अर्थ

चितवनमा अत्याधुनिक मसिनबाट सुरु भयो चैते धान रोपाइँ

चितवनमा पहिलोपटक अत्याधुनिक मेसिनबाट धान रोपाई सुरु गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेशिन मगाएको थियो । रु २० लाख ९० हजारका दरले खरिद गरिएका दुई वटा मेशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेशिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेशिनबाट धान रोपाइँ गरिएको थियो ।

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताउनुभयो । “यो प्रविधि सस्तो र सरल छ”, उहाँले भन्नुभयो, “उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।” सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेशिन देशमै पहिलो पटक हो ।

यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेशिन भित्र्याउनुभएको थियो । चितवनमा यसअघि तीन पाङ्ग्रे मेशिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा चार चक्के मेशिन ल्याउन तयारी थालेको थियो । यस मेशिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।

मेशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेशिनले रोप्ने बीउ भने ‘ट्रे’ ९बीउ जमाउन प्रयोग गरिने भाँडो०मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मेशिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।

बीउ लगाउने मेशिन पनि स्वचालित र ‘मेनुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेशिन छ । स्वचालित मेशिनले एक घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । एक सय ६० ट्रेमा हुर्किएको बीउले एक बिघा क्षेत्रफलमा रोप्न पुग्छ । एक दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.