जन सरोकार

युवा चिकित्सक डा. तोसिमा जो पैसा हैन बिरामीको ज्यान महत्वपूर्ण ठान्छिन्

डा. तोसिमा कार्की

नेपालमा डाक्टरहरु पैसामुखी छन्, उपचार महंगो छ, सरकारी अस्पतालहरुको सेवा राम्रो छैन, निजीमा पैसा बाहेक केही हुँदैन, पैसा नभए उपचार नपाई सामान्य बिरामी पनि मृत्युको मुखमा पुग्छन् भन्ने गलत मान्यता स्थापित भएको छ र यो केही हदसम्म सत्य पनि हो । तर सबै अस्पताल र डाक्टर त्यस्ता हुँदैनन्, उनीहरु बिरामीको जीवनरक्षा पहिलो कर्तव्य सम्झन्छन् र पैसा नभए पनि उपचार गर्छन् ।

यस्तै घटना केही दिन पहिले धुलिखेल अस्पतालमा घट्यो । उपचारका लागि अस्पताल भर्ना गरिएका एक बालकका अभिभावक अपरेशन गर्न पैसा नभएपछि यसै मर्ने, उसै मर्ने घरै लैजान्छु भन्दै रोइरहेका बेला सोही अस्पतालमा कार्यरत चिकित्सक तोसिमा कार्कीले पैसा नहुँदैमा बिरामीले मर्नु पर्दैन भन्दै तत्काल अपरेश सुरु गरिन र बिरामीको ज्यान बचाइन ।

१२ वर्षे ती बालक यतिबेला उपचारपछि निको भएर घर फर्किसकेका छन् । यदि त्यहाँका डाक्टर र प्रशासनले पैसा हैन बिरामीको ज्यान बचाउनु महत्वपूर्ण हो भन्ने भावना नराखेकि भए एउटा फूल नफक्रदै झर्ने थियो ।

डा. कार्कीले आफ्नो फेसबुकमा गत साता लेखेकि छिन्-

बिहानीको ३ बजे, निन्यारो आँखा पार्दै एक विवश बुबा, इमर्जेन्सीको रातो जोनको शैयामा लम्पसार परेको आफ्नो १२ वर्षे छोरोलाई हेर्दै भन्छन् “होस् भैगो, अपरेसन नगर्ने, बिदा दिनुस्, घरै लैजान्छु !”

३, ४ पटक सम्म काउन्सिलिङ गर्दै अपरेसनको चाँजो पाँजो मिलाउँदै हस्याङफस्याङ गर्दै गरेको डाक्टर म “हैन बुवा, तपाईं किन बुझ्नुहुन्न ११ सबै लक्षण चेक जाँच गर्दा उसको आन्द्रा प्वाल परेको २२ घण्टा बितिसकेको र फोहोर पानीले शरीरमा शङ्क्रमण सुरु भइसकेको छ । प्रेसर घट्न थालिसक्यो । तुरन्तै अपरेसन भएन भने ज्यानको खतरा छ ।”

“अपरेसन गर्दा पनि ज्यान खतरा छ भन्नुभएको होइन त ?”

“हो ! जोखिम छ, तर अपरेसन भएन भने उस्को ज्यान जाने निश्चित छ । तुरन्तै अपरेसन भएमा ज्यान बचाउन सकिन्छ, जोखिमहरु भने यी यी हुन् । जुन भवितव्य हुन् ! नहुने सम्भावना बढी छ तर हुँदैन भन्न सकिन्न ! तर अपरेसन नगरे त ज्यान जाने पक्का नै हो । किन नमान्नुभएको ? समस्या के हो भन्नुस् त ?

भावविह्वल हुँदै ती लाचार बाबु बोल्छन् “पैसा छैन डाक्टर साब । हामी गरिब मान्छे !”

