बिचार

राम अवतार र रामायण कथा कति सत्य, कति मिथ्या ?

कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ ।

का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला र कथित शूद्र माथिका उत्पीडनहरू र वर्तमानकालमा पनि भएगरेका मिथ्या चेतनाको रूपहरूबारे विस्तृत रूपले प्रकाश हाल्नुभएको छ । उहाँले गरेको त्यस प्रकारको व्याख्याबाट अध्यात्मवाद कति मिथ्या चेतनामाथि आधारित छ र त्यसको स्वरूप पनि कति धेरै समाज विरोधी छ ? त्यो कुरामा कुनै शंका रहन्न ।

उहाँले ईश्वरसम्बन्धी मिथ्या धारणाको चर्चा गर्दै अवतारवादको पनि चर्चा गर्नुभएको छ । उहाँले ईश्वरसम्बन्धी मान्यताको चर्चा गर्दै त्यो मान्यता राजाको उत्पत्तिसित जोडिएको बताउनुभएको छ । त्यसबारे व्याख्या गर्दै त्यो अवधारणा पत्रमा लेखिएछ “समाजमा परमेश्वरसम्बन्धी मान्यताको उत्पत्ति र विकास मुख्यतया आदिमकालीन सङ्घको सामुदायिक जीवन या ‘यज्ञाग्नि’ आधारित सामाजिक जीवन विघटित भएर जब व्यक्तिगत सम्पत्तिमा आधारित ‘गुह्याग्नि’ को जीवन प्रारम्भ भयो । यस अवस्थामा सो व्यक्तिगत सम्पत्तिको प्रचलनलाई सुदृढ पार्न राज्य संस्थाको उत्पत्ति भयो । सोही राज्य संस्थाको प्रमुखलाई सबैको रक्षकका रूपमा स्थापित गरियो। सोही राज्य प्रमुख जसले विघटित सङ्घीय जीवनको औचित्य र व्यक्तिगत प्रभुत्वमा आधारित व्यक्तिवादी विचारलाई प्रमुख रूपमा स्थापित गर्न सक्यो । त्यसलाई देवत्वका रूपमा स्थापित गरियो । देवता भनेको सर्वसाधारणभन्दा अलि माथि उठेको व्यक्तिलाई मानिन्छ । सुरुको मानिस देवता जब राज्यसत्ताको प्रमुख बन्यो सो देवता सामन्तवादी उत्पादन पद्धतिको विकास भएको अवस्थामा परमेश्वर (ईश्वर) का रूपमा स्थापित भयो। यसरी राज्यसत्ताको प्रमुख भएपछि त्यसले जोसुकैलाई कृपा प्रदान गर्न सक्ने भयो । त्यसलाई लाभ पु¥याउन सक्ने भयो र आफ्ना विरोधीहरू र मन नपरेकाहरूलाई घोर रूपमा दण्ड दिन सक्ने भयो, कसैलाई यातनागृह (नरकहरू) मा लगेर यातना दिने भएपछि त्यसले ईश्वरको रूपधारण गर्न पुग्यो । यसै प्रकारको ईश्वरलाई अझै प्रबल स्वरूप प्रदान गर्नका लागि अवतारवादको जन्म भयो । यसै अवतारवादलाई संपुष्ट गर्नका लागि अनेकौँ पौराणिक साहित्यकारहरूको लेखन, श्रवण र प्रचार भयो ।”

भारतका धर्मग्रन्थहरूमा विष्णुका दशवटा अवतारहरूको चर्चा गरिएको छ । तिनीहरूमध्ये अहिलेसम्म नौ वटा अवतारहरू भइसकेको र दशौं कल्की अवतार हुन बाँकी रहेको बताइन्छ । यहाँ हामीले ती दश अवतारहरूको चर्चा नगरेर विष्णुको सातौं अवतार बताइएको राम अवतारको मात्र चर्चा  गर्दछौँ ।

गोपीरमणजीले आफ्नो अवधारणापत्रमा भौतिकवाद र अध्यात्मबारे जुन प्रश्नहरू उठाउनुभएको छ रामका विषयमा पनि जुन चर्चा गर्नु भएको छ । विस्तृत र गहन अध्ययनको विषय हो । संसारका विभिन्न भाषामा त्यसबारे हजारौँ ग्रन्थहरू लेखिएका छन । त्यसबारे विभिन्न प्रकारका मतमतान्तर पनि छन् । संसारभरि नै त्यसबारे विस्तृत रूपमा छलफल मात्र चल्दै आएको छैन, त्यसका आधारमा विश्वभरि नै ठूलठूला आन्दोलन, क्रान्ति र प्रतिक्रान्ति वा विश्वव्यापी उथलपुथल पनि हुँदै आएका छन् । भारतीय दर्शनमा पनि त्यससम्बन्धी धेरै सामग्रीहरू छन् र त्यसबारे शताब्दियौँदेखि धेरै विवादहरू चल्दै आएका छन् । तर यो सानो लेखमा तिनीहरूको एउटा अंश राम र रामायणबारे मात्र केही प्रकाश हाल्ने प्रयत्न गरिने छ । त्यसबाट पनि हिन्दू दर्शन वा अध्यात्मवाद कति मिथ्या र अवैज्ञानिक धारणाहरूमाथि आधारित छ ? त्यो बुझ्न केही मद्दत पुग्नेछ ।

