विश्व समाचार

यसरी बन्यो सेफ्टी पिन महिलाहरूका लागि रक्षा कवच

भारतमा हरेक महिलासँग भिडभाडयुक्त स्थानमा यौन दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। त्यस्ता तीता अनुभवमा कसैले महिलाको स्तन छोएकादेखि शरीरको पछिल्लो भागको तलतिर चिमोटेको वा अरू संवेदनशील अङ्ग छोएको जस्ता घटना पर्छन्।

सेफ्टी पिन

यस्ता पीडकहरूलाई तह लगाउन महिलाहरू आफूसँग जे छ त्यसैको प्रयोग गर्छन्। उदाहरणका लागि कलेज पढ्ने समयमा कोलकता शहरमा खचाखच बस र ट्राममा चढ्दा म र मेरा साथीहरू हामीसँग भएको छाताको प्रयोग गर्थ्यौँ।

त्यस्ता व्यक्तिका हात चिथोर्न हामीहरूमध्ये धेरैजना आफ्नो नङ लामो पाल्थ्यौँ र त्यसलाई धारिलो बनाउँथ्यौँ। कतिपयले फाइदा लिएर पछाडिबाट जथाभावी छुन खोज्ने पुरुषहरूलाई तह लगाउन धारिलो हिल भएका जुत्ता पनि लगाउँथे।

तर धेरैले त्यो भन्दा पनि प्रभावकारी उपाय अपनाएका थिए जुन जतासुकै सजिलै पाइने सेफ्टी पिन थियो। सन् १८४९ मा आविष्कार भएयता सेफ्टी पिनहरूलाई उध्रिएका कपडाहरू जोड्न वा लगाइरहेको पोशाक उध्रिएर उत्पन्न आकस्मिक समस्या तत्कालै समाधान गर्न प्रयोग गरिँदै आएको छ।

महिलाहरूले विश्वव्यापी रूपमा पीडकहरूसँग जुझ्न र उनीहरूलाई रक्ताम्मे पार्न समेत यसको प्रयोग गर्दै आएका छन्।

सेफ्टी पिनले दिलाएको आत्मविश्वास
केही महिनाअघि भारतका थुप्रै महिलाले सामाजिक सञ्जाल ट्विटरमा आफूहरूले आफ्नो हाते ब्यागमा वा साथमा सधैँ सेफ्टी पिन बोक्ने गरेको बताएका थिए। र त्यो कोचाकोच अवस्थाका बसमा पीडकविरुद्ध प्रयोग गर्ने आफ्नो रोजाइको अस्त्र भएको उनीहरूको भनाइ थियो।

त्यसरी सेफ्टी पिन बोक्नेमध्येकी एक दीपिका शेरगिलले एउटा घटनाबारे लेखेकी छन् जसमा उनले रगत नै निकाल्न त्यसको प्रयोग गरेको बताएकी छन्। त्यो घटना उनी कार्यालयबाट घर फर्कन निरन्तर प्रयोग गर्ने एउटा बसमा भएको थियो। शेरगिलले बीबीसीलाई बताएअनुसार दशकौँअघि उक्त घटना भएको थियो तर त्यससम्बन्धी सा-साना कुरा उनलाई सम्झना छ।

उनी करिब २० वर्षकी थिइन् र उनलाई पीडा दिने व्यक्ति करिब ४५ वर्ष आसपास थिए। उनले सधैँ खैरो रङ्गको सफारी सुट र चप्पल लगाउँथे र एउटा चारपाटे छालाको ब्याग बोक्थे।

“उनी सधैँ आउँथे र मेरो नजिकै उभिन्थे। उनी टाँसिन्थे र उनले आफ्नो यौन अङ्गले मेरो पछाडि घर्षण गराउथे। चालकले प्रत्येक पटक ब्रेक लगाउँदा उनी मेरो शरीरमाथि लड्न खोज्थे।”

दीपिका शेरगिल

त्यो बेला आफू ‘ज्यादै लजालु स्वभावको भएको र कसैको ध्यान खिच्न नचाहेको’ भन्दै उनले महिनौँसम्म चुप लागेर बसेको बताइन्। तर एक साँझ जब उनले “मेरो काँधमाथि हस्तमैथुन र स्खलन गराए”, तब अति भयो भन्ने निष्कर्ष उनले निकालिन्।

“मैले अपमानित महसुस गरेँ। घर पुगेर निकै लामो समय नुहाएँ। मैले के भयो भनेर मेरी आमालाई पनि भनेँ।” “त्यो राति म सुत्न पनि सकिनँ। मलाई जागिर पनि छाडिदिऊँ जस्तो लाग्यो। तर त्यही बेला बदला लिने सोच पनि आयो। म उनलाई शारीरिक रूपमा चोट दिन चाहन्थेँ। उनलाई पीडा दिन चाहन्थेँ र उनलाई अब फेरि मलाई त्यस्तो गर्नबाट रोक्न चाहन्थेँ।”

अर्को दिन शेरगिलले धारिलो हिल भएको जुत्ता लगाइन् र सेफ्टी पिन बोकेर बस चढिन्।

“उनी आए र आउने बित्तिकै मेरो पछाडि उभिए। म मेरो सिटबाट उठे र उनको औँला मेरो हिलले थिचेँ। उनी स्वाँस्वाँ गर्न थाले, त्यसबेला मलाई ज्यादै खुशी लागिरहेको थियो। मैलै उनको पाखुरामा सेफ्टी पिनले घोचिदिएँ र तत्कालै बसबाट बाहिरिएँ।”

उनले अर्को बर्षसम्म आफू उक्त बसमा सवार भए पनि त्यसपछि ती व्यक्तिलाई कहिल्यै नदेखेको बताइन्। शेरगिलको कथा स्तब्ध तुल्याउने खालको भए पनि यो विरल होइन।

