बिचार

क्वारेन्टाइनमा बस्न नमान्नेलाई ठूलो जरिवानासहित कैद सजायको घोषणा गर!

रामहरि खड्का

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको ९५ प्रतिशत पालना भएको छ । तर संक्रमण फैलाउने सबभन्दा ठूलो सम्भावना बोकेका सयौं मानिसहरु निर्धक्क घुमफिर गरी जोखिम बढाइरहेका छन्, यो नेपालका लागि सबभन्दा डरलाग्दो स्थिति हो ।

यदि कोरोना संक्रमित मुलुकबाट फिर्ता भएकाहरुले सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा नबसेर निर्वाध घुमफिर र मानिसहरुसंग भेटघाट गरिरहने हो भने संक्रमण महामारीका रुपमा नफैलेला भन्न सकिन्न ।

सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा स्वयं १४ दिनको क्वारेन्टाइनमा बस्न भने पनि त्यसको पालना गर्ने केही व्यक्ति मात्र भेटिएका छन् । विदेशबाट आएका दुईजनामा कोरोना संक्रमण देखिएपछि उनीहसंगै सोही विमानमा भएका अन्य यात्रुहरु होसियार हुनुको साटो निर्वाध असनको साँढे जस्तै घुमिरहेका छन् भने सरकारको प्रयासको कुनै अर्थ छैन । उनीहरुलाई तत्काल क्वारेन्टाइनमा बस्न आव्हान गरिए पनि त्यसको सुनुवाई छैन ।

कोरोनाबाट बच्ने र बचाउने एउटै उपाय भनेको मानिसहरुबीच दूरी बढाउनु हो । अनि संक्रमितलाई अलग्गै राख्ने वा सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राखेर निश्चित अवधिसम्म निगरानी गर्ने हो
। योभन्दा अर्को बिधि विश्वमा नभएका बेला नेपालमा भने संक्रमित मुलुकबाट आएकाहरु निर्वाध घुमफिरमा रहनु र सरकारले आफ्नै घरमा अलग्गै बसेर बाहिर ननिस्कनु भने पनि विदेशबाट आएको फूर्ती लगाउँदै पार्टी खुवाउनु कति जोखिमपूर्ण काम हो तिनीहरु स्वयंले बुझेर पनि किन बुझपचाएका ?

संक्रमित मुलुकहरुबाट अहिलेसम्म कति नेपाली नेपाल फर्किएका छन् ? उनीहरुको तथ्यांक अध्यागमनसंग होला तर पछिल्लो समय दुई विमानका दुई यात्रु संक्रमित भएको पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेपछि सोही विमानका सबै यात्रु चिकित्सकको सम्पर्कमा आउनुको साटो भागेर हिंड्नु अरुको बाँच्न पाउने अधिकार हननु गर्नु हो । त्यस्तालाई हदैसम्मको कारबाही गर्नुको विकल्प छैन । किनभने कडा कानुनी डण्डा नतेस्र्याउँदासम्म यहाँ कसैले टेर्ने रहेनछन् ।

यस्तो स्थितिमा यदि मानिस स्वयं सचेत भएर सुरक्षाका आवश्यक प्रक्रिया पूरा गर्छन् भने ठिकै छ नभए उनीहरुलाई हदैसम्मको कारबाही गर्ने अल्पकालीन कानुनी व्यवस्था गर्नु अत्यावश्यक छ । अहिलेको आवश्यकता भनेको कोही विदेशबाट निश्चित मितीमा हवाइ तथा स्थलमार्गबाट नेपालभित्र आएर कोरोनाको लागि बनाइएको मापदण्ड अन्तर्गत क्वारेन्टाइनमा नबसी लुकिछीपी बसेका छन् भने उनीहरुलाई हदैसम्मको कारबाही गरिनुपर्दछ । किनभने लापरवाही गर्ने त्यस्ता व्यक्तिहरु समाजबिरोधी हुन् । उनीहरुकै कारण समाजमा संक्रमण बढ्न गएमा त्यसको क्षतिपूर्ति कसले गर्ने ? अहिले यस्तै परिदृश्य छ ।

यस्तो स्थितिका लागि जोजति जिम्मवार छन्, तिनीहरुलाई (निज वा निजका परिवारलाई अथवा त्यस्ता व्यक्तिलाई संरक्षण दिने) कडा कानुनी कारबाही र कैद सजायको व्यवस्था गर्नु आवश्यक भैसकेको छ । कोरोनाको विषय केटाकेटी खेलेजस्तो हैन । यसमा स्थानीय तहको भूमिका संघीय सरकारकोभन्दा बढी छ । नगरपालिका तथा गाउँपालिकाहरुले त्यस्ता व्यक्तिको खोजी गरी क्वारेन्टाइनमा पुर्याउनु पर्दछ ।

अर्को महत्वपूर्ण कुरा, सरकारले पनि देखाउनका लागि मात्र क्वारेन्टाइन र आइसोलेशन बनाउने हैन कि अन्तर्राष्ट्रिय मापदण्डकै हुनुपर्छ, यदि सरकारी कमजोरीले संक्रमण बढ्यो भने त्यसको जिम्मेवारी लिने को ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.