बिचार

सनातनदेखिको ‘नारीवाद’ र आधुनिक समाज

मार्च ८ तारिख विश्वभर नारी दिवस मनाइयो । औपचारिक समारोह गरेर नारी दिवस मनाउन सुरु गरिएको ११२ वर्ष पुगेको छ । नारी दिवसमा हरेक वर्ष नयाँ नयाँ नारा तय गरिन्छ र हरेक वर्ष एकैखालका समस्याहरुमाथि व्याख्या–विश्लेषण, टिप्पणी हुन्छ ।

सृष्टिचक्र संचालनका लागि प्रकृतिले हरेकलाई अलगअलग गुण र क्षमता दिएको छ अनि एक–अर्काप्रति निर्भर पनि बनाएको छ । यसैले प्रकृतिमा जन्मने सबै समान छन् र उनीहरुको समान महत्व र दायित्व छ । यसलाई ‘प्रजातन्त्र’ भनिन्छ । अर्थात् प्रकृतिमा जन्मनेहरुको बिधि ‘प्रजा+तन्त्र’ हो र यस्तो विधि शास्त्रहरुमा लिपिबन्ध गरिएको छ । यसमा मानवको भूमिका सबभन्दा अहम् र गहन छ ।

समाजलाई गतिशील राख्न नारी–पुरुष दुबैको समान भूमिका प्रकृतिले नै तय गरिदिएको छ । अनि समाजलाई अनुशासित र प्रगतिउन्मूख बनाउन नारी–पुरुष दुबैमा अलगअलग क्षमता र गुण पनि दिएको छ । कतिपय सन्दर्भमा महिलालाई उच्चस्थान नै दिइएको छ । पुरुषहरुले गर्न नसकेका पराक्रम नारीले गरेका कथाहरु पुराणहरुमा लिपिबद्ध गरिएका छन् । यसो गर्नुको कारण नारी कमजोर हैन पुरुषभन्दा शक्तिशाली छ भन्ने स्पष्ट सन्देश हो ।

तर, यो अभ्यासलाई आधुनिकताले निचोरेर लगेको छ । सरस्वती पूजालाई हामी नारी दिवस नै मान्दैनौं, दशैं र यमपञ्चक, छठ लगायतका पर्वहरु पनि नारी दिवस नै हुन् । तर यी सबका विशेषता भुलेर आधुनिक नारी दिवसमा हामी रमिरहेका छौं ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको ११ दशक नाघिसकेको छ । अधिकार वा समानता तबसम्म लागू हँदैन जबसम्म नारीलाई श्रममा समान व्यवहार गरिंदैन । विडम्वना के भने, अत्यधिक परिश्रम गर्नुपर्ने नारीवर्गले नै अत्यधिक यातना खप्नुपर्ने । सामाजिक विभेद र वहिष्करणको शिकार हुनुपर्ने पनि उनैले ।

हाम्रा शास्त्रहरुमा नारीमाथि कुनै प्रकारको भेदभाव, शोषण र दमन गर्नु हुँदैन मात्र होइन परिआएको खण्डमा पुरुषभन्दा शक्तिशाली नारी नै छन् भनेर कथाहरु स्थापित गरिएका छन् । नेपाली संस्कृतिमा नारीको के भूमिका थियो र नेपाली समाजले नारीलाई कसरी हेरेको थियो भन्ने प्रश्नको उत्तरमा हाम्रा देवीहरुको वर्णन, उनीहरुको कर्म र गुण नै काफी छ । हाम्रा यिनै धार्मिक, सांस्कृतिक मान्यता र अभ्यासहरुले सनातन समाजमा नारी अपहेलित हैन, उत्कष्ट थिए भन्ने प्रष्ट्याउँछ ।

नेपालको प्रचलित सांस्कृतिक, धार्मिक, व्यवहारिक दृष्टिले नारीलाई उच्च महत्व दिएको छ । समस्या यसको पालना हुन नसक्नु मात्र हो । घर गृहस्थीको वातावरण होस् वा सामाजिक संस्कारको पक्ष होस्, पर्यावरणको स्वच्छता होस् वा जीवनका अन्य पक्ष नारीलाई नै महान ठानिएको छ । कुनै पनि घरको श्रीसम्पत्ति वा कीर्ति, गौरब र बुद्धि विवेकमा नारीको महत्वपूर्ण भूमिका हुन्छ ।

