राजनीति

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन सक्दैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने बताउँदै यो प्रणालीमा सुधार जरुरी भएको धारणा राख्नुभएको छ ।

आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याउनुभयो ।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उहाँले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले बताउनुभयो । राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उहाँको भनाइ थियो ।

पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उहाँले उल्लेख गर्नुभयो । मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने उहाँको दाबी छ ।

सङ्ग्रौलाले भन्नुभयो, “हामी यो पद्धतिलाई आत्मसात् गरेर मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ ।” आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.