जल/वातावरण

कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्यमा झर्‍यो

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण विदेशमा निधन हुने नेपालीको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार पछिल्लो ६ सातायता विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शून्यमा कायम रहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिएकाे कोरोना भाइरस संक्रमणका कारण २१ देशमा रहेका तीन सय ४१ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रूपमा कमी आएको छ । यो साता स्विडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरूमा सामान्य रूपमा थप कोरोना संक्रमण देखिएको छ ।

उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार तीन सय सातजना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार दुई सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरसका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार एक सय ७८ जना भने दुई लाख ७१ हजार दुई सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

ढुक्क भएर खोप लगाऔँ

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोपहरू सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । खोपका विषयमा हालसम्म पनि विभिन्नखाले भ्रम यथावत् रहेको भन्दै डा. सापकोटाले केही अपवादबाहेक खोप प्रयोगबाट कुनैखाले गम्भीर समस्या नदेखिएकोले खोप प्रयोगका लागि उपयुक्त मानिएका सबैले खोप लगाउनुपर्नेमा जोड दिए।

नयाँ पत्रिकाका अनुसार  उनले भने, ‘खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन हुने वा नहुने निश्चित गरेर मात्रै प्रयोग गर्नुपर्छ ।’ खोप लगाएपछि पनि मास्कको प्रयोग, स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.