जन सरोकार

जब अदालतका कर्मचारी ‘के म तपाईंलाई सेवा गर्न सक्छु ?’ भन्दै आउँछन्

– राजकुमार पराजुली

जिल्ला अदालत काभ्रेपलाञ्चोकको ढोका प्रवेश गर्ने सेवाग्राहीलाई निलो हाफ ज्याकेट लगाएका कर्मचारीले ‘मे आई हेल्प यू’ (के म तपाईलाई सहयोग गर्न सक्छु ?) भनेर सोध्छन् ।

सेवाग्राही केही छिन् ‘विचौलिया’ हुन् कि भन्दै अलमल्ल पर्छन् । तर ती कर्मचारीले तत्कालै आफूहरुको सहयोगबारे बताएपछि सेवाग्राही खुशी देखिन्छन्, आफ्ना कामबारे खरर्र भन्न थाल्छन् । झट्ट हेर्दा यो कुनै ‘अभिनय’ जस्तो लाग्नेछ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका पाँच कर्मचारीको सेवाग्राहीप्रतिको सहयोगी क्रियाकलाप हुँदै आएको पनि महीना दिनभन्दा बढी भइसक्यो । अदालत, मालपोत र नापी कार्यालयमा विचौलियाको गतिविधि देखेर दिक्क लागेका सेवाग्राहीलाई जिल्ला अदालत धुलिखेलको फरक शैलीको सहयोग गतिलो उदाहरण बनेको छ । साथै अदालती प्रक्रिया थाहा नपाई अन्योलमा पर्ने गरेकाका लागि भने निकै राहत पुगेको देखिन्छ ।

जिल्ला अदालतले पाँच कर्मचारीलाई निलो हाफ ज्याकेटमा सेवाग्राहीको सहयोगमा खटाएको हो । उनीहरुले अदालतबाट सेवाग्राहीले पाउनुपर्ने सम्बन्धित सेवा–फाँट, आवश्यकीय कागजातका बारेमा जानकारी गराई सहजता बनाइदिने स्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार सुशासनको एउटा प्रक्रियाअनुरुप अदालतले सेवाग्राहीको सुविधालाई मध्यनजर गरेर ‘मे आइ हेल्प यू’ कार्यक्रम अर्को एक उदाहरण हो ।

अदालतको यो नयाँ सेवा (मे आइ हेल्प यू) नेपालमै पहिलोपटक मानिएको छ । स्रेस्तेदार घिमिरेले अदालतमा आउने कतिपय सेवाग्राहीलाई कुन फाँट कहाँ छ, वकिल कहाँ बस्नुहुन्छ, कुन विषयमा को कर्मचारी, कुन शाखाबाट कुनकुन काम हुन्छ भन्ने थाहा नहुनेलाई यो कार्यक्रमले ठूलो मद्दत गरेको छ । “काभ्रेपलाञ्चोक अदालतमा शुरु गरिएको यो कार्यक्रम नेपालको अन्य अदालतमा छैन”, उहाँले भन्नुभयो ।

अदालतमा काम लिएर आएर दुविधामा पर्न सेवाग्राहीलाई सहयोग पुग्नुका साथै ती कर्मचारीले सेवाग्राहीका निवेदनसमेत लेखिदिनेछन् । “परम्परागत कार्य शैलीलाई रुपान्तरण गरी अदालती सेवालाई आधुनिकीकरण गर्ने यो सेवा एउटा हिस्सा हो, यसलाई निरन्तरता दिने योजना बनाएका छौँ”, घिमिरेले भन्नुभयो । सेवाग्राही विचौलियाको चङ्गुलबाट नठगिने तथा अदालतको सेवामासमेत सहजता पुग्ने विश्वाससहित यो कार्यक्रमको शुरुआत गरिएको अदालत प्रशासनले जनाएको छ । यो सेवामा खटेका कर्मचारीले सेवाग्राहीका लागि ४० प्रकारका निवेदन निःशुल्क लेखिदिनेछन् ।

मे आइ हेल्प यू सेवाले सेवाग्राहीलाई राहत पुगेको कानून व्यवसायी मधुसुदन वाग्लेले बताउनुभयो । “विशेषगरी कानून व्यवसायीसँग नभेटी सिधै अदालत आउने सेवाग्राहीका लागि नयाँ सेवा प्रभावकारी देखिन्छ”, उहाँले भन्नुभयो ।

कर्मचारीलाई सकारात्मक सोच तालीम

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका कर्मचारीलाई सकारात्मक सोचसम्बन्धी तालीमको आयोजना गरिएको छ । चेतनाको विकासका लागि सकारात्मक सोचको उद्देश्यका साथ आइतबारदेखि शुरु गरिएको तालीम मङ्गलबारसम्म सञ्चालन हुनेछ ।

नमोबुद्ध नगरमा आयोजित तालीमका सहभागीलाई नेपाल सरकारका सहसचिव डा भीष्म भुसाल र सकारात्मक सोच विषयका प्रशिक्षक डा राजु अधिकारीले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणका दुई पालिकाका ३० कर्मचारी सहभागी रहेका छन् । “सकारात्मक सोचले नै परिवर्तन हुने भएकाले कर्मचारीमा चेतनाको विकासका लागि सकारातमक सोच अपरिहार्य भएकाले तालीम आयोजना गरेका हौँ”, नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो ।

तिमल्सिनाका अनुसार जनप्रतिनिधि र कर्मचारीले सकारात्मक सोचका साथ सहकार्य गरेमा जनताका पक्षमा काम गर्न सकिने र सकारात्मक परिणाम आउँछ । कर्मचारीलाई ऊर्जावान् बनाउने उद्देश्यले तालीम आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोचले नै संसार बदल्ने सामथ्र्य रहन्छ, परिवर्तनको जिम्मेवारी पाएको जनप्रतिनिधिलाई कर्मचारीको साथ अनिवार्य चाहिन्छ ।”

कर्मचारीमा कामको तनाव बढिरहने हुँदा समयसमयमा सकारात्क सोच विषयक तालीम गर्दा तनाव न्यूनीकरण हुँदै सेवा प्रवाहमा सहजता आउने उद्घाटन कार्यक्रमका वक्ताले बताउनुभयो । उनीहरुले व्यक्ति परिवर्तन भएमात्रै समाज परिवर्तन हुने र समाज परिवर्तका लागि सकारात्मक सोचको आवश्यकता रहेको औँल्याउनुभयो । दुवै पालिकाले समन्वय गर्दै समयसमयमा जनप्रतिनिधि र कर्मचारीका लागि संयुक्तरुपमा सकारात्मक सोचसम्बन्धी तालिको आयोजना गर्दै जाने जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.