तीसको दशककी एक सहकर्मीले दक्षिण भारतको कोची र बेङ्ग्लोर शहरबीचको रात्रिबस यात्राको एउटा घटना सुनाइन्। एक पुरुषले निरन्तर उनका संवेदनशील अङ्गमा छुने प्रयास गरेका थिए।

उनले भनिन्, “मैले सुरुमा यो अनजानवश भएको हो कि भन्दै उनको हात हटाएँ।” तर उनले जब त्यसपछि पनि त्यस्तो गरिरहे, उनले त्यो जानाजान गरिएको भन्ने महसुस गरिन्। त्यो बेला सल अड्काउन प्रयोग गरिएको पिन उनको रक्षक भएर निस्कियो।

‘मैले उनलाई घोचिदिएँ र उनले हात हटाए। तर उनले फेरि प्रयास गरिरहे अनि मैले पनि घोच्ने प्रयास गरिरहेँ। अन्तिममा उनी पछि हटे। मलाई खुसी लाग्छ मसँग सेफ्टी पिन थियो। तर मैले फर्किएर झापड नहानेकोमा आफू मूर्ख भएको महसुस गर्छु।”

उनले आफू किशोरी हुँदा यस्ता कुरा उठाउँदा समर्थन प्राप्त नहुने हो कि भनेर चिन्ता लाग्ने गरेको सुनाइन्।

अहिले अवस्था के छ ?
अभियानकर्ताहरूका अनुसार पीडकहरूले त्यही भय र लाजको फाइदा उठाउनाले यो समस्या अझ व्यापक बनेको छ।

सन् २०२१ मा भारतका १४० वटा शहरमा गरिएको एउटा अनलाइन सर्वेक्षणका अनुसार ५६ प्रतिशत महिलाले सार्वजनिक यातायातमा दुर्व्यवहार महसुस गरेका थिए। तर जम्मा दुई प्रतिशत मात्रै प्रहरीकहाँ गएका थिए।

बहुसङ्ख्यक आफैँले कदम चालेको वा केही नगरेको बताएका थिए। उनीहरूका भनाइमा आफूलाई अप्ठेरो पर्ने परिस्थिति उत्पन्न हुने चिन्ता उनीहरूमा थियो।

‘असुरक्षाका कारण’ आफूले शिक्षा र जागिरको अवसर छाडिदिएको ५२ प्रतिशत भन्दा बढीले बताएका थिए।

“यौन हिंसाको डरले महिलाको मनोविज्ञान र उनीहरूको आवतजावतलाई वास्तविक हिंसाभन्दा बढी प्रभाव पर्छ,” महिलाहरूका लागि सार्वजनिक क्षेत्र सुरक्षित पार्न क्रियाशील सेफ्टीपिन नामक संस्थाकी कल्पना विस्वनाथ भन्छिन्।

महिलाहरूले आफूमाथि त्यस्तो स्वनियमले उनीहरूलाई समान नागरिक अधिकारबाट वञ्चित गर्ने र त्यसले महिलाको जीवनमा दुर्व्यवहारले भन्दा पनि गम्भीर खालको प्रभाव पर्छ।”

विश्वनाथका अनुसार यौन दुर्व्यवहार भारतको मात्रै समस्या होइन।

न्यूयोर्क, मेक्सिको सिटी, टोक्यो र काइरोका एक हजार महिलामा टमसन रोयटर्स फाउन्डेसनले गरेको एउटा सर्वेक्षणले यातायात सञ्जाल यौन पीडकहरूले व्यस्त समयमा दुर्व्यवहार गर्ने र आफ्नो व्यवहार लुकाउन सर्वाधिक प्रयोग गर्ने ठाउँ बनेको देखाएको थियो। पक्राउ परेको अवस्थामा उनीहरूले भिडलाई बहना बनाउने गरेका थिए।

विश्वनाथनले ल्याटिन अमेरिका र अफ्रिकाका महिलाहरूले पनि आफूलाई सेफ्टी पिन बोकेको सुनाएको बताइन्। स्मिथसोनिअन म्यागेजिनको एउटा रिपोर्टका अनुसार अमेरिकामा सन् १९०० को दशकमा महिलाहरूले त्यस्तो व्यवहार गर्ने पुरुषहरूमाथि आफ्नो टोपी अड्याउन प्रयोग गर्ने पिनहरू प्रयोग गर्थे।

विश्वव्यापी सर्वेक्षणहरूले ठूलो स्तरको समस्याका रूपमा देखाए पनि भारतले यसलाई गम्भीर मुद्दाका रूपमा लिएको देखिँदैन।

उदाहरणका लागि राजधानीमा बसहरूले आपत्कालीन बटन र सीसीटीभी क्यामेराहरू जडान गरेका छन् भने महिला चालकहरूको सङ्ख्या बढाइएको छ। चालकहरू र सहचालकबीच सचेतना बढाइएको छ अनि बसहरूमा मार्सलहरू पनि खटाइएको छ।

प्रहरीले महिलाहरूले कुरा राख्न सकून् भन्नका लागि एप र हेल्पलाइन पनि बनाएको उनले बताइन्। तर विश्वनाथको बुझाइमा यो सधैँ प्रहरीसँग जोडिएको समस्या होइन।

उनले स्वीकार्य र अस्वीकार्य व्यवहारबारे मानिसहरूसम्म चेतना पुर्‍याउन व्यापक सञ्चार अभियान चलाउनुपर्नेमा जोड दिइन्। त्यसो नहुनजेल शेरगिल र मेरी साथी अनि लाखौँ महिलाले सेफ्टी पिनलाई आफूसँगै राख्नुपर्ने आवश्यकता छ। बीबीसी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.