राजनीति

व्यापार घाटा चिन्ताजनक अवस्थामा : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले चिन्ताजनक अवस्थामा रहेको व्यापारघाटा कम गर्ने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी निर्देशन दिँदै भन्नुभयो, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’’

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गर्नुभएको थियो ।

उहाँले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युत्को खपत बढाउनुपर्ने अवस्था छ ।’’

उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.