विष्णुका दश अवतारहरूमध्ये रामको नै सबैभन्दा बढी महत्त्व रहेको छ भने पनि फरक पर्ने छैन। जनमानसमा, भारतमा मात्र होइन, संसारका धेरै भागहरूमा रामको जति धेरै प्रचार भएको छ, त्यति अन्य कुनै अवतारको भएको छैन। त्यसरी राम भारतीय दर्शन वा धर्मका आधारशिला नै बनेका छन् भने पनि फरक पर्ने छैन ।

रामलाई प्रतिष्ठापित गर्ने कार्य मुख्य रूपमा वाल्मीकिको रामायणद्वारा नै भएको छ । संसारका विभिन्न भाषाहरूमा धेरै महाकाव्यहरू लेखिएका छन् । तर यस अर्थमा रामायण संसारका अन्य महाकाव्यहरूभन्दा बेग्लै छ, भारत र हिन्द चीनका देशहरूसमेत गरेर करिब १ हजार रामायणहरू लेखिएको बताइन्छ । कतिपय लेखकहरूले तिब्बत र मंगोलियासम्ममा रामायण लेखिएको बताएका छन् । यहाँ उल्लेखनीय कुरा यो छ कि ती बेग्लाबेग्लै रामायणहरू खालि वाल्मीकि रामायणका अनुवाद वा बेग्लाबेग्लै भाषाका संस्करणहरू मात्रै होइनन् । ती बेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी कथाहरू पनि कैयौँ रूपहरूमा बेग्लाबेग्लै छन् । सायद संसारको अन्य कुनै महाकाव्यको यति व्यापक र विविध रूपमा प्रचार भएको छैन ।

रामायणका विषयमा विश्वका धेरै विश्वविद्यालयहरूमा अध्ययन वा अनुसन्धान पनि हुने गरेको वा पीएचडीका सोधपत्रहरू पनि लेख्ने गरिएका छन् । रामायणको विषयमा भारतबाहेक हिन्द चीनका देशहरूमा कैयौँ मेला वा सांस्कृतिक पर्वहरू पनि प्रचलित छन् । त्यसप्रकारको पृष्ठभूमिमा रामायणसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सङ्ग्रहालय नै स्थापना गरियो भने त्यो संस्कृतिक, साहित्यिक वा ऐतिहासिक दृष्टिकोणले समेत अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय कार्य हुनेछ । त्यसमा संसारका सबै भाषाहरूमा प्रकाशित रामायणहरू, तिनीहरूका पाण्डुलिपिहरू संसारका विभिन्न देशहरूमा विभिन्न रूपले सम्पन्न हुने रामलीलाका कार्यक्रमहरूका भिडियोहरू, प्रदर्शन कक्ष, अध्ययन र अनुसन्धान कक्षहरू आदि राख्न सकिनेछ ।

रामायणद्वारा रामको विश्वव्यापी रूपमा प्रचार भयो । किनभने त्यो एउटा महान् संस्कृतिक कृति हो र त्यससँग जोडिएका अन्तर्राष्ट्रिय स्तरका संस्कृतिक पक्षहरूले कैयौँ दृष्टिकोणले महत्त्वपूर्ण स्थान राख्दछ । ती सबैको अध्ययन वा जानकारीका लागि रामायणसम्बन्धी अन्तर्राष्ट्रिय सङ्ग्रहालयले महत्त्वपूर्ण योगदान दिन सक्नेछ । तर त्यसप्रकारको सङ्ग्रहालय कहाँ, कसरी र कसले स्थापित गर्ने वा त्यसप्रकारको कार्य सम्पन्न गर्नु सम्भव छ वा छैन ? त्यो, यो लेखको विषय होइन । यो लेखले त खालि रामायणसित जोडिएको सांस्कृतिक महत्त्वमाथि नै प्रकाश हाल्ने प्रयत्न गरेको छ ।

