भ्रष्टाचार बिरोधी अभियानमा डिआईजी रमेश खरेल, भ्रष्टाचारको बिरोधमा जनतालाई सडकमा उतार्ने उद्घोष
देशमा बढेको भ्रष्टाचार, बेथिति, विकृति लगायतका आठ विषयहरुबिरुद्ध अभियान संचालन गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको छ । नेपाल प्रहरीका भूतपूर्व डीआईजी रमेश खरेल को नेतृत्वमा बिहिबार ‘हाम्रो नेपाल सुशासन अभियान’ को बिहीबार शुभारम्भ गरिएको हो ।
अभियानको घोषणा कार्यक्रममा खरेल लगायतका वक्ताहरुले देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले आफूहरुले वाध्य भएर अभियान सञ्चालन गर्नुपरेको बताए ।
कार्यक्रममा खरेलले देशको राजनीतिक नेतृत्वमाथि प्रहार गर्दै भ्रष्टाचारको विरोधमा तीन करोड जनतालाई शान्तिपूर्ण आन्दोलनमा उतार्ने चेतावनी दिदै नेताहरुलाई भ्रष्टाचार नगरी तपाईंंहरुलाई निद्रा नलाग्ने भए पनि अब सुध्रिन चेतावनी दिंदै नसुध्रिए ७७ जिल्लाका ३ करोड जनता शान्तिपूर्ण तवरबाट सडकमा उत्रिने बताउनुभयो ।
भ्रष्टाचार र बेथिती पराकाष्टामा पुगेकाले अभियान सञ्चालन गर्नुपर्ने वाध्यता परेको खरेलको भनाइ थियो । उहाँले भन्नुभयो ‘देशमा सुशासन भएको भए, जनताले राम्रो सेवा–सुविधा पाएको भए, हामी यसरी आउनुपर्ने नै थिएन, तर, अति नै भो क्या .. यो काण्ड, त्यो काण्ड..फेरि अर्को काण्ड .. अवकाशप्राप्त जीवनमा पनि हामी मौन भएर बसिरहन सकेनौं ।’
अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्द्धन, राजनैतिक शुद्धिकरणलगायत विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ । यी लक्ष्यहरुको पूर्तिका लागि ७ वटा कार्यक्रम र गतिविधिको घोषणा गरिएको छ ।
अभियानको अवधारणापत्रअनुसार सबैभन्दा पहिले भ्रष्टाचार अन्त्यका लागि देशब्यापीरुपमा नागरिक खबरदारी कार्यक्रमहरु गरिनेछ । ती कार्यक्रममा भ्रष्टाचारी संस्कारको विरोध गर्ने मात्र नभएर भ्रष्टाचारीको पहिचान गरी उनीहरुको सम्पत्तिको सूचना संकलन गर्ने र कारवाहीको लागि दवाव दिने अवधारणापत्रमा उल्लेख छ ।
अभियानपत्रमा मूर्तरुपले कुनै राजनीतिक एजेन्डा समावेश गरिएको छैन । तर, घुमाउरो तरिकाले केही विषयहरु समेटिएको छ । ‘नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्राबधान र व्यवस्थामा सुधार ल्याउनुपर्ने’ अभियानको निस्कर्ष छ ।
‘नेपाली नागरिकहरुको प्रत्यक्ष र स्पष्ट अभिमतबिना थोपरिएका कतिपय संवैधानिक व्यवस्था एवं विषयहरुमा लोकतान्त्रिक पद्धतिको आधारमा संशोधन र जनमतको प्रक्रियामार्फत समाधान र संवोधनका उपायहरुको खोजीका लागि विज्ञ, सरोकारवाला र देशप्रेमी नागरिकहरुबीच छलफल गरी जनमत तयार गर्ने’ अवधारणापत्रमा भनिएको छ ।
खर्चिलो र प्रत्यूत्पादक देखिएको निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषयलाई अभियानले आफ्नो एजेन्डामा समेटेको छ । विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउने कानून अबिलम्ब निर्माण हुनुपर्ने अभियानको माग छ । नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थामा सुधार ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ ।
संवैधानिक अंगहरुबीच शक्ति सन्तुलनको अभ्यास हुनुपर्ने, संवैधानिक निकायहरुमा भागबण्डा तथा राजनीतिक आस्था र नाताबादको आधारमा नियुक्ती गरिने परिपाटी अन्त्य हुनुपर्ने, प्रभाव र प्रलोभनमा धर्म परिवर्तन गर्न रोक लगाइनुपर्ने पनि अभियानका एजेन्डा छन् ।
अभियान सञ्चालनका लागि पाँच जनाको केन्द्रीय तदर्थ कार्यकारी परिषद निर्माण गरिएको छ । खरेलको संयोजकत्वमा रहेको परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।