जन सरोकार

सधैँ बल्झिरहन्छन् सीमा विवाद प्याराताल र ब्रह्मदेव क्षेत्रमा

कञ्चनपुरको पुर्नवास नगरपालिका–९ रहेको प्यारातालमा माछा मार्ने ठेक्का दिन थालेको साढे पाँच दशक भयो । नेपाली भूमिमा पर्ने प्यारातालको भारतीय भूमितर्फ दुधुवा नेश्नल पार्क पर्छ । वन्यजन्तुको पानीको प्यास मेटाउने भन्दै प्यारातालका २०३५ सालयता विवाद हुँदै आएको छ ।

भारतीय पक्षले विवाद खडा गरेयता पटक–पटक नेपाल–भारत संयुक्त सर्वे टोलीले नापजाँच गरेपछि सीमा विवाद भने अझै यथावत् छ । पुर्नवास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले सरकारले सीमा विवाद हल गर्न ध्यान नदिँदा सीमा क्षेत्रका नागरिकले अनावश्यक हैरानी खेप्नु परेको बताउनुहुन्छ ।

“हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही दिनयता प्यारातालबाट जलकुम्भी हटाउन सक्रिय रहेको थियौँ ।” वडाध्यक्ष जैसीले रासससित भन्नुभयो,“तर भारतीय एसएसबीले ताल भारतीय भूमिमा पर्ने दाबी गर्र्दै सफाइ गर्न दिएनन् ।” वडाध्यक्ष जैसीका अनुसार ताल भन्दा करिब ५०० मिटर वर (भारततर्फ) नेपाल–भारत मुख्य सीमा स्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।“

यतिका वर्ष बिते न ढलेको सीमा पिल्लर मर्मत भयो र नत तालको विवाद सुल्झियो ।” उहाँले भन्नुभयो,“हरेक पटक सीमा विवादमा नागरिकले थिचोमिचो सहिरहनुपर्ने? ।”

प्यारातालमा अघिल्लो वर्ष माछा पार्ने ठेक्का रु ५९ हजारमा दिए पनि गत वर्ष भने कोरोना महामारीका कारण स्थगन रहेको वडाध्यक्ष जैसीको भनाइ छ । चार हजार वर्गमिटरमा फैलिएको पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको ताल हो । जहाँ माछा, कटुवा, गोही लगायतका जलचर पाइने गरेको स्थानीयवाीको भनाइ छ ।

पुर्नवासपछि पाँच वर्षयता पुर्नवास नगरपालिकाकै आनन्द बजार नाकामा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरेयता सो क्षेत्रको सीमा विवाद अझै यथावत् छ । उक्त क्षेत्रमा गुल्लरको रुखलाई भारतीय पक्षले मुख्य सीमा स्तम्भ २०० नं मान्दै आएको स्थानीयवासीको भनाइ छ ।

यता बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा पनि हुलाकी सडक निर्माणमा भारतीय अवरोध छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पदमबहादुर मडैले लामो समयदेखि उक्त खण्डमा एक हजार ६०० मिटर हुलाकी सडक कालोपत्र रोकिएको बताउनुभयो । “त्यहाँ भारतीयले सीमा विवाद देखाएपछि रोकिएको सडक निर्माण अझै सुरु भएको छैन ।”

उहाँले भन्नुभयो–“ हामीले त्यो विषयमा सबैतिर पहल र पत्राचार ग¥यौं तर समस्या उस्तै छ ।”उहाँले उक्त क्षेत्रमा विवाद हुँदा जिल्ला प्रशासन कार्यालयबाट काम रोक्न मौखिक रुपमा जानकारी आएको बताउनुभयो । खुल्ला सीमानाका भए पनि पछिल्लो केही वर्षयता नाका सशस्त्र प्रहरी बलको सक्रियता भने बढेको छ ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्णा गिरी मेलालाई लक्षित गरी स्थानीयवासीले व्यापारका लागि राख्न थालेको छाप्रा राख्न नदिएपछि विवाद भएको छ । नेपाली बजार ब्रह्मदेव नजिक स्थानीयवासीले टहरा बनाएर लामो समयदेखि मेलाका बेला व्यापार गर्दै आएका थिए । तर विवाद भूमि भन्दै एसएसबीले व्यापारका लागि खटियालगायतका सामान राख्न नदिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उक्त क्षेत्रमा पनि मुख्य सीमा स्तम्भ लामो समयदेखि हराइरहेको अवस्था छ । ब्रह्मदेवका स्थानीयवासीले सो क्षेत्रको मुख्य सीमा स्तम्भ महाकाली नदीमा पर्ने बताउँदै आएका छन् । केही वर्षअघि भारतीय पक्षले सडक कालोपत्र बनाउँदासमेत विवाद भएको थियो ।

सो क्षेत्रमा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले विवाद क्षेत्र भन्दै संरचना निर्माणदेखि कुनै पनि गतिविधि गर्न दिदैन् । विवाद भएको ठाउँमा तत्काल संयुक्त सर्वे टोली पठाएर हल गर्नुका साटो सरकारले अन्तर्राष्ट्रिय सिमाना विवाद समाधानका लागि कुनै चासो नदिएको स्थानीयवासीको आरोप छ ।

यता सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले पछिल्लो समय प्याराताल र ब्रह्मदेव क्षेत्रमा देखिएको विवाद स्थानीयस्तरबाट छलफलका माध्यमबाट समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

“प्याराताल र ब्रह्मदेव दुवै क्षेत्रमा समस्या समाधानका लागि हामी र एसएसबीबीच निरन्तर समन्वय र छलफल भइरहेको छ ।” सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नुभयो–“ ब्रह्मदेवमा व्यापार गर्ने दिने विषयमा आज केही टुङ्गो लाग्न सक्छ ।”

उहाँले विवाद भएको स्थानमा सर्वे टोली पठाएर समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरीले सीमा नाकामा आफ्नो उपस्थिति बढाउँदै लगेको उहाँको भनाइ थियो ।“सीमा नाकामा मात्रै अहिले २६ स्थानमा सशस्त्रका पोष्ट छन् ।” उहाँले भन्नुभयो,“सीमाको विषय माथिल्लो तहबाट दीर्घकालीन समाधान खोज्नुको विकल्प छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.