विश्व समाचार

भारत र ब्राजिलमा हरेक दिन कोरोना संक्रमित र मृतकको संख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९५६ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । आइतबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।

यसै गरी ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन् ।

यसैगरी आइतबार सम्ममा यहाँ यो संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.