जन सरोकार

एकपटक पुग्नैपर्ने पाथीभरा धाम

देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा

धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुहुन्छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहनुभएका इन्द्रनारायण भट्टराईले बताउनुभयो । भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हुँदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ । तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ । देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्की बताउनुहुन्छ । पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ । जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ ।

देवीको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ । परापूर्वकालमा एउटा भेडी गोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पु-याए । त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे । उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते ।

राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन् । सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ ।

पाथीभराको प्रसङ्ग किराँत समुदायको धर्म ग्रन्थ (मुन्धुम) मा समेत जोडिएको छ । किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात् ढुङ्गा हो । मुकुम्लुङलाई युमा माङका रुपमा पुज्छन् । किराँत समुदायले यूमा माङलाई प्रमुख इष्टदेवको रुपमा लिने गर्दछन् । किरात धर्मअनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुमा बेलाबेलामा प्रकट हुने हुन्छ । यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्दलाई समेत मान्ने गरिएको छ । पाथीभरामा फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिकसमेत राखिएको छ ।

बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गरेका छन् । पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने गरिएको छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । परेवा उडाएर, फूल, अक्षता चढाई धूप बालेर पनि पूजा गर्ने गरिएको छ । पछिल्लो समयमा पूजाआजाका लागि फूल अक्षता लिएर जानेक्रम बढेको पाइन्छ

पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन् ।

पाथीभरा दर्शनका लागि देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व बेलाबेलामा पाथीभराको दर्शनका लागि जाने गर्दछन् । सडक यातायात नहुँदा मानिस हिँडेरै पुग्दथे । सदरमुकाम फुङ्लिङबाट हिँडेर पुग्नै एक दिन लाग्थ्यो पाथीभराको यात्रामा निस्किएपछि हरेक खोलानाला तर्नुअघि खोलाको पूजा गर्दै जाने गरिन्थ्यो । तीर्थयात्रीले आफ्ना लागि खानेकुरा, भाँडाकुँडा र ओछ्याउने लत्ताकपडा आफैँ बोकेर जान्थे भने गोठ ओढारमा बस्ने गर्थे । बाक्लो बस्ती नभएकाले र देउरालीदेखि मन्दिरसम्म घना जङ्गल भएकाले समूहमा जाने गरिन्थ्यो ।

अहिले पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सवारीसाधन पुग्छन् । पाथीभरा क्षेत्रमा नै तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङ्लिङमै पनि फर्किएर बस्न सकिन्छ । पाथीभराको लोकप्रियता, यसको महिमा र गरिमा चुलिँदै गएकाले पूर्वका विभिन्न ठाउँमा पाथीभराका शाखा मन्दिर स्थापित छन् । तेह्रथुमको हरिसे, बसन्तपुर, टुटे देउराली, सङ्खुवासभाको चौकी बजार, झापाको चारआली, इलामको कुटिडाँडा र ताप्लेजुङकै विभिन्न गाउँमा समेत मन्दिर निर्माण गरी पूजाआजा गर्ने गरिएको छ । ठूलो पाथीभरा पुग्न नसके तिनै मन्दिरबाट समेत भाकल बुझाउने गरिन्छ ।

धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ । फुङ्लिङ बजार, सुकेटार देउराली हुँदै तल्लो फेदीसम्म सवारीसाधनमा गई सकेपछि माथि मन्दिरसम्म नै पैदल हिँड्नु पर्छ । फटाफट हिँड्न सक्ने तीन घन्टाको अवधिमा मन्दिर पुग्छन् । पैदलमार्गको स्तरोन्नति गरिएकाले र डाँडैडाँडा रमित हेर्दै पाथीभराको उकालो चढ्नुको मज्जा छुट्टै छ । पाथीभरा मन्दिरमा जान आउनका लागि काठमाडौँबाट सिधै सुकेटार विमानस्थलसम्म हवाई सेवा लिन सकिन्छ ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने भएकाले कसैकसैलाई लेक लाग्ने समस्या हुनेगर्छ । प्राकृतिक सुन्दरतासँग रमाउँदै पाथीभरा मन्दिर रहेको डाँडामा पुग्दा कञ्चनजङ्घा हिमशङ्खलाले स्वागत गर्न आइपुग्छ । पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु लगाएका हिमाल आँखै अघि छर्लङ्ग देखिन्छन् । एकातिर पाथीभरा दवीको दर्शन पनि हुने र अर्कातिर प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गर्न समेत पाइने भएकाले पर्यटन प्रवद्र्धनमा पाथीभराको महत्व अझ बढिरहेको पर्यटन व्यवसायी हर्क गुरुङले बताउनुभयो ।

कतिपय तीर्थयात्री ताप्लेजुङको तोङ्वा र सुकुटीको स्वाद लिँदै यहाँ उत्पादित चौँरी, गाईको छुर्पि, विभिन्न जडीबुटी, अलैँचीलगाएतका बस्तु चिनोको रुपमा लिएर घर फर्किन्छन् । सुकेटार र फुङलिङ बजारका होटलहरुमा तोङ्वा सुकुटीको स्वाद चाख्न पाइन्छ । “सदरमुकामै रहेका कोशेली घरहरुमा छुर्पी, जडीबुटी, अलैँचीलगायतका सामग्री पाइन्छन् । मन्दिरको दर्शन गरेर फर्किनेहरुले ताप्लेजुङको चिनोका रुपमा लैजाने गर्छन”, पाथीभरा कोशेली घर सञ्चालक विष्णु श्रेष्ठ बताउनुहुन्छ । यहाँका कोशेलीघर, होटल तथा पसलमा स्थानीय उत्पादनहरु प्रशस्त राखिएको हुन्छ । पाथीभराले जिल्लाको धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.