कुनै साहित्यिक कृति इतिहास हुँदैन, यद्यपि इतिहाससम्बन्धी कैयौँ विषयहरूको त्यसमा समावेश भएको हुन सक्दछ । त्यसमा लेखकका कल्पनाहरू पनि जोडिएका हुन सक्दछन् वा जोडिन्छन् नै । तर कल्पनाहरू जोडिएको हुनाले नै कुनै साहित्य कृतिलाई गलत भन्न सकिन्न । किनभने कल्पनाहरू कुनै साहित्य कृतिका सधैँ नै महत्त्वपूर्ण अंशहरू हुन्छन् । तर कुनै साहित्य कृतिमा जोडिएका कल्पनाहरूलाई साहित्यिक रूपमा नै लिनुपर्दछ, यद्यपि, तिनीहरूलाई सत्य मान्ने सोचाइहरू पनि आमरूपमा पाइन्छन् । युनानका महाकाव्यहरूमा समावेस गरिएका कैयौँ कल्पनाहरूलाई त्यहाँ सत्य मान्ने गरिन्छ वा ती महाकाव्यहरूमा उल्लेख गरिएका देवीदेवताहरूलाई पनि सत्य मान्ने गरिन्छ । त्यसप्रकारका अवधारणाहरू अन्य कैयौँ देशहरूमा पनि पाइन्छन् । त्यही कुरा रामायणका सन्दर्भमा पनि सत्य हो। रामायण कुनै ऐतिहासिक कृति नभएर साहित्यिक कृति हो । त्यसैले रामायणमा पनि कैयौँ कल्पनाहरूको समावेश गरिएको छन् । त्यो एउटा साहित्यिक कृति भएको हुनाले र त्यसमा कैयौँ कल्पनाहरूको समावेश गरिएको हुनाले अन्य लेखकहरूले पनि आफ्ना बेग्लाबेग्लै कल्पनाहरू समावेश गरेर बेग्लाबेग्लै रामायणहरू लेख्ने गरेका छन् । त्यसैले रामायणहरूको सङ्ख्या १ हजारभन्दा बढी पुग्न गएको हो ।

सर्वप्रथम रामको कालबारे नै विचार गरौं। त्यसमाथि विचार गर्दा रामसम्बन्धी मूल धारणा सम्पूर्ण रूपले मिथ्या भएको कुरामा कुनै शंका रहन्न ।

हिन्दू ग्रन्थहरूमा रामको काल त्रेता युगको अन्त्यतिर भएको बताइएको छ। त्रेता युगको सम्पूर्ण काल १२ लाख ९६ हजार बताइएको छ । त्रेता युग पछि द्वापर युगको काल ८ लाख ६४ हजार र कलियुगको ४ लाख ३२ हजार बताइएको छ, जसमध्ये अहिलेसम्म करिब ५ हजार वर्षभन्दा केही बढी समय बितेको बताइन्छ । त्यसरी हिसाब गर्दा रामको काल करिब २४÷२५ लाख पहिलेको हुन जान्छ । यो ढुङ्गे युगको काल थियो, ढुङ्गे युगको पनि पुरानो ढुङ्गे युगको काल ।

त्यसैले त्यो बेला गाउँ, शहर, भाषा, लिपि आदिको निर्माण नै भएको थिएन् । पशुपालन र कृषि युगको प्रारम्भ करिब १० देखि १५ हजार वर्ष पहिले मात्र भएको थियो । त्यसैले जुन काललाई रामको काल भनिन्छ, त्यो बेला घुमन्ते युग थियो र, त्यसैले, त्यो बेला अयोध्या, जनकपुर, लङ्का आदि जस्ता शहरहरू अस्तित्वमा नै आएका थिएनन् । कतिपय मानिसहरूले नेपालको चितवनमा अयोध्या र त्यसका नजिकै वाल्मीकिको आश्रम भएको कुरा पनि प्रमाणित गर्ने प्रयत्न गरिरहेका छन् । जस्तोकि पहिले पनि भनियो, त्यो काल ढङ्गेकालीन भएको हुनाले विश्वमा कतै पनि गाउँ वा शहर बनेका थिएनन् वा अयोध्या, जनकपुर, लङ्का जस्ता शहरहरू कतै पनि अस्तित्वमा आएका थिएनन् भने नेपालको चितवनमा अयोध्या भएको र त्यहाँ रामको जन्म भएको कल्पनाको नै आधार नभएको कुरा प्रस्ट छ ।

जेहोस्, त्यो बेला राम, सीता वा रावणको जन्म हुनु वा वाल्मीकिले रामायण लेख्नु सम्भव नै थिएन । तैपनि वाल्मीकिले रामायण महाकाव्य लेखेको कुरा सत्य हो। तर वाल्मीकिले रामायण कहिले लेखेका हुन् ? त्यसबारे धेरै नै विवाद छ । त्यसबारे सबैभन्दा बढी विवाद बौद्धमार्गीहरूसित छ ।

