अर्थकृषि

जलवायु परिवर्तनको असर कृषिमा

म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता निकायले मानिसको जीविकोपार्जनलाई सहज बनाउने योजना ल्याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले आग्रह गर्नुभयो ।

वातावरणमा आएको परिवर्तनले खाद्यसुरक्षामा असर पारेकाले अनुकूलित खाद्यान्न र पशुपालनका लागि प्रविधिको व्यवस्था गर्न नसके खाद्य असुरक्षा, भोकमरी बढ्ने, देशको अर्थतन्त्र खाद्यान्न आयातमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

आयोगले विश्व खाद्य कार्यक्रमसँग मिलेर म्याग्दीका पालिका तहमा अध्ययनसमेत थालेको छ । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले खेती गर्ने पात्रोमा परिवर्तन आएको, खडेरी, असिना, हिमपात र वन्यजन्तुले बालीनाली क्षति गरेर कृषक पीडित भएका बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सस्तो र सजिलोका लागि आयातित वस्तुमा निर्भर हुने, जग्गाजमिन बाँझो राख्ने समस्याले रैथाने जातका बाली लोप हुन थालेको बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले घट्दो उत्पादन र बढ्दो आयातले सिर्जना गरेको असन्तुलत घटाउन राज्यले कृषिउपजको बजार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले खाद्यसुरक्षाको अवस्था कमजोर बन्दै गएकाले वैकल्पिक उत्पादन र अनुकूल उत्पादनमा लगानी गर्ने नीतिअनुरुप अध्ययन थालेको निर्देशक महेश खरेलले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिममा गरेको अध्ययनले खाद्यसुरक्षाको चुनौती बढेको देखिएपछि यसपालि गण्डकी र बागमती प्रदेशमा पनि अध्ययन थालिएको खरेलले बताउनुभयो ।

सबैतिर एकै प्रकारको समस्या भएकाले संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममार्फत खाद्य सुरक्षाका कार्यक्रम सुरु गरिसकेको उहाँले बताउनुभयो । आयोग, विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले जिल्लामा स्थानीय तहको सहकार्यमा कृषि र पशु विकासमा लगानी बढाएको छ ।

जीविकोपार्जनका लागि खाद्यान्नतर्फ धान, गहुँ, मकै र कोदो, पशुतर्फ दूध र मासुजन्य तथा तरकारी खेतीमा जोड दिने लक्ष्य राखेको खाद्य सुरक्षाविज्ञ विष्णु आचार्यले बताउनुभयो । उहाँले जलवायु परिवर्तनले ल्याएको असर न्यूनीकरणका लागि काम गर्न प्रारम्भिक अध्ययन गरिएको बताउनुभयो ।

आयोगले गर्ने अध्ययनमा जीविकोपार्जनका लागि लक्षित क्षेत्र पहिचान गर्ने, खाद्यसुरक्षा पुनःरुत्थान नीति बनाउने र तापक्रम र बर्सातको परिदृश्य निर्माण गर्ने काममा लगानी गरेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि यज्ञ पुनले बताउनुभयो । शुक्रबार बेनीमा भएको अन्तक्र्रियामा जिल्लाका छवटै स्थानीय तहका जनप्रतिनिधि, कृषि र पशु शाखाका प्रमुखबीच विभिन्न १५ वटा सूचकमा छलफल भएको थियो ।

नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो ।

बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल वनेपछि एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । “बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जङ्गलमा करिब एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।”

यो पुलबाट मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिम, मराङ, मल्कवाङ र कुइने मङ्गलेका करिब एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको धौलागिरि–६ आरवाङको प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले बताउनुभयो ।

म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा÷थानी÷हिमशिखर जेभीले विसं २०७७ असारमा रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्राविधिक विष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राविधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताउनुभयो । उहाँका अनुसार यो पुलमा एक पटकमा ७५५ मानिस आवतजावत गर्नसक्ने क्षमता रहेको छ । पुलको उचाइ करिब १५० मिटर छ ।

आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले पनि सम्भावना पनि रहेको धौलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाको अवलोकन गर्न सकिन्छ ।

साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकका कारण बिमवाङ र रिखमा चहलपहल तथा व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । यो पुल भएर प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.