पार्टी अध्यक्षले बोलाएको कार्यक्रममा नआएर उहाँहरु कहाँ जानुहुन्छ ?

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सच्चिएर आए एमालेमा कसैको अपमान नहुने तर पार्टीभित्र बसेर पार्टी विधान विपरीत गर्ने छुट कसैलाई पनि नभएको भन्दै एकता बिरोधी कुरा गर्नेहरुमाथि पार्टीले अनुशासनको कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
आफूले पार्टी एकताका लागि आव्हान गरेको चियापानमा माधव नेपाल तथा झलनाथ खनाल र बामदेवप गौतम समूह नआएपछि प्रधानमन्त्री ओलीले एमालेमा कसैमाथि अन्याय नहुने र कसैको अपमान नगर्ने र नगरिने बताउँदै सो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री ओलीले चियापान समारोहमा वहिस्कार गरेका समूहलाई विगतमा नेकपा हुँदा चलाएको धन्दा नचलाउन आग्रह गर्दै भन्नुभयो, पार्टी अध्यक्षले बोलाएको कार्यक्रममा नआएर कहाँ जानुहुन्छ भन्ने प्रश्न गर्दै आफूलाई उहाँहरु कहाँ जानुहुन्छ भन्ने थाहा भए पनि आज त्यो विषयमा चर्चा नगर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग गरी पुरानै अवस्थामा पुर्याइदिएपछि अस्तित्वमा नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा नै चुलिएको विवाद एमाले अस्तित्वमा आएपछि मत्थर गर्ने प्रयास भए पनि ओली पक्ष र नेपाल पक्ष एकले अर्कोलाई तत्काला विश्वास गर्नसक्ने अवस्थामा छैनन् ।
ओली समूह र नेपाल समुहबीच सोमबार छलफल भए पनि कुनै निष्कर्ष निस्केन । दुबै पक्षले एकले अर्कोलाई अलग गतिविधि नगर्न अनुरोध गरे पनि त्यसको पालना भएको छैन । कुनै पनि पक्ष लचक नहुने अवस्थामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान नेपाल समूहले वहिस्कार गरेका छन् ।
नेपाल-खनाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् । दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ ।
त्यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएको छ । एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा प्रधानमन्त्री ओलीको चियापानकै समयमा भेला बोलाउनुभएको छ ।
चियापानमा ओली पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटारमा उपस्थित भएका छन् । सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठक अघि अध्यक्ष ओलीले सदस्यलाई चियापानका लागि बोलाउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्