बौद्ध मार्गीहरूको यो दावी छ कि रामायणको रचना सिद्धार्थ गौतमको कालभन्दा पछि भएको थियो । बौद्धमार्गीहरूले दशरथ जातक कथामा रामको कथाको वर्णन गरेका छन् । वाल्मीकि कृत रामायणमा गौतम बुद्धको उल्लेख मात्र गरिएको छैन, उनको धेरै आलोचना पनि गरिएको छ । वाल्मीकि रामायणमा रामको आलोचना गरिएको कुराबाट रामायणको रचना आधुनिक कालमा र सिद्धार्थ गौतमको कालभन्दा पछि गरिएको हो भन्ने कुरा थाहा हुन्छ । वाल्मीकि रामायणमा गौतम बुद्धलाई चोर, राक्षस आदि जस्ता तल्लो स्तरका शब्दावलीद्वारा गाली गरिएको छ। त्यसमा यो पनि लेखिएको छ, जसरी चोर दण्डनीय हुन्छ, त्यही प्रकारले बुद्धलाई पनि सजाय गर्नुपर्दछ ।

हिन्दू धर्म ग्रन्थहरूमा वेद वा हिन्दू धर्मलाई नमान्ने जातिहरूलाई यक्ष, राक्षस, शूद्र आदि शब्दहरूद्वारा भत्र्सना गर्ने गरिएको छ । त्यसअनुसार खस, किन्नर आदिलाई पनि यक्ष, राक्षस, शूद्र आदि भनेर आलोचना गरिएको छ । त्यही दृष्ट्रिकोणअनुसार गौतम बुद्धले पनि ईश्वर, देवी–देवता, हिन्दू धर्म आदि नमान्ने भएको हुनाले उनी माथि पनि त्यही प्रकारको आक्षेप लगाउने गरिएको छ । पछि हिन्दूहरूले उनलाई हिन्दुकरण गरेर उनलाई (गौतम बुद्धलाई) विष्णुका नवौं अवतार बताएर प्रतिष्ठापित गरेका छन् । गैरवैदिक धर्मावलम्बीहरूलाई वैदिकीकरण गर्ने हिन्दूहरूको त्यो दृष्ट्रिकोण शिवबारे पनि अपनाएको बताइन्छ । कतिपय शोधकर्ताहरूले यो बताएका छन् कि शिव किरातहरूका देवता थिए। त्यसैले उनको नाम किरातेस्वर रहेको थियो । हिन्दूहरूले किरातहरूलाई राक्षस, यक्ष आदि भनेर आलोचना गरेको हुनाले उनीहरू (हिन्दूहरू) का लागि महादेव पनि अवैदिक देवता थिए। तर पछि उनीहरूले महादेवलाई विष्णु, व्रस्ना सरह प्रतिष्ठापित गरेका थिए ।

जुन बेला रामायण लेखियो, त्यो बेला हिन्दू र बौद्धहरूको बीचमा ठूलो सङ्घर्ष चलिरहेको थियो । त्यसैले उनीहरूले गौतम बुद्धलाई चोर, राक्षस जस्ता शब्दहरूले सम्बोधन गरेका थिए। उनीहरूले बौद्धमार्गीहरूलाई राक्षस बताएका थिए । त्यसरी हिन्दूहरूको बौद्धमार्गीहरूसितको तीव्र सङ्घर्षको कालमा नै रामायणको रचना गरिएको थियो र त्यसको मुख्य उद्देश्य राक्षसहरूमाथि प्रहार नै थियो ।

रामायण महाकाव्यको कथाको सार रामद्वारा लङ्कामाथि आक्रमण र रावणको वध नै हो। त्यो बेला लङ्कामा बौद्ध धर्मको धेरै नै प्रभाव थियो र अहिले पनि त्यो प्रभाव छ । लङ्कामा बौद्धमार्गीहरूको प्रभाव भएको हुनाले नै त्यहाँका बासिन्दालाई राक्षस बताइएको थियो र रामायणलाई राक्षसको राजा। बौद्ध ग्रन्थहरूमा रावणलाई बौद्ध भिक्षु र लोकप्रिय राजा बताइएको छ । भारत वर्षमा जहाँ बौद्ध भिक्षुहरूका बस्तीहरू थिए, त्यहाँका बौद्ध भिक्षुहरूलाई पनि राक्षस बताएर रामद्वारा तिनीहरूको संहार गरिएको थियो ।

