विश्व समाचार

पक्राउ परेका जापानी नागरिकले जासुसी गरेको चीनको दाबी

जापानले आफ्ना एक नागरिकलाई रिहा गर्न आग्रह गरेपछि चीनले जासुसीको आरोपमा उनलाई हिरासतमा लिएको पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफ्ती आपराधिक कदम चालेका छन् ।”

माओले भन्नुभयो, “यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानूनको उल्लङ्घन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ ।”

उहाँले भन्नुभयो, “चीन विधिको शासन भएको देश हो । चीनमा रहेका सबै विदेशी नागरिकले चिनियाँ कानुनको पालना गर्नुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।”

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले सोमबार पत्रकारसँग कुरा गर्दै चीनस्थित टोकियोको दूतावासलाई ‘यसै महिना ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएको’ जानकारी दिइएको बताउनुभयो ।

उहाँले पक्राउ परेका व्यक्तिको पहिचान, उहाँको कथित अपराध वा उहाँ कहिले पक्राउ पर्नुभएको थियो भन्नेबारे कुनै विवरण दिनुभएन ।

मात्सुनोले भन्नुभयो, “हामीले यो घटनाबारे थाहा पाएदेखि नै जापानी सरकारले ती जापानी नागरिकलाई तत्काल रिहा गर्न जोडदार आग्रह गर्दै आएको छ ।” टोकियोले ती व्यक्तिसँग ‘कन्सुलर एक्सेस’को पनि माग गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.