कला/मनोरन्जनकलिउड

देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गरायो : शिव श्रेष्ठ

देशले अहिले बिपीजस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको आवश्यक भएको राजनीतिक एवं कला मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वले बताउनुभएको छ । नायक शिव श्रेष्ठले राजनेता बिपी कोइरालाको जीवनको अंशमा बनेको वृत्तचित्रले लुकेर रहेको ऐतिहासिक विषय खुलेको बताउनुभयो । देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गराएको विषय वृत्तचित्रमा देखिएको उहाँले सुनाउनुभयो ।

सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमले अलथ्री मिडियाको सहकार्यमा निर्माण गरेको बिपीको जीवनको विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको वृत्तचित्र ‘राजद्रोही राजनेता’ हेरेपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले देशले बिपीजस्तै सबैभन्दा माथि देशलाई राख्ने राजनेता खोजेको बताउनुभयो ।

“स्वार्थभन्दा देशलाई शिरमा राख्ने, आफ्ना दुःखका आधारमा धारणा नबनाउने राजनेता देशले खोजेको छ, अहिलेका नेताले आफूलाई केन्द्रमा राखेर धारणा बनाउँदा समस्या आएको छ, दुई तिहाइका प्रधानमन्त्री बिपीले आठ वटा मृत्युदण्डका मुद्दा खेपेर आठ वर्षभन्दा लामो समय जेल जीवन बिताए पनि देशकै लागि आफूलाई दुःख दिने राजासँग सयकार्यकै कुरा गर्नुभयो, आफू केन्द्रित राजनीति गर्नुभएन”, उहाँले भन्नुभयो ।

मनोविद् करुणा कुँवरले वृत्तचित्रले ऐतिहासिक विषयमा धेरै ज्ञान दिएको बताउनुभयो । यस्तो वृत्तचित्र अरु पनि बन्नुपर्ने उहाँको भनाइ थियो । नेकपा (एमाले)का नेता गुरु बरालले इतिहासलाई वृत्तचित्रले दस्तावेजीकरण गरेको बताउनुभयो ।

नयाँ पुस्तालाई नेपाली प्रजातान्त्रिक आन्दोलनका विषयमा, मित्रराष्ट्रले चासो राख्ने विषय, असंलग्न परराष्ट्र नीतिलगायत विषयमा जानकारी दिएको उहाँको भनाइ थियो ।

राजासँग जनताको दूरी बढ्नु नै राजतन्त्रका लागि खतरनाक छ भन्ने सन्देश त्यसबेला बिपीले राजालाई दिनुभएको विषयलाई वृत्तचित्रले उजागर गरेको नेता बरालले सुनाउनुभयो ।

युवा समाजसेवी दीपकराज जोशीले राजनीतिक इतिहासका विषयमा राम्रो वृत्तचित्र बनेको बताउनुभयो । ‘ठूलो होइन असल मानिस बन्नु’ भन्ने बिपीको सन्देश वृत्तचित्रमा पनि झल्केको उहाँले जानकारी दिनुभयो ।

मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष डा भरत ढकालले राजनीति भन्ने कस्तो रहेछ भन्ने युवापुस्तालाई जानकारी दिन वृत्तचित्र सफल भएको बताउनुभयो । राष्ट्रियता र प्रजातन्त्रका विषयमा वृत्तचित्रले जानकारी गराएको उहाँको बुझाइ थियो ।

राजनीतिक इतिहासका विषय समेटिएका एक दर्जन वृत्तचित्र निर्माणको तयारीमा फाउन्डेसन लागेको सदस्य सचिव अतुल कोइरालाले बताउनुभयो । वृत्तचित्रमार्फत हराउन लागेका इतिहासको अन्वेषण गर्ने लक्ष्य लिइएको छ । यसका लागि अन्वेषण यात्रा पनि जारी रहने वृत्तचित्रको लेखन र निर्देशन गर्नुभएका पत्रकार जगत नेपालले सुनाउनुभयो ।

यस विषयमा विभिन्न दलका नेताले दिनुभएको प्रतिक्रिया गुगलमा ह्यासट्याग राजद्रोही राजनेता हालेर हेर्न सकिने जनाइएको छ । आज वृत्तचित्रको विशेष प्रदर्शनी हेर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.