रामायणमा गौतम बुद्धको आलोचना गरिएका कुराहरूबाट दशरथ जातक कथाभन्दा पछि नै रामायण लेखिएको कुरा ता प्रस्ट नै हुन्छ । वाल्मीकिले रामायण लेखेको कुरा सत्य हो। उनले कतिपय किंवदन्ती, दन्त्य कथा वा कुनै ऐतिहासिक घटना र कथनका आधारमा त्यो महाकाव्यको रचना गरेका हुन सक्दछन् । बौद्धमार्गीहरूले दावी गरे जस्तै दशरथ जातक कथाबाट पनि उनले रामसम्बन्धी प्रसङ्गहरू लिएका हुन सक्दछन् । प्राचीनकालका वा आदिमकालका पनि कैयौँ साहित्यिक कृतिहरूमा त्यसप्रकारका विधिहरूको प्रयोग गरिएको हुन्छ । त्यही कुरा रामायणका सन्दर्भमा पनि सत्य हो ।

रामायणमा उल्लेख गरेका विभिन्न शहरहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण शहर अयोध्या नै हो। तर, प्रथमतः जुन त्रेता युगमा अयोध्या शहर भएको बताइन्छ, त्यो बेला ढुङ्गेयुगीनकाल भएको हुनाले कुनै शहर नै बनेका थिएनन् । त्योबाहेक जुन ठाउँमा अहिले अयोध्या शहर छ, त्यो शहरको अयोध्या नाम पनि धेरै पछि रहेको हो । अहिले जुन ठाउँमा अयोध्या शहर छ, त्यसको नाम पहिले साकेत थियो । त्यसैले श्रीमद्भागवत, स्कन्दपुराण र मत्स्यपुराण आदि ग्रन्थहरूमा प्राचीन तीर्थहरूको नामको उल्लेख गर्दा अयोध्याको कतै उल्लेख गरिएको छैन । कतिपय इतिहासकारहरूले बताए अनुसार इसाको पाँचौँ शताब्दीमा स्कन्द गुप्तले साकेतको नाम अयोध्या राखे र त्यसलाई आफ्नो राजधानी बनाएका थिए । त्यसबाट पनि पहिलेको साकेत शहरको नाम अयोध्या राखिएपछि नै रामायण लेखिएको कुरामा कुनै शंका  रहन्न ।

रामायणका राम पूरै काल्पनिक पात्र हुन् । तर गौतम बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुन् । तर उनका पिताको राजधानी कहाँ थियो वा उनको जन्म कहाँ भएको थियो ? त्यसबारे कैयौँ विवादहरू पाइन्छन् । कुनै महत्त्वपूर्ण व्यक्ति आफ्नो इलाकामा जन्मेको भनेर दावी गर्ने प्रवृत्तिहरू धेरैतिर पाइन्छन् । त्यही कुरा गौतम बुद्धबारे पनि सत्य हुन सक्दछ । भारतका कैयौँ स्थानहरूलाई तिलौराकोट वा लुम्बिनी भनेर दावी गर्ने पनि गरिएको छ । एउटा शोधकर्ताले उडिसाको भुवनेश्वरमा नै तिलौराकोट र लुम्बिनी भएको भनेर पिएचडीको एउटा शोधपत्र पनि लेखेका छन् । तैपनि ऐतिहासिक, पुराताŒिवक अध्ययन वा अनुसन्धानद्वारा त्यसबारे सही निष्कर्ष निकाल्न सकिन्छ । त्यस प्रकारको अध्ययन र अनुसन्धानका आधारमा तिलौराकोट उनको पिताको राजधानी भएको र लुम्बिनीमा उनको जन्म भएको कुरा प्रमाणित भइसकेको छ । तर रामको जन्मभूमि अयोध्या भएको कुराको कुनै ऐतिहासिक वा पुराताŒिवक प्रमाण पाइन्न । उनको कालमा कुनै गाउँ वा शहरहरू नै बनेका थिएनन् भने उनको जन्म वा अस्तित्वसित सम्बन्धित कुनै ऐतिहासिक वा पुराताŒिवक प्रकारको अध्ययन वा अनुसन्धान हुन सक्ने कुरा नै भएन । रामसम्बन्धी कतिपय मूर्ति वा स्मारकहरू पाइए पनि ती २०–२५ लाख वर्ष पहिलेका होइनन् ती धेरै पछिका हुन सक्दछन् ।

राम एउटा काल्पनिक पात्र हुन् तर त्यसको अर्थ उनी सम्पूर्ण रूपले काल्पनिक पात्र हुन भन्ने होइन । कुनै पनि साहित्यका काल्पनिक पात्रमा यथार्थताको पनि ठूलो अंश रहेको हुन्छ । कुनै पनि साहित्यमा कुनै खास बेलाको समाजको असर परेको हुन्छ । निश्चय नै त्यो कुरालाई हामीले यान्त्रिक रूपले लिनु हुँदैन। समाजमा कैयौँ प्रकारका विचार वा अन्तर्विरोधहरू हुन्छन् ।

