जन सरोकार

शिक्षक अभाव भएपछि संयुक्त कक्षा चलाइँदै

पाँचथरको फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ र ५’, दोस्रोको ढोकामाथि लेखिएको छ ‘कक्षा २ र ३’ ।

सोमबार दोस्रो कोठामा ११ विद्यार्थीलाई पढाउँदै हुनुहुन्थ्यो शिक्षक चेतन न्यौपाने । “हाम्रो कक्षा २ मा ‘रोग लाग्न नदिऔँ’ भन्ने शीर्षक छ होइन् ?”, कक्षा २ का विद्यार्थीलाई उहाँले सोध्नुभयो । विद्यार्थीले उत्तर दिए, “हो, सर ।” “अनि हाम्रो कक्षा ३ मा के छ भन त नानीहरू ?”, शिक्षक न्यौपानेले सोधेपछि विद्यार्थीले पढ्दै गरेको पाठको शीर्षक भने “रोगका कारण र लक्षण ।”

स्वास्थ्य विषयको कक्षा २ र ३ को संयुक्त कक्षा चलाइरहनु भएका शिक्षक न्यौपानेले दुवै कक्षाका विद्यार्थीहरूलाई स्पष्टसँग बुझाउने उद्देश्यसहित रोग लाग्ने कारण, रोगका प्रकार, रोग लाग्न नदिने उपाय र रोगका लक्षणबारे विस्तृतमा व्याख्या गर्नुभयो । दुईवटा कक्षाका दुईवटा पाठमा धेरै विषयवस्तु फरक भएकाले विस्तृत व्याख्या र लामो समयको कक्षामार्फत विद्यार्थीहरूलाई बुझाउने प्रयत्नमा शिक्षकहरू देखिन्थे । अर्को कोठामा पनि यसरी नै कक्षा ४ र ५ को गणित विषयको पठनपाठन भइरहेको थियो ।

सो विद्यालयमा एक दिन मात्रै होइन सधैँ यसरी नै पढाइ हुन्छ । पूर्वप्राथमिक कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई शिक्षक दरबन्दीमा प्रधानाध्यापक चित्रकला घिमिरे र शिक्षक न्यौपाने हुनुहुन्छ । एक सहयोगी कर्मचारीले पूर्वप्राथमिक कक्षा सञ्चालन गरिरहनुभएको छ भने कार्यालय सहयोगी पदमा विभिन्न स्रोतबाट तलब खुवाई एक शिक्षक राखिएको छ । दैनिक छवटा कक्षा सञ्चालन गर्नुपर्ने भए पनि चारजना मात्रै शिक्षक हुँदा यस विद्यालयमा कक्षा २ र ३ लाई एउटा तथा कक्षा ४ र ५ लाई अर्को संयुक्त कक्षामा परिणत गरी पठनपाठन गराइँदै आएको छ ।

“कक्षा २ मा ‘क, ख’ र ‘ए, बी, सी, डी’ सिकेर आएका विद्यार्थी हुन्छन् । उनीहरूलाई पाठ पढाउँदा त्यही किसिमले सिकाउनुपर्ने हुन्छ”, शिक्षक न्यौपानेले अनुभव सुनाउँदै भन्नुभयो, “कक्षा ३ मा थोरै परिपक्व र बुझ्ने भइसकेका हुन्छन् । एउटा कक्षालाई अगाडि लैजाँदा अर्कोलाई अगाडि बढाउन गाह्रो हुन्छ ।” संयुक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूलाई बुझ्न र शिक्षकलाई बुझाउन निकै कठिन पर्ने गरेको शिक्षक न्यौपानेको अनुभूति छ । दुईवटा कक्षालाई संयुक्त कक्षामा पढाउन सामान्य विषय नभए पनि असम्भव भने नरहेको उहाँ बताउनुहुन्छ । “विषयवस्तु एकअर्को कक्षामा केही त मिल्दाजुल्दा नै हुन्छन् । हामीले पाठहरूलाई सँगसँगै लगेर माथिल्लो कक्षालाई पुनः स्मरण गराउने र तल्लो कक्षालाई बुझाउने प्रयास गर्छौं”, न्यौपानेले भन्नुभयो, “एउटा छुट्टै कक्षालाई शिक्षण सिकाइ गरेजस्तो सहज छैन र यसले विद्यार्थीको सिकाइमा थोरबहुत असर भने पारिरहेकै छ ।”

प्रधानाध्यापक घिमिरे संयुक्त कक्षा सञ्चालन गर्न निकै कठिन रहेको र यसले विद्यार्थीको सिकाइलाई प्रभाव पार्ने गरेको बताउनुहुन्छ । एउटा कक्षालाई बुझाउन लाग्दा अर्कोले हल्ला गर्ने, पढाइमा ध्यान तानिरहन नसकिने तथा शिक्षकले कक्षा कोठालाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था आउने गरेको उहाँको भनाइ छ । चारमध्ये एकजना शिक्षक नभएको दिनमा भने पठनपाठन नै प्रभावित हुने गरेको र यस्तो दिन विद्यार्थी रुँग्ने काम मात्रै हुने प्रअ घिमिरेको भनाइ छ । “पढाइलाई प्रभावकारी बनाउन पाठ्यभार मिलाएर दैनिक तीनवटासम्म विषयहरू पढाउँछौँ”, प्रअ घिमिरेले भन्नुभयो, “दुईवटा कक्षालाई एकै बनाएर विस्तृतमा बुझाउने प्रयास गर्छौं ।”

