जन सरोकार

पाल्पा र पोखरालाई जोड्दै ‘पाल्पा हाउस’

पाल्पा र पोखराबीचको सम्बन्ध पुरानो छ । पहिले पोखरेलीहरू पढ्न पाल्पा जान्थे । समयक्रमसँगै विभिन्न कामकाजका लागि पाल्पाली पोखरा झर्न थाले । पाल्पा र पोखराको पुरानो सम्बन्धलाई ताजा राख्न पोखरामा ‘पाल्पा हाउस’ स्थापना भएको छ । करिब दुई करोड लागतमा पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ सञ्चालन गरिएको हो ।

पाल्पा हाउस

पाल्पाको पर्यटकीय स्थल रानीमहल स्वरूपमा निर्मित दुई तले भवन निर्माण गरी पाल्पा हाउस सञ्चालन गरिएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताउनुभयो । शुक्रबार पोखरा महानगरका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उक्त हाउसको संयुक्त उद्घाटन गर्नुहुनेछ ।

पाल्पा हाउसमा पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्य राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । पाल्पा हाउसमा १७ सटरमा विभिन्न प्रकारका पसल सञ्चालित छन् । कम्पनीले रानीमहल रेष्टुराँमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइलालगायत पस्किने छ ।

यस्तै पाल्पाली ढाका, करुवा यहीँ पाइनेछ भने कृषिजन्य उत्पादन एकैथलोमा उपलब्ध गराइनेछ । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्त्व राख्ने पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकले बताउनुभयो । नयाँ र नौलो स्वरूपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पहल गरेका हुन् । पाल्पा हाउसमा ७० जना शेयर सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.