जल/वातावरण

पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान

विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३)को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाललगायत विश्वभर नै विश्व मौसम दिवस मनाइँदै आएको छ ।

पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान

यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलवायु क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्नु हुने सरोकारवालालगायत सम्पूर्ण जनसमुदायमा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ ।

यस वर्षको विश्व मौसम दिवसको नारा ‘पुस्तान्तरणमा मौसम, जलवायु र जलको भविष्य’ रहेको छ । यस नाराले अग्रज पुस्ताले १९औँ शताब्दिको अन्त्यतिर विकास गरेका टेलिग्राफ र मौसम पूर्वानुमानको उपलब्धि, मौसम विज्ञानमा आजका पुस्ताले सुपर कम्प्युटर र अन्तरिक्षा प्रविधिको विकासमा हासिल गरेका सफलता र भावी पुस्ताले हासिल गर्न सक्ने सम्भावनाको तथ्यलाई उजागर गरेको विभागले जनाएको छ ।

विश्वव्यापी भूमण्डलीय तापमानको वृद्धिले मौसम तथा जलवायु चक्रमा अस्वाभाविक परिवर्तन भइरहेका छन् । जसको फलस्वरुप, मौसम र जलवायुको विषम अवस्थामा आएको बढोत्तरीले बहु–प्रकोपमा वृद्धि भइरहेको विभागका प्रवक्ता सुमन कुमार रेग्मीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मौसम तथा जलवायुको सम्भावित अवस्थाको पूर्वानुमान वा आँकलन गरी पूर्व चेतावनीको माध्यमबाट जीवनलाई सुरक्षित बनाउन गणितीय पूर्वानुमान लगायतका प्रविधिमा आएको सुधार तथा यसको उच्चतम् प्रयोग उल्लेख्य रुपमा वृद्धि भए पनि विश्वका अगाडि चुनौती अझै विद्यमान रहेको बताइएको छ ।

“विश्वमा आजका दिनसम्म भइरहेका हरितगृह ग्यास उत्सर्जन र विश्वव्यापी उष्णिकरणसम्बन्धी अध्ययन अनुसन्धानले भविष्यमासमेत मौसम, जलवायु तथा जलको अवस्था सुखद देखाएको छैन् । तथापि बिग्रदो मौसम र जलवायुको अवस्थालाई यथास्थितिमा राख्ने वा यसलाई नियन्त्रित गर्दै एउटा निश्चित सीमामा सीमित गर्ने भन्ने कुरा वर्तमान तथा भावी पुस्ताको हातमा निर्भर छ”, विज्ञप्तिमा उल्लेख छ ।

मौसम, जलवायु र जलको कुनै भौगोलिक सीमा र बन्धन नहुने उल्लेख गर्दै विभागले आगामी दिनमा विश्व समुदाय एक आपसमा हातेमालो गर्दै निर्धारित गन्तव्यमा पुग्न सकिएन भने भावी पुस्ताको जीवन अझ कष्टकर र सङ्कटपूर्ण हुने भएकोले यस पृथ्वीलाई सुरक्षित वासस्थानको रुपमा भावी पुस्ताको लागि जोगाउन आह्वान गरेको छ ।

यसै तथ्यलाई आत्मसाथ गर्दै चुनौतीलाई अवसरका रुपमा बदलेर मौसम, जलवायु र जलको मापन, पूर्वानुमान तथा पूर्व–सूचना प्रणालीको विकास र विस्तारको माध्यमबाट प्रभावकारी सेवा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको हातेमालोलाई विभागले उच्च प्राथमिकतामा राखेको छ ।

दिवसले आम समुदायको साथै सम्पूर्ण सरोकारवालामा भविष्यमा हुनसक्ने सम्भावित जोखिमबारे ध्यानाकर्षण गर्दै सबैमा सचेतना जगाउने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.