अर्थ

नौ सय अर्बको आयात हुँदा ८० अर्बको मात्रै निर्यात

नेपालको व्यापारघाटा ८ महिनामा साढ ८ खर्बभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा आयात ९ खर्ब ४३ अर्ब ९८ करोडको आयात हुँदा ८० अर्ब ७७ करोडको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा निर्यात ७.८४ प्रतिशत बढेको छ भने आयात २.१४ प्रतिशत बढेको छ ।

यस अनुपातमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड पुगेर अघिल्लो वर्षका सोही अवधिको तुलनामा १.६३ प्रतिशत बढेको छ । उच्च आयात र कमजोर निर्यातको प्रभाव व्यापार घाटामा देखिएको हो । ८ महिनाको अवधिमा नेपालले मात्र ८० अर्ब ७१ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको छ । यो निर्यातले नेपालको पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन ।

भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयात कोरोनाभन्दा अगाडिकै स्थितिमा पुगेको भए पनि, निर्यात भने औसत नै रहँदा व्यापार घाटा उच्च देखिएको हो ।

आँकडा अनुसार नेपालमा वस्तु आयात भने कोरोनाकाल भन्दा अगाडिकै अवस्थामा पुगेको छ । यस्तो ट्रेण्ड चालु आर्थिक वर्ष २०७७।७८ को सातौं महिना (साउन–माघ)बाटै शुरु भएको थियो । गत आवको यसै अवधिमा ९ खर्ब २४ अर्ब २४ करोडको वस्तु आयात भएको थियो । गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र भने प्रभावित बनेको थिएन । चालु आवको शुरुदेखि नै कोरोनाबाट अर्थतन्त्र प्रभावित बने पनि त्यसले आयातमा असर नपरेको पाइएको छ ।

विभागका अनुसार ८ औं महिनामा भएको आयात गत आवको तुलनामा २.१४ प्रतिशत बढी हो । आयातको ग्राफ उकालो लागेको यो अवधिमा निर्यातको ग्राफ भने साविकमा जस्तै टिठलाग्दो छ ।

तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सकेको छ । अघिल्लो आवको यसै अवधिमा ७४ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवमा वस्तु निर्यातमा ७।८४ प्रतिशतको वृद्धि देखिएको छ ।

८ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा २.५६ प्रतिशतले सुधार आएको छ ।

अघिल्लो आवको यसै अवधिमा कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ९९ अर्ब १५ करोड रहेको थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२।१२ प्रतिशत र निर्यातको हिस्सा मात्र ७.८८ प्रतिशत रहेको छ ।

यस अवपधिममा आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भइसकेको छ । यो नेपालको कुल वस्तु निर्यातको तुलनामा निकै माथि हो । निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको आयात समेत १ खर्ब नजिक पुगेको छ ।

यो अवधिमा यस्तो वस्तुको आयात ९४ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ६२ अर्ब ८३ करोड रुपैयाँ बराबको सवारी साधन र त्यसको पार्टपूर्जा आयात भएको छ । यो अवधिमा ७१ अर्ब ४३ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान नेपाल आयात भएको छ । यसमा मोबाइलको हिस्सा अधिक छ ।

यो अवधिमा नेपालले तरकारी मात्र २५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ५१ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.