राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिको क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको तनहुँ १ बारा २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ ।

तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो ।

सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको बताउनुभयो।

कार्यक्रम बमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा सहभागी हुने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म आयोगमा दर्ता गराउन आह्वान गरेको छ । आयोगले चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि रिक्त हुन गएको चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगलले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.