राजनीति

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न नेताद्वारा श्रद्धाञ्जली

नेपाली कांग्रेसका दिवङ्गत नेता नविन्द्रराज जोशीको पशुपति आर्यघातमा अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिनुभएको थियो ।

अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उहाँको नीजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उहाँको पार्थिव शरिरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

स्व जोशीको शवलाई श्रद्धाञ्जलि दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा ९एमाले०का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।

विस २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।

मस्तिष्कघात हुनुभन्दा पहिले स्व नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आउनुभएको थियो । विसं २०७३ सालमा उद्योगमन्त्री बन्नुभएका नेता जोशी नेपाली कांग्रेसको १२ औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्व जोशीका श्रीमति र एक छोरी हुनुहुन्छ ।

शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औँ पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीको शुक्रबार उपचारका क्रममा निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गर्नुभएका उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.