बिचार

भव्य न्यूयोर्कको सभ्य शहरी व्यवस्थापन (यात्रा अनुभूति)

१७ औं शताब्दीका ‘ड्यूक अफ योर्क’ अर्थात् बेलायतका भावी राजा जेम्स द्वितीयलाई केन्द्रित गरेर राखिएको संयुक्त राज्य अमेरिकाको आर्थिक महानगर मानिने शहर हो न्यूयोर्क ।

बेलायतको उपनिवेशमा रहेका १३ राज्यमध्येको एक न्यूयोर्क राज्य अमेरिकाको सबैभन्दा घना बस्ती भएको कलात्मक शहर पनि हो । यसका साथै विश्वभरकै मानिसहरुको सपना साकार पार्ने थलो पनि ।

अत्याधुनिक सुविधासम्पन्न न्यूर्योक अनेक विशेषताले भरिएको छ । यहाँ परम्परागत घरहरुलाई उत्तिकै महत्वका साथ सुरक्षित राखिएको छ । ती घरहरु यति महत्वपूर्ण छन् कि विक्री मूल्यका हिसाबले यी घरहरु आधुनिक घरभन्दा महंगो छ ।

न्यूयोर्क संयुक्त राष्ट्रसंघको हेडक्वाटर, विश्व अर्थतन्त्रको राजधानी, संसारभरकै संस्कृतिको मिश्रण तथा संचारको राजधानी र अर्थतन्त्रका हिसाबले न्यूयोर्क स्टक एक्सचेन्ज विश्वका हरेक उद्योगीको सपना हो ।

सवारी व्यवस्थापन

व्यापारिक क्षेत्र, शिक्षण क्षेत्र र आवासीय क्षेत्रका आआफ्नै विशेषता र प्रावधान रहेको न्यूयोर्कमा भीमकाय भवन छन् । भवनको तुलनामा शहरी सडकहरु साना देखिन्छन् तर त्यहाँको उत्कृष्ट सवारी व्यवस्थापनले समस्या नै पर्दैन भन्दा फरक नहोला ।

न्यूयोर्क शहरको पहिलो भ्रमणका क्रममा त्यहाँ देखिएका दृश्य र सवारी व्यवस्थापन तथा कला, संस्कृतिको संरक्षण र व्यापारिक तथा आवासी क्षेत्रहरुलाई जुन किसिमले व्यवस्थितत गरी नियममा बाँधिएको छ, यसले मानवअधिकार संरक्षणमा उच्च योगदान दिएको प्रचूर अनुभुति भयो ।

आवासीय क्षेत्रहरुमा सवारी आगामन एकोहोरो मात्र गरिएको छैन कि ती क्षेत्रमा कुनै पनि पसल, व्यवसाय नै निषेध गरिएको छ । मानिस बस्ने स्थान शान्ति र हल्लारहित हुनुपर्छ भन्ने मान्यतालाई त्यहाँ उच्च स्तरमा पालना गरिएको छ ।

व्यावसायिक रुपमा अति व्यस्त भित्री शहरका बीचबीचमा पुराना र मौलिक घरहरु आवासका लागि सुरक्षित गरिएका छन् भने पचासौं तले व्यापारिक भवनहरुमा अनेक व्यवसाय संचालित छन् ।

यी सबै कुराहरुका वाबजदूत न्यूयोर्कको व्यस्ततामा सवारी व्यवस्थापन अति महत्वपूर्ण रहेको छ । हुन त अमेरिकाको अन्य राज्यबाट आउनेहरुले न्यूयोर्कको सवारी व्यवस्थापन अझै कमजोर रहेको बताउँछन् तापनि हामी जस्ता नेपालीका लागि यो नै काफी लाग्दछ ।

काठमाडौंका सडकमा जस्तै सिट्ठी फुक्दै यता र उता दगुर्ने ट्राफिक प्रहरीको व्यस्तता देखेकाहरुका लागि विशेष स्थानमा बाहेक त्यहाँ सडकमा प्रहरीको उपस्थिति नै छैन ।

व्यवस्थित किसिमले राखिएका ट्राफिक लाइटहरुले यातायात व्यवस्थापन यति सहज बनाएको देखियो कि दुर्घटना वा जामको कुनै सम्भावना छैन, कुनै अप्रिय अवस्था सिर्जना बाहेक ।