लेखकहरूका पनि बेग्लाबेग्लै प्रकारका विचार वा मान्यताहरू हुन्छन् । बेग्लाबेग्लै देश, काल वा लेखकहरूका बेग्लाबेग्लै विचारहरूको असर साहित्यिक कृतिहरूमा पनि पर्दछ । त्यही प्रकारले वाल्मीकिले जुन कालमा रामायण लेखे वा उनका जुन प्रकारका विश्वास वा मान्यताहरू थिए, ती सबैको असर उनको कृति वा उनका पात्रहरूमा पनि परेको छ ।

कुनै पनि साहित्यकारले रचना गरेका पात्रहरू स्वतन्त्र हुँदैनन् । उनीहरूका गतिविधिहरू लेखकका इच्छा वा विचारहरूअनुसार नै सञ्चालित हुन्छन् । त्यस अर्थमा नै कुनै साहित्यिक रचना, त्यसका पात्रहरू वा उनीहरूका गतिविधिहरूमा यथार्थता हुन्छ भनिएको हो । त्यही कुरा रामायण तथा त्यसका पात्रहरू राम, सीता वा रावणहरूबारे समेत सत्य हो ।

वाल्मीकि रामायणमा रामलाई पुरुषोत्तम रामका रूपमा चित्रण गरिएको छ । उनलाई त्यस रूपमा चित्रण गर्नुको अर्थ त्यो बेलाका हिन्दू आदर्शहरूको रूपमा नै उनलाई चित्रण गर्नु हो। कुनै व्यक्तिलाई आदर्श व्यक्तिका रूपमा चित्रण त्यो बेलाका आदर्श मान्यताहरूका आधारमा नै गरिन्छ । त्यो बेलाका हिन्दू धर्मका श्रेष्ठ गुणहरूका आधारमा नै उनलाई पुरुषोत्तम भनिएको हो ।

बेग्लाबेग्लै समाज वा धर्मका आदर्श वा मान्यताहरू बेग्लाबेग्लै प्रकारका हुन्छन् । हिन्दू धर्मका मान्यताहरूका आधारमा रामलाई पुरुषोत्तम बताइयो । तर बौद्ध धार्मिक मान्यताहरूका आधारमा रावण आदर्श व्यक्ति थिए । कम्युनिस्टहरूका लागि माक्र्स, एंगेल्स आदर्श व्यक्तिहरू हुन् तर त्यही कुरा पुँजीपतिहरूका लागि स्वीकार्य हुँदैन ।

एउटै पात्रलाई पनि बैग्लाबेग्लै राजनीतिक, सामाजिक वा सांस्कृतिक मान्यताअनुसार बेग्लाबेग्लै प्रकारले प्रशंसा वा निन्दा गरिएको हुन सक्दछ । रामायणमा रामलाई पुरुषोत्तम बताइएको भए पनि सबै समाज वा धर्मका लागि उनी आदर्श व्यक्ति हुन सक्दैनन् । हिन्दूहरूका लागि रावण राक्षस थिए। तर बौद्धहरूका लागि उनी एउटा बौद्ध भिक्षु र जैनहरूका लागि जैन दिगम्बर थिए ।

राम एउटा काल्पनिक पात्र थिए भन्ने कुरा उनको त्रेता युगमा जन्म भएको, भनेर लेखिएको कुराबाट नै प्रस्ट हुन्छ । तर गौतम बुद्ध एउटा ऐतिहासिक र लौकिक व्यक्ति थिए । तैपनि उनका विषयमा कैयौँ कल्पनाहरू जोडिएका छन् र उनको दैवीकरण पनि गरिएको छ । त्यो दैवीकरणको प्रक्रिया यो हदसम्म अगाडि बढेको छ कि कुनै बेला हिन्दूहरूद्वारा चोर, राक्षस वा यक्ष भनेर निन्दा गरिएको व्यक्तिलाई

विष्णुको नवौं अवतारसम्म बताइएको छ । गौतम बुद्धबारे त्यस प्रकारका एदम विपरीत र काल्पनिक विचारहरू खालि हिन्दूहरूले मात्र प्रकट गरेका छन् भन्ने होइन, प्रथमतः हिन्दूहरूको अवतारवादको दृष्टिकोणको अनुसरण गर्दै गौतम बुद्धभन्दा पहिले कैयौँ बुद्धहरूको अवतार भएको बताइएको छ । उनको जन्मको समयमा ब्रह्माले हात थापेको, उनी जन्मनेबित्तिकै सात पाइला हिँडेको र उनले टेकेका पाइलाहरूमा कमलका फूलहरू फुलेका जस्ता कुराहरू पनि बताइएको छ। गौतम बुद्धले ईश्वर, देवी–देवता आदिलाई मान्दैनथे । तर पछि उनका शिष्यहरूले नै उनलाई ईश्वरका रूपमा प्रतिष्ठापित गरे ।

