषता सिकाइँदै

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोको उपयोगिता, विशेषता र महत्व सिकाइएको छ । तालिममा सातै प्रदेशका गरी ३० आयुर्वेद स्वास्थ्यकर्मीको सहभागिता छ ।

सोमबार तीनदिने तालिम उद्घाटन समारोहमा आयुर्वेदिक वनस्पति गुर्जोका विषयमा विशेष छलफल भएको छ । कार्यक्रममा गुर्जोबाट बनेको औषधि धुलो र चियासमेत वितरण गरिएको छ ।

कार्यक्रममा गत वर्ष चैतदेखि कोरोनाबाट बच्न गुर्जोको धुलो र चिया लिएर हिँड्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपयोगिता, विशेषता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कार्यक्रममा सहभागी ५० जनालाई औषधीय गुणले युक्त गुर्जोका सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योगगुरु किशोर जोशीले तालिमका सहभागीलाई योग गराउनुभएको थियो । आयुर्वेद र योगलाई नागरिकको स्वास्थ्य सुधारका लागि उपयोग गरिने केन्द्रले जनाएको छ । आयुर्वेदका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई योग शिक्षकका रूपमा पनि जिम्मेवारी दिनेगरी तालिम दिनुपर्नेमा जोड दिइएको थियो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घ बनेपा शाखाको ४१औँ वार्षिक साधारणसभाको अवसर पारेर करिब ५०० जनालाई गुर्जोको धुलो र चिया खुवाइएको उहाँले जानकारी दिनुभयो । विसं २०७७ वैशाखदेखि चलाएको गुर्जोको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जोको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ । गुर्जोको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ ।

गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता औषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुभयो ।

हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूलो धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ ।

यस वर्ष वर्षात्का सयमा वाग्मती नदी किनारमा पनि हजारौँको सङ्ख्यामा गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी राजलवटले उपलब्ध गराउनुभएको बिरुवा वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी विभिन्न स्थानका सफाइ अभियानकर्मीले रोपेका छन् । उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छुट्टी नमनाई अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुहुन्छ । माग गर्ने जतिलाई निःशुल्क गुर्जोको बिरुवा दिन तयार रहेको उहाँले सार्वजनिक घोषणा गर्र्दै आउनुभएको छ । यस वर्ष पनि वर्षात्मा गुर्जोको बिरुवा रोप्नलाई वितरण गरिने अभियानकर्मी राजलवटले बताउनुभयो । यसका लागि धुलिखेलमा बेर्ना रोपिएको छ ।

सम्बन्धित खबर

Back to top button