कायम गरिएको नियम र बनाइएका संरचनाहरुले शहरको सवारी व्यवस्थापनलाई व्यवस्थित गरेको त छँदैछ, नियम अनुसार चल्ने चालकहरुको अनुशासन पनि सो सफलताको अर्को कडी हो । प्रहरी नदेखे रातो बत्तीमै सडक पार गर्ने नेपालीहरुका लागि न्यूयोर्कको सवारी यात्रा अनौठै लाग्नसक्छ पहिलोपटक त्यहाँ पुग्दा ।

न्यूयोर्कमा भित्री वा बाहिरी मुख्य सडकमा प्रवेश गर्ने सहायक सडकहरुबाट आउने सवारीका लागि सहज बनाउन हरेक सडकपिच्छे ट्राफिक बत्ती जडान गरिएको छ । ती बत्तीहरु स्वचालित हुन्छन र कुनै एक भित्री सडकबाट मुल सडकमा सवारी आन लागे रातो बत्ती बलेर सडक खाली गरिन्छ ।

कुनै पनि गल्लीबाट मुल सडकमा निस्कन नेपालमा जस्ता कतिबेला खाली हुन्छ र जाउँला भनेर कुर्नु पर्दैन । एउटै गाडीका लागि पनि बाटो खाली हुन्छ । मूल सडकका लागि पनि र भित्री सडकलाई पनि ।

रातो बत्ती लामो समय बल्दैन । २० देखि ३० मिनेटमा बाटो खुल्छ । त्यस्तै पैदल यात्रीका लागि पनि सोही अनुसारको व्यवस्था गरिएको छ । सडक पार गर्न कुनै गाह्रो नपर्न गरी व्यवस्थापन मिलाइएको छ ।

एक किलोमिटरको दूरीमा दशौं ट्राफिक बत्ती भएको न्यूयोर्कका सडकहरुमा सामान्यतः १० औ मिनेट हरियो बत्ती कुरेर बस्नुपर्ने बाध्यता छैन । छिनछिनमै रोकिने, जाने, रोकिने जाने क्रमले सडक यातायातलाई सहज बनाएको छ ।

आश्चर्य लाग्ने विषय के हो भने न्यूयोर्कका अधिकांश सडक नेपालकै आकारका छन् । तर, व्यवस्थापनका हिसाबले अति उत्कृष्ट कार्य त्यहाँ भैरहेको छ ।

न्यूयोर्क शहरको बीचभागमा रहेको विश्वप्रसिद्ध जुम्ल्याहा व्यापारिक भवनमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलाले यो शहरलाई अरु चर्चित बनायो ।

यही आतंकवादी हमलापछि अमेरिकी सरकारले आतंकवाद नियन्त्रण गर्न अफगानिस्तानमा हमला गर्यो । लामो समयको युद्धपछि अमेरिकाले अलकायदाका नेता ओसामा विन लादेनलाई उनी लुकेकै स्थानमा पुगेर समाप्त पार्यो ।

न्यूयोर्कको वैभव झल्काउने ट्वीन टावर नष्ट भए पनि अहिले सोही स्थानमा एक टावर निर्माण भैसकेको छ । विश्व अर्थतन्त्रलाई नियन्त्रण गर्ने हैसियत राख्ने न्यूयोर्कको व्यवस्तता र भव्यताको तुलनामा सडकका आकार साना भए पनि गरिएको व्यवस्थापनले सडक फराकिलो भएर मात्रै सवारी सहज हुन्छ भन्ने सोच गलत हो भन्ने सन्देश दिएको छ ।

पश्चिमा मुलुकको नारा भित्र्याएर राजनीतिक रोटी सेक्नेहरुले त्यहाँका जनतालाई राज्यले दिएको सुविधा र जनताले राज्यप्रति देखाएको दायित्व नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको छ ।

सिक्नुपर्ने र सिकाउनुपर्ने यो नै महत्वपूर्ण विषय हो । न्यूयोर्क भ्रमणको दोस्रो दिन शहरको छोटो भ्रमणले नै यति कुरा ज्ञात हुन आयो भने राजनीतिक भ्रमणमा आएर विकास, सुशासन, समृद्धिका लामा भाषण गर्नेहरुले यस्ता कुरा किन सिक्दैनन् ? यो भने आश्चर्यलाग्दो विषय बनेको छ ।

(न्यूयोर्कबाट यादब देवकोटा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.