जन सरोकार

‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आइतबार १०० वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र प्रदान गर्नुभयो ।

विसं १९७६ पुस ५ गते जन्मिनुभएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताउनुभयो ।

“एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो”, लामिछानेले भन्नुभयो । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उहाँले बताउनुभयो । “यो अवस्थामा गाउँपालिकासम्म गएर परिचयपत्र लिन परेको भए समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “घरआँगनमै परिचयपत्र पाउँदा एकदमै खुशी छु ।”

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताउनुभयो । पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.