त्यसैले ‘यत्रनार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ भनेर नारीको पूजा भएमा मात्र देवता रमाउने छन् भनेर शास्त्रमै उल्लेख गरिएको छ । अपराधै गरेका भए पनि पुरुषलाईभन्दा आधा सजाय कम गर्ने विधान छ । नारीलाई यस्तो सजायको व्यवस्था उनीहरु कमजोर भएर होइन, सशक्त भएका कारण हो र समाजमा उसको आवश्यकताबोध गरेर हो ।

समानता व्यवहारमा लागू गर्ने सामान्य पक्षलाई बिर्सेर विदेशीले घोकाइदिएको नाराले मात्र नारी अधिकार स्थापित हुँदैन । हाम्रा परम्परागत मूल्य–मान्यता नै अधिकार स्थापनाका लागि पर्याप्त छन् । यसका लागि खाँचो छ– मात्र सही सोच र विचारको । देखासिकी र अरुले घोकाइदिएको नारा, सिद्धान्तको ‘सुगा रटाई’बाट समानता प्राप्त हुँदैन, मिल्दैन ।

नारी बलियो कि पुरुष वा पुरुष सक्षम कि नारी सक्षम भन्ने प्रश्नको उत्तर शारीरिक बनावटले हैन, गर्ने श्रमले देखाउँछ र त्यसको आधारमा मापन हुनुपर्छ । नेपाली समाजमा पुरुषको तुलनामा महिलावर्गले अत्यधिक परिश्रम गर्छन् । उनीहरुको त्यो मेहेनतको सामान्य कदर समेत नगरी “घरको काम गर्ने” त हो नि ! भनेर दुत्कारिन्छ । तर, त्यही काम गर्नुपर्यो भने पुरुषको सातो जान्छ ।

जस्ता कि– एउटी नारी (आमा वा पत्नी)ले विहान उठेदेखि राति नसुत्दासम्म घर–खेतमा गर्ने काम काम कुनै कामदारमार्फत गराउन पर्यो भने दैनिक ज्याला कति दिनुपर्छ । विहानदेखि बेलुकासम्मको कम्तिमा २ हजार (ठाउँ अनुसार फरक हुनसक्छ) दिनुपर्छ । यही हिसाबले हेर्दा महिनामा ६० हजार रुपैयाँको श्रम नारीहरुले गर्छन् भने कमाउने भनेर धक्कु लगाउने पुरुषले त्यो खर्च धान्न सक्छन् ?

नारीलाई घरधन्दाको नाइके ठानेर हेंला हैन, उनीहरुले घर धानेका छन्, खर्च बचाएका छन् भन्ने ठानेर सम्मान गर्ने हो भने र नारी धन, विद्या र शक्तिको स्रोत हुन् भन्ने अनुभूति गर्ने हो भने आधुनिक नारी दिवसको रटान लगाउनै पर्दैन ।

तसर्थ नारी दिवसको ११२ वर्षे इतिहास र नारीलाई देवीको प्रतिरुप मानेर पूजा गर्ने लाखौं वर्षदेखिको चलनलाई एकै ठाउँमा राखेर हेर्ने हो भने वैदिक सनातनी धर्म–संस्कृतिले अधिकारविहीन कसैलाई मानेको छैन मात्र हैन कि पुरुषलाईभन्दा नारीलाई उच्चस्थानमा राखेको छ ।

सृष्टिको एकमात्र चेतनशील प्राणी मानव हुनुको नाताले मानव–मानबीच लैङ्गिक आधारमै विभेद गरेको–मानेको छैन । भित्रिएका केही सामाजिक विकृतिहरुलाई पन्छाएर, हटाएर नारी सम्मानको हाम्रो आफ्नो परम्परा र अभ्यासको चेतना पुनः जागृत गर्ने हो भने नेपालबाट विश्वमा ‘नारीवाद’को नयाँ नारा र अभियान चल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.