हिन्दू धार्मिक ग्रन्थहरूमा सीताको जन्मबारे बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । उनका बारेमा सबैभन्दा बढी प्रचलित कथा एउटा यज्ञको सिलसिलामा राजा जनकले भूमिपूजाका लागि जमिन खन्दा सीता फेला परेको भन्ने छ । एउटा रामायणमा रावणकी जेठी पत्नीबाट सीताको जन्म भएको बताइएको छ । त्यसपछि एउटा ज्योतिषीले त्यही छोरीका कारणले उनको मृत्यु हुने भविष्यवाणी गरेपछि रावणले सीतालाई एउटा बाकसमा हालेर समुद्रमा बगाइदिएको बताइएको छ । त्यो वाकस बग्दै–बग्दै जनकपुर पुग्यो र त्यहाँ जमिन खन्दा जनक राजाले सीतालाई फेला पारेका थिए । लङ्कामा समुद्रमा फालिएकी सीता बग्दै बग्दै जनकपुरमा पुग्नु अत्यन्त काल्पनिक र भौगोलिक दृष्ट्रिकोणले सम्भव नै नहुने कुरा हो ।

अद्भुत रामायणमा रावणले ऋषिहरूलाई मारेपछि उनीहरूको रगत एउटा घडामा हालेर श्रीलङ्कामा लगेको बताइन्छ । उनले त्यो घडामा विष छ भनेर आफ्नी पत्नी मन्दोदरीलाई राख्न दिएका थिए । एक पल्ट भ्रमणमा गएको रावण लामो समयसम्म नफर्के पछि मन्दोदोरीले आत्महत्या गर्नका लागि त्यो विष पिएकी थिइन् र त्यसबाट उनलाई गर्भ रह्यो ।

आफ्नो पति घरमा नभएको बेलामा गर्भ रहेको थाहाँ पाएपछि उनलाई ठूलो पीर प¥यो । त्यसपछि उनले त्यो भ्रूणलाई जमिनमा गाड्न पठाइन् । पछि जनकले जमिन खन्दा त्यही भ्रूणबाट जन्मेकी सीतालाई फेला पारेका थिए । जनक राजाकी कुनै छोरी नभए पछि उनले आकाशतिर फर्केर छोरीको कामना गरेका थिए । त्यसपछि मेनका उनकी छोरी सीता भएर जन्मेकी थिइन् भन्ने पनि एउटा कथन छ ।

यो कुराको माथि नै उल्लेख भैसकेको छ कि भारत र हिन्द चीन समेत गरेर १ हजारभन्दा बढी रामायणहरू लेखिएका छन् । ती रामायणहरूमा काक भुसुण्डी रामायण, अद्भुत रामायण, अध्यात्म रामायण, आनन्द रामायण, रामचरित्र मानस, हनुमान पुराण भानुभक्त रामायण आदि आउँछन् । ती बेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी बेग्लाबेग्लै कथाहरू बताइएका छन् । जैन धर्मग्रन्थमा रामलाई जैन अवतार बताइएको छ ।

त्यसैले उनी अहिंसावादी भएको हुनाले रावणको वध रामले नगरेर लक्ष्मणले गरेको बताइएको छ । बौद्ध ग्रन्थमा सीतालाई रामलक्ष्मणकी बहिनी बताइएको छ । त्यसमा राम, लक्ष्मण र सीता वनवास जाँदा श्रीलङ्का नगएर हिमालय तिर गएको बताइएको छ । त्यसमा राम, रावण युद्ध जस्तो कुनै कुराको पनि उल्लेख छैन् । त्यसमा वनवासबाट अयोध्या फर्केपछि रामले सीतासित विवाह गरेको बताइएको छ ।

लाओसको रामायणमा छेपाराहरूले लङ्का जाने पुल बनाइदिएको बताइएको छ । थाइल्यान्डको रामायण (रामकृति) मा रावणको आत्मा उनको गुरु कहाँ रहेको र हनुमान््ले कुशलतापूर्वक त्यो आत्मालाई ल्याएपछि नै रामले रावणलाई मार्न सकेको बताइएको छ । श्रीलङ्कामा पनि राम कथा निकै लोकप्रिय छ तर त्यसमा रामको सट्टा रावणलाई नायकका रूपमा देखाइएको छ । मलायाको रामायणमा मुख्य भूमिका लक्ष्मणको भएको बताइएको छ । त्यसमा हनुमान्् ब्रह्मचारी नभएको कुरा पनि बताइएको छ ।

