राजनीति

सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतबाट राहत कोषमा तलब प्रदान

सरकारले गठन गरेको ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’मा विभिन्न व्यक्तिहरुबाट आफ्नो तलब तथा पारिश्रमिक प्रदान गर्ने क्रम सुरु भएको छ । यसै क्रममा सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ ।

विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गर्नुभएको हो ।संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ ।

यसै गरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएको हो । उहाँले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

यसै गरी पधानमन्त्री सचिवालयका कर्मचारीले एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग गर्नका लागि सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालयमा रहेका ६ जनाले एक महिना र तीन जनाले आधा महिनाको पारिश्रमिक बराबर रकम दिने हुनुभएको छ । मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिनुहुने छ ।

यसैगरी सचिवालयमा रहनुभएका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनुहुने छ ।

त्यस्र्तै सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । उहाँले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.