जल/वातावरण

नयाँ भेरियण्टको कोरोना संक्रमणको चिन्ता- पहिलेको जस्तै शतर्क रहन विज्ञको सुझाव

विश्वभर कोरोना भाइरसबिरुद्धको खोप अभियान चलिरहेको छ र संगसंगै संक्रमण पनि बढ्न थालेपछि युरोपका अधिकांश देशमा लकडाउन गरिएको छ भने नेपालको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढ्न थालेपछि नेपाल जोखिममा परेको छ ।

भारतमाा खोप अभियानन व्यापक चलिरहेका बेला एक सातायता दैनिक रुपमा संक्रमितको संख्या पहिलेकै जस्तो बढ्न थालेपछि विभिन्न राज्यहरुमा पुनः लकडाउन गरिएको छ । नेपालमा पनि केही दिनयता विस्तारै संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार मात्र थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ । निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहकेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पिसीआर परीक्षण भएको छ ।

केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन भन्ने चिन्ता व्यक्त गर्दै  पहिलेको संयत्र र व्यवहार पुनः सक्रिय गराउनुपर्ने बताउनुहुन्छ ।

महामारी नियन्त्रणमा नआउँदै सरकार र नागरिकले लापरवाही गरेकाले यो अवस्था आएको बताउने उहाँ नेपालमा जिन सिक्विन्सिङ गर्ने प्रविधि नभएर पछिल्लो समय भेटिएको संक्रमण कुन भेरियण्टको हो भन्ने पुष्टी हुन सकेको छैन । तर यसअघि ३ जनामा नयाँ भेरियण्ट भेटिइसकेकाले बढी नै सचेत हुनुपर्ने अवस्था छ ।

डा. राजभण्डारी नेपालमा अहिले बढेको संक्रमण युरोपेली देशमाझै कोरोनाको दोस्रो/तेस्रो लहरको संकेत भएको बताउनुहुन्छ । यद्यपि यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक घोषणा गरेको छैन । त्यस्तै स्वास्थ्य सुरक्षा उपायमा कडाई पनि गरिएको छैन ।

तर अधिकांश जनस्वास्थ्य विज्ञ कोरोनाको दोस्रो लहर आएकामा सहमत छन् । स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्रै सभा, जुलुश, भेला, समारोह नगर्न सार्वजनिक सूचना नै जारी गरिसकेकाले मन्त्रालयले पनि कोरोनाको अर्का लहर सुरु भएको अनौपचारिक रुपमा पुष्टि गरिसकेको छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने पछिल्लो समय भेटिएका धेरै संक्रमितमा ‘एस जिन’ देखिएको छैन । एस जिन नदेखिएको भाइरसमा नयाँ भेरियन्टको भाइरस छ कि भनेर आशंका गर्न सकिने इडिसिडीका निर्देशक डा. कृष्ण पौडेल बताउनुहुन्छ ।

त्यस्तै जनस्वास्थ्यविद डा. शरद वन्त पटक पटक फैलिने र विश्वका धेरै भूगोललाई सताउने ‘पान्डेमिक’को चरित्र भएकाले यस्तो समयमा विश्वको अरु देशको अवस्था हेरेर कदम चाल्नुपर्ने बताउँदै अन्य देशमा महामारीको दोस्रो तेस्रो लहर फैलिएको बेलामा ‘हामी अपवाद हुन्छौं भन्ने सोच नै गलत हुने चेतावनी दिनुहुन्छ ।

केही सीमित व्यक्तिले खोप लगाएको भरमा महामारी सकिएको भन्दै लापरवाही गर्ने व्यवहारले असर पार्ने खोप लगाए पनि शरीरमा कोभिड १९ विरुद्धको एण्टीबडी बन्न समय लाग्ने भएकाले लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

डा वन्त पनि नयाँ भेरियण्टको कोरोना आशंका गरिएकाले पनि खोप लगाएर ढुक्क हुने अवस्था नरहेको बताउनुहुन्छ । नयाँ भेरियण्टको कोरोनालाई खोपले प्रभाव पार्ने वा नपार्ने आधिकारिक अध्ययनको नतिजा सार्वजनिक भएको छैन । भाइरसले जुनसुकै ठाउँमा पनि आफ्नो स्वरुप परिवर्तन गरेर नयाँ स्वरुपमा विकास हुने भएकाले सतर्क हुनुपर्छ ।

उहाँ नेपालमै अन्य देशको भन्दा नयाँ स्वरुपको भाइरस विकास हुन सक्ने बताउँदै अझ समुदायमै संक्रमण भइरहेको बेला राज्यले आफ्नो गतिविधि बढाउने र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नभए पनि पछिल्लो समय राज्य र नागरिक दुबैको तर्फबाट गल्ती भएको बताउँदै परीक्षणको दायरा बढाउने, क्वारेण्टिन व्यवस्थित बनाउने, कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउनुपर्ने र महामारीविरुद्ध लड्ने सबै संरचना र व्यवहारलाई पुनर्जागृत गराउन सुझाव दिनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.