शिक्षक अभावले संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता पाथीभरा माविको मात्रै होइन । कक्षा छसम्म पठनपाठन भइरहेको फिदिम–४ को जागृति आधारभूत विद्यालयमा समेत पर्याप्त शिक्षक छैनन् । विद्यालयसँग निजी स्रोतमा शिक्षक राख्नसक्ने आर्थिक स्रोत छैन् । उक्त विद्यालयले समेत पूर्वप्राथमिक कक्षा र कक्षा १ लाई संयुक्त कक्षामा राखी पढाउँदै आएको छ । “खेलाउनुपर्ने नानीहरू र पढाउनु पर्ने विद्यार्थीहरूलाई एकै कक्षामा राखेर पढाउन समस्या पर्छ नै”, विद्यालयका प्रअ डिल्लीराम लुइँटेलले भन्नुभयो, “माथिल्ला कक्षाहरूमा राम्रो मिहिनेत गरेर पढाउन सकियोस् भनेर कक्षा १ र पूर्वप्राथमिक तहलाई संयुक्त कक्षा बनाएका हौँ ।”

फिदिम–४ मै रहेको तिरतिरे आधारभूत विद्यालयमा समेत शिक्षक अभावको समस्या छ । जसकारण कक्षा ४ र ५ लाई संयुक्त कक्षाका रूपमा पठनपाठन गराउने गरिएको छ । सो विद्यालयका शिक्षक सन्तोष भण्डारी संयुक्त कक्षाले शिक्षण सिकाइ प्रभावकारिताको अवस्था निकै कमजोर हुने गरेको बताउनुहुन्छ । “दुवै कक्षालाई आधा–आधा समय दिनुपर्ने हुन्छ ।

आधा समयमा पढाइएको पाठका सबै विषयवस्तुहरूलाई समेट्न सकिन्न । यसरी पढाउँदा कोर्स पनि पूरा गर्न सकिँदैन्”, भण्डारीले भन्नुभयो, “विद्यार्थीले सबै ज्ञान पाउन सकेका छैनन् । गृहकार्य दिन र गृहकार्य हेर्न सकिँदैन् ।” सो विद्यालयले केही वर्षदेखि निजी स्रोतमा एकजना शिक्षक थपेपछि केही सहज भएको शिक्षक भण्डारीको भनाइ छ । “अहिले अभिभावकहरूको जागरुकताले एकजना शिक्षकलाई निजी स्रोतमा राखेका छौँ”, भण्डारीले भन्नुभयो, “अन्य स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या छ ।”

संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता यी विद्यालयहरूको मात्रै होइन । जिल्लाका अन्य विद्यालयहरूलेसमेत यस प्रकारको अभ्यास गरेर विद्यार्थीहरूलाई शिक्षाको ज्योति दिँदै आएका छन् । फिदिम नगरपालिकाको शिक्षा शाखा प्रमुख निर्मला दाहालका अनुसार फिदिमभित्रै दर्जनौँ विद्यालयहरूमा शिक्षक अभावका कारण संयुक्त कक्षा सञ्चालन भइरहेका छन् ।

सरकारी मापदण्डअनुसार न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालयहरूलाई पर्याप्त शिक्षकको व्यवस्था गर्नसक्ने अवस्था नरहेको दाहालको भनाइ छ । “प्रस्तावित विद्यालयहरूमा त यस्तो समस्या हुन्छ नै, अनुमति पाएका विद्यालयहरूमा समेत शिक्षक अभाव छ”, दाहालले भन्नुभयो, “माथिल्लो कक्षाको अनुमति लिँदा विद्यालय आफैँले शिक्षकको व्यवस्था गर्ने दाबी गर्छन् । अनुमति पाएपछि शिक्षक राख्न सक्दैनन् ।”

फिदिम नगरपालिकाभित्रै कतिपय विद्यालयहरूमा शून्य दरबन्दीमा माथिल्ला तहहरू सञ्चालनमा छन् । “प्राथमिक तहमा मात्रै दरबन्दी भएका विद्यालयले निमावि तथा निमावि तहमा मात्रै दरबन्दी भएकाले मावि तह चलाइरहेका छन्”, दाहालले भन्नुभयो, “तहमै शून्य दरबन्दी भएका विद्यालयहरूमा नगरपालिकाले स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ ।” फिदिम नगरपालिकाले माध्यमिक तहमा चार तथा आधारभूत तहमा नौजना स्वयंसेवक शिक्षक खटाएको दाहालले जानकारी दिनुभयो । फिदिमका कालिका, भगवती, सिद्धकाली र जनता माविमा माध्यमिक तहको दरबन्दी शून्य छ ।

सम्बन्धित खबर

Back to top button