जन सरोकार

अस्तित्व रक्षाको पर्खाइमा बेनीका मल्लकालीन अवशेष

ऐतिहासिक तथा पौराणिक वस्तु र सम्पदाको संरक्षण मुलुककाे इतिहास र गौरबको विषय मात्र हैन भावी पुस्तालाई देश चिनाउने स्तम्भ पनि हो । तर, नेपालका कतिपय ऐतिहासिक सम्पदा र क्षेत्रहरु संरक्षण हुन नसक्दा मासिने खतरा बढिरहेको छ ।

यस्तै अवस्थामा पुगेको छ– म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्र आसपासका गाउँबस्तीमा रहेका मल्लकालीन अवशेष । तत्कालीन पर्वत राज्यको राजधानीसमेत रहेको बेनी नगरपालिका–२ गौश्वारा, खड्गभवानी कोत, राजकुवा, कुरिलाखर्क, बेनी कोत र ढोलठान क्षेत्रमा मल्लकालीन सामग्री, शिलालेख र ऐतिहासिक महत्वका बस्तुहरु रहेका भए पनि ती सामग्रीलाई व्यवस्थितरुपमा संरक्षण गर्न नसकिएको स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले बताएका छन् ।

गौश्वारामा करिब १५० वर्ष पुराना घर छन् । ती घर मल्लकालीन शैलीमा रहेका मात्र होइन तत्कालीन समयका निर्माण सामग्रीको प्रयोग गरेर निर्माण गरिएको स्थानीय रत्नवम मल्लले जानकारी दिनुभयो । बेनी–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १५० वर्षभन्दा बढी पुराना घर अहिले इतिहासको साक्षी बनेर रहेका छन् ।

विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीको बाहुल्य बसोबास रहेको गौश्वारामा प्रजातन्त्रको पुनःस्थापना पछि बसाइँसराइ गर्ने र सहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका घर करिब १०० वर्ष पुराना घर भएका स्थानीय बुद्धिजीवी रत्नवम मल्लले बताउनुभयो । मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्नसक्ने हो भने पर्यटकलाई आकर्षक गर्नसक्ने बलियो सम्भावना छ ।

यी घरको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरी जुम्लाको सिंजा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणासँग यहाँका ठकुरीको वैवाहिक सम्बन्ध गासिएको र त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरभन्दा मल्ल वंशीय ठकुरीहरुका घर फरक शैलीमा निर्माण भएका स्थानीय रामबहादुर गुरुङले बताउनुभयो ।

त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आउनुभएको परमेश्वरवम मल्लले यी घरसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचान जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिनुभयो ।

“कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखराजस्ता सहरमा गइसके तर, म भने पुर्खाको विरासतलाई संरक्षण गरेर बसेको छु, उहाँले भन्नुभयो । घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा आफ्ना पुर्खाको सुगन्ध मिसिएको उहाँको भनाइ थियो ।

ढुङ्गाले छाएका, कौसी (बाह्रतली) सहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँचवटा घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीनवटा घर जीर्ण अवस्थामा छन् ।

यसै गरी बेनी–५ पुलाडाँडामा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको छ । आजभन्दा करिब ५०० वर्ष पहिला पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामग्री रहेका भए पनि पहिचान र संरक्षणको अभावमा अलपत्र परेका छन् ।

अलपत्र परेका ती ऐतिहासिक सामग्रीमध्ये कालोपत्थर (ढुङ्गा) लाई छिनाले कुँदेर बनाइएको ओखल अहिले पुलाडाँडाको खुला ठाउँमा अलपत्र अवस्थामा छ । त्यतिबेलाका पर्वते प्रतापी राजा डिम्वबम मल्ल (उनलाई दिलीपवम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकाले यस ठाउँमा वसुञ्जेलसम्म त्यही ओखलमा धान कुट्न लगाएर दरबारका सदस्यले भात खाने गरेका प्रमाण भेटिएका स्थानीय रामबहादुर बानियाँले जानकारी दिनुभयो । यस क्षेत्र ऐतिहासिकरुपमा मात्रै होइन जैविक, धार्मिक र प्राकृतिक महत्वले समेत युक्त रहेको उनको भनाइ छ ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासमा उल्लेख छ । ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय शिव बानियाँले बताउनुभयो ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरबारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहेका गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताउनुभयोक ।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ्दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button