क्रिकेटखेल

दुईदिवसीय श्रृङ्खलामा पिएनजीको कब्जा

नेपाल पहिलोपटक श्रृङ्खलामा पराजित भएको छ । आज सम्पन्न दोस्राे एकदिवसीयमा पनि नेपाल पपुवा न्यूगिनी (पिएनजी)संग पराजित हुँद श्रृङ्खला गुमाएको हो ।

युएईमा सम्पन्न लिग २ का दुबै खेल नेपाललाई सुम्पिएकोा पिएनजीले नेपाललाई नेपालमै आएर पराजित गर्न सफल रह्यो । नेपाल शुक्रबार पहिलो खेलमा ६ रनले पराजित भएर दुई खेलको श्रृङ्खलामा पछाडि परेको थियो । नेपालले पहिलो पटक द्विपक्षीय श्रृङ्खला गुमाएको हो ।

सन् २०१८ मा नेदरल्यान्ड्ससँगको श्रृङ्खला १–१ को बराबरीमा टुंगाएको नेपालले त्यसको अर्को वर्ष यूएईलाई दुबईमा २–१ ले पराजित गरेको थियो । गत वर्ष ओमानमा पीएनजीसँगको श्रृङ्खला नेपालले २–० ले क्लिनस्विप गरेको थियो ।

पिएनजीका लेगा सिएकाले १ सय २ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरी ९० रन बनापछि पीएनजीले २ सय ७९ रनको लक्ष्य सात विकेटको क्षतिमा ८ बल अगावै पूरा गरेको थियो ।

पीएनजीलाई विजयी दिलाउनेक्रममा चाल्र्स अमिनीले ३० बलमा ७ चौकासहित ३५, सेसे बाउले ६९ बलमा ३८, हिरी हिरीले १३ रन बनाएका थिए । रिले हेकुरे ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरी ४८ र चाद सोपर १२ बलमा १६ रन बनाई अविजित रहे ।

सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ३८ रन खर्चेर ३, पवन सर्राफले ८।४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । कप्तान सोमपाल कामी र आरिफ शेखले १–१ विकेट लिए ।

यसअघि दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७८ रन बनाएको थियो । दीपेन्द्रले ४७ औं ओभरमा शतक पुरा गरेका थिए । उनले १ सय ४० बलको इनिङ्समा ७ चौका प्रहार गर्दै १ सय ५ रन बनाए । यसअघि उनले एकदिवसीयमा एउटै अर्धशतक पनि बनाउन सकेका थिएन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको यो तेस्रो शतक हो । पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ र अघिल्लो दिन रोहित पौडेलले पीएनजीविरुद्ध नै १ सय २६ रन बनाएका थिए ।

नेपालको सुरुआत पुनः राम्रो थिएन । कुशल भुर्तेल खेलको पहिलो बलमै आउट भए । एलेइ नाओको बललाई रक्षात्मक हिसाबले खेल्नेक्रममा कुशलले क्याच दिन पुगे । नेपालविरुद्धको अघिल्लो खेलमा नखेलेका नाओले अर्का ओपनर अनिल शाहलाई १ रनमा विकेटकिपरबाट क्याच गराए ।

अघिल्लो साता पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार १८ खेलको पराजय टुंगाउने क्रममा यूएईमाथि दुबईमा ६ विकेटको विजय हात पार्दा नाओ ४ विकेट लिदैं प्लेयर अफ द म्याच बनेका थिए । शनिबार नेपालका दुबै ओपनरलाई आउट गरेका उनले ९ ओभरमा १ मेडन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए । नोर्मन भानुआले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

तर दीपेन्द्र र देव खनालले सानदार ब्याटिङ गर्दै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो उच्च स्कोरमा उभ्याए । यी दुईले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरे । नेपालबाट यो अहिलेसम्मकै उच्च साझेदारी हो । अघिल्लो दिन रोहित पौडेल र आरिफ शेखले १ सय ४ रनको साझेदारी गरेका थिए ।

अघिल्लो खेलमा डेब्यु गर्दा ६ बल खेली शुन्यमा आउट भएका देवले ८६ बलमा ७२ रन बनाए । एलबीडब्लु आउट हुनु पूर्व देवले ४ चौका र ३ छक्का प्रहार गरे । अघिल्लो खेलमा शतक बनाएका रोहित ३६ बलमा ३५ रन बनाउनेक्रममा ३ चौका प्रहार गरे ।

भिम सार्कीले १९ बलमा २६ रन बनाउनेक्रममा समान १ चौका र छक्का प्रहार गरे । ४८ औं ओभरमा नेपालले दीपेन्द्र, भिम र आरिफ शेखलाई गुमाएको थियो । आरिफ ४ रनमा रनआउट भए । अर्को ओभरमा पवन सर्राफ पहिलो बलमै आउट भए । कप्तान सन्दीप लामिछानेले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ र सोमपाल कामी ३ रन बनाई अविजित रहे । सन्दीपले अन्तिम ओभरमा एक्लै १६ रन प्रहार गरेका थिए ।

नेपालले अघिल्लो खेलबाट कमलसिंह ऐरीको स्थानमा गुलशन झालाई खेलाएको छ । तर गुलशन फिल्डिङका क्रममा घाइते भएपछि नेपालले एक बलर कम लिएर खेल्नु परेको थियो । गुलशनले १ ओभरमात्र गरेका थिए र त्यसमा २० रन खर्चेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.