म भन्छु “धत् ! यस्तो कुराले पनि ज्यान जोखिममा राख्ने हो त ! हेर्नुस् यहाँ तपाईलाई कसैले पनि अहिले तत्कालै पूरा पैसा जम्मा गर भन्दैन । पैसा बिस्तारै खोज्दै गर्नुस्, मिलाउदै गर्नुस् । अपरेसन हुँदैगर्छ । नआतिनुस् । पैसो छैन भन्दैमा कुनै पनि बिरामीले यस अस्पतालबाट चाहिँ बिना उपचार फर्केर जान पर्दैन ।”

मेरो कुरा नपत्याएको, ठाऊँ ठाऊँका अस्पतालमा ढाड सेकिने गरी महँगा बिल र बेड चार्ज देखेको, तिरेको त्यही गरिब बाबू फेरि बोल्छ- “म गरिब मान्छे, डिस्काउण्ट मिलाइदिनस् न है उपचारमा !”

“अरे बाबा ! कति चिन्ता लिनुभएको !? अपरेसन चाहिँ ढिला नगरौँ ! ल यो भिडियो एक्सरे र यो रगत जाँचको बिल भर्नु पर्दैन अहिले !!  अरु पछि बिस्तारै मिलाउला ! तपाई पनि बिस्तारै भोलि पर्सितिर यता उता पैसा खोज्नुस् । हामी पनि यता मिलाउम्लँ १ अहिले भने अपरेसन शुरु गरौं ।”

(फोनमा ल्याब सँग… “सुन्नुस् न यो बिरामी सँग पैसो नै छैन । बिरामी सिरियस छ । तुरन्तै ओटी लान पर्ने । बिल नखोजी रिपोर्ट दिनुस् है ।”

रातीको २ बजे भिडियो एक्स्रे गर्न अस्पतालसम्म आएका अर्का डाक्टरसँग “सर हेर्नुस् न, पैसा नभएर अपरेसन नै नगर्ने रे । सर यो बिल नतिराम् है। ल, भइहाल्छ नि !!”

अघिसम्म होस् मरे पनि घरै लान्छु भन्ने बुबा अब भन्छ- “हस डाक्टर साब, मैले सहीछाप दिएँ । अपरेसन गर्दिनस् । तर मेरो एक्लो छोरो हो । म पनि अपरेसन हेर्न आउँछु है !”

धत् ! अपरेसन कोठामा त कहाँ आउन मिल्छ त । सङ्क्रमण फैलिन्छ । आदि इत्यादि । तपाईहरु यहिँ बस्नुस् । हामी खवर गरौँला ।”

४ घण्टे लामो अपरेसन पश्चात् अपरेसन कोठा बाहिर जाँदा…. घण्टौसम्म छट्पट छट्पट गर्दै , प्रार्थना गर्दै बसिरहेका त्यही बाबु बोल्छन्… कस्तो भयो ? होस् आयो ?? म हेर्न जाम् ???”

“पख्नुस् न पख्नुस् ! अपरेसन राम्रै भयो । होस आइसक्यो । अब आधा घण्टापछि तल वार्डमा सार्छौ त्यहि भेट्नुस् न है बुबा ।”

आँखाभरि आँसु पार्दै फेरि ती बाबु बोल्छन् “तपाईहरुलाई धैरै धन्यवाद !”

“हैन हैन यो त हाम्रो काम नै हो !”

चाहे मध्य रातको बाह्र बजोस् या झिसमीसे बिहानीको तीन !
चाहे हातमा पैसो होस् या खोज्नु परोस् ऋण !
केवल पैसो नभएको कारणले,
केवल गरिबिको कारणले,
ज्यान गुमाउनु पर्ने नआओस् कसैको दिन !!
यो मेरो मात्र होईन, यहाँको हरेक सर्जनको बोली हो,
म त केवल सेवक, यो अस्पतालले गरिबलाई दिने भोलि हो !!

सम्बन्धित खबर

Back to top button