पहिलो संस्करणको युरोपियन ट्वान्टी २० लिग बेल्जियममा नेपालका छ क्रिकेटरले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा यसअघि नै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई टिमहरुले अग्रिम अनुबन्ध गराइसकेका छन् ।
दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले र सन्दीपलाई पनि लियेज रेड लायन्सले अनुबन्ध गराएको थियो । त्यस्तै मंगलबार भएको ‘ड्राफ्ट’ बाट कप्तान रोहित पौडेलसहित अन्य चार खेलाडी अनुबन्ध भएका छन् । अनिल साह र गुल्शन झा भने अप्सनल राउन्डबाट छानिएका छन् ।
गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट कप्तान रोहितलाई अनुबन्ध गर्दा विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका छन् ।
त्यस्तै जेबी ब्रुग्सले ललित राजवंशी र इशान पान्डेलाई अनुबन्ध गर्दा अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि टोलीमा आबद्ध भएका छन् । जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ ।
डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी २० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।
जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन अनुबन्ध गरिसकेको छ ।





प्रतिक्रिया राख्नुहोस्