राजनीति

अत्यावश्यक सेवा प्रभावकारी पार्ने गरी लकडाउन एक हप्ता बढाउने तयारी

नेपालमा कोरोना संक्रमितहरु धमाधम भेटिन थालेपछि सरकारले लकडाउन अर्को एक हप्तासम्म बढाउने तयारी गरेको छ । अहिलेको लकडाउन चैत १८ गते मंगलबार विहान ६ बजेसम्म कायम रहनेछ ।

गत सोमबार नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । संक्रमितहरु बढ्न थालेपछि लकडाउनको अवधि थप्ने निर्णय हुने एक मन्त्रीले बताएका छन् ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना पनि बनाएको छ ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.