अमेरिकापछि भारतमा पनि यात्रा प्रतिबन्ध, सबै प्रकारका भिसा निलम्बन
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन् ।अमेरिकाले बेलायत बाहेक अन्य युरोपेली मुलुकबाट यात्रामा प्रतिबन्ध लगाए लगत्तै नेपालको छिमेकी मुलुक भारतले पनि यात्रा प्रतिबन्ध लगाउँदै सबै प्रकारको भिसाा निलम्बन गर्ने निर्णय गरेको छ ।
भारत सरकारले आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो । त्यहाँका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको छ ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ । त्यस्तै १५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
भारतमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६० पुगेको छ । बुधबार १० नयाँ संक्रमित फेला परेका थिए, जसमा आठ जना केरलाका हुन् । यस्तै दिल्ली र राजस्थानका एक–एक जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गर्नुभएको थियो । बुधबार टेलिभिजन सम्बोधनमार्फत् राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको बताउनुभएको हो ।
एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुनेछ । त्यसै गरी उहाँले कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा गर्दै करमा सहुलियत दिने उपायबारे निर्णय लिन संसदलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्