अर्थजन सरोकार

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

महासङ्घका महासचिव डेकनाथ गौतमले बुधबार एक विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गर्नुभएको हो ।

गत चैत २ गते डिजेलमा प्रतिलिटर रु १० र पेट्रोलमा प्रतिलिटर रु १५ बढेपछि महासङ्घले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो ।

यातायात व्यवस्था विभागले विसं २०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गरेपनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरु मर्कामा परेको महाङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

महासङ्घले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ ।

महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडा लिइ सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.