राजनीति

निषेधाज्ञाको दिशातिर देश : धमाधम जिल्ला प्रवेशमा प्रतिबन्धको घोषणा

मुलुकमा कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी सरकारले गरेको निश्चित क्षेत्र र सेवा बन्दसंगै देश विस्तारै निषेधाज्ञाको दिशातिर अग्रसर हुन लागेको विभिन्न जिल्ला र प्रदेशका निर्णयहरुले संकेत गरेको छ ।

आइतबार रातिदेखि कञ्चनपुरमा कफ्र्यु घोषणा गरिएको थियो भने मंगलबारदेखि जनकपुरधाम बजार बन्द हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी सङ्घद्वारा सो निर्णय गरिएको हो ।

मङ्गलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ । सङ्घको निर्णयमनुसार सो अवधिमा अति आवश्यक वस्तुका पसल खोलिए पनि अन्य पसल पूर्णरूपले बन्द रहने छ ।

त्यसै गरी मंगलबारदेखि लागू हुने गरी गण्डकी प्रदेशका सबै नाका बन्द एक हप्तासम्म बन्द गरिनृ प्रदेश सरकारलृ निर्णय गरेको छ ।कोरोना भाईरस ९कोभिड १९० नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा अत्यावस्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको गण्डकी प्रदेश स्वास्थय निर्देशनालयका प्रमुख डा। विनोद विन्दु शर्माले बताउनुभएको छ । गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाँट, कोराला लगायत नाकामा प्रवेश निषेध गरिएको हो ।

यसैगरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि उद्योग, कल काराखाना, सार्वजनिक यातायात, शिक्षा लगायतका सेवा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । गण्डकी प्रदेशमा कुनै संक्रमित व्यक्ति भेटिए उपचारका लागि पोखराको लेखनाथ स्थित लेखनाथ सामुदायिक अस्पतालमा साठी शैयाको अस्पताल तयारी अवस्थामा राखिएको डा। शर्माले बताउनुभयो ।

त्यस्तै सोमबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १२ बजेपछि बन्द हुनेछ । मालवाहक सवारी साधन निर्वाधरूपमा चल्नेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण हुने भएको छ ।

औषधि पसल र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछन् । दूध डेरी, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने भएका छन् ।

बैठकमा सांसद चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, यातायात व्यवसायी, उद्योगी, व्यवसायी तथा पत्रकारको सहभागिता थियो ।

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा यसको सम्भावित सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिन नेपाल राजपत्रले तोकेका अत्यावश्यक बाहेकका अन्य सेवा दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐनअनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ । उक्त आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिमको कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.