जल/वातावरण

१६ लाख ७३ हजार ज्येष्ठ नागरिकले लगाए खोप, खोप अभाव भएपछि अभियान स्थगित

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । दोस्रो चरणको समाप्तिसंगै खोप अभाव भएपछि अभियान तत्काललाई स्थगित गरिएको छ ।

सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो । तर खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँले खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको जानकारी दिनुभयो । “हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौं”, उहाँले भन्नुभयो, “तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौं ।”

विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।

अहिलेसम्म भारत सरकारबाट अनुदानमा १० लाख मात्रा र नेपाल सरकारले आफैं खरिद गरेको १० लाख मात्रा खोप ल्याई लगाइएको छ । यसअघि पहिलो चरणमा सञ्चालन भएको खोप अभियानमा चार लाख २९ लाखले खोप लगाएका थिए ।

खोप शाखाका प्रमुख डा गौतमले सरकारसँग अझै सात लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मौज्दात खोप पहिलो चरणमा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिनका लागि राखिएको छ । दोस्रो मात्रा आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.