रामले सीतालाई परित्याग गरेको विषयमा पनि बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । थाइल्यान्डको रामायणमा अयोध्या फर्केपछि सीताले रावणको एउटा चित्र बनाएको हुनाले रामले उनलाई परित्याग गरेको बताइएको छ । पद्म पुराणमा त्यसबारे बेग्लै प्रसङ्गको चर्चा गरिएको छ । त्यसमा लेखिएको छ, आफ्नो बाल्यकालमा सीताले दुइटा भाले–पोथी सुगाहरू समातेकी थिइन् । पोथी सुगाको गर्भमा बच्चा थियो पछि उनले भाले सुगालाई छाडिदिइन्, तर पोथी सुगालाई छाडिदिइनन् । पत्नीसितको वियोगको कारणले भाले सुगाले प्राणत्याग ग¥यो । आफ्नो प्राणत्याग गर्ने बेलामा त्यो सुगाले सीतालाई यो श्राप दिएको थियो : ’तिम्लाई पनि गर्भवती भएको बेलामा तिम्रा पतिले त्यागिदिनेछन् ।’

रामद्वारा सीतालाई परित्याग गरेको विषयमा सबैभन्दा प्रचलित कथन यो छ रावणले अपहरण गरेर लगेकी पत्नीलाई फेरि ल्याएर राखेको भनेर जनताले उनीमाथि आक्षेप लगाएका थिए । त्यसैले रामले सीतालाई परित्याग गरेका थिए ।

अद्भुत रामायणमा सीतालाई कालीका रूपमा चर्चा गरिएको छ । त्यसमा रावणको हजार शिर भएको र त्यसले युद्धमा राम, लक्ष्मण, हनुमान््सहित सबै वानर सेनालाई मूर्छित बनाइदिएको कुराको उल्लेख गरिएको छ । त्यसपछि सीताले कालीको रूप धारण गरेर रावणसहित त्यसका सबै सेनालाई मारिदिएकी थिइन् र आफ्ना मूर्छित भएका सबै व्यक्तिहरूलाई ब्यूँताइदिएकी  थिइन् ।

अद्भुत रामायणको सीतासम्बन्धी त्यो कथा वाल्मीकि रामायणको भन्दा बेग्लै छ । तर त्यो अद्भुत रामायण पनि वाल्मीकिले नै लेखेको बताइन्छ । वाल्मीकिले आफूले लेखेको सबै रामायण सीतालाई सुनाएपछि उनी धेरै नै प्रसन्न भइन् तर उनले आफूलाई सामान्य नारीका रूपमा प्रस्तुत गरिएकोमा असन्तोष प्रस्तुत गरेकी थिइन् । त्यसपछि सीतालाई खुशी पार्न वाल्मीकिले अद्भुत रामायण लेखेको बताइन्छ ।

अद्भुत रामायण र सीतासम्बन्धी त्यो प्रसङ्गबाट रामायणको रचना कुनै तथ्यगत आधारमा होइन, लेखकको कल्पनाको आधारमा नै लेख्ने गरिएको देखिन्छ । त्यसैले राम, सीता, लक्ष्मण आदिबारे बेग्लाबेग्लै कल्पनाहरू गरेर रामायणको रचना गरिएको बताइन्छ ।

रामायणमा अरू पनि कैयौँ अविश्वसनीय र काल्पनिक प्रसङ्गहरू जोडिएका छन्, जस्तै कि हनुमान्ले हत्केलामा द्रोणागिरी पर्वत राखेर ल्याएको रावणका दश वा हजार शिर भएको, वादरको सेना भएको, लङ्कामा जाने ढुङ्गाको पुल बनाएको, रामले अयोध्यामा दश हजार वर्षसम्म शासन गरेको आदि ।

जुन बेला वाल्मीकिले रामायणको रचना गरे त्यो बेला उनलाई दक्षिण भारत वा श्रीलङ्काको समेत भौगालिक अवस्थाबारे कुनै ज्ञान नभएको कुरा स्वयं रामायणका कतिपय कथनहरूबाट प्रस्ट हुन्छ । त्यसैले उनले दक्षिण भारत वा श्रीलङ्काको भौगोलिक स्थितीबारे सही विवरण दिन सकेका छैनन् । रामेश्वरबाट श्रीलङ्कासम्म १०० योजन लामो पुल बनाएको बताइएको छ, तर रामेश्वरबाट श्रीलङ्कासम्मको दूरी खालि अठार माइल मात्र छ । रामायणमा वानर सेनाले सालका रुखहरू उखेलेर राक्षसहरूमाथि हमला गरेको बताइएको छ। तर श्रीलङ्कामा सालका रुखहरू नै हुन्नन् । त्यसकारण सालका रुख उखेलेर राक्षसहरूमाथि हमला गरिएको भनाइ पनि असत्य र काल्पनिक नै हो ।

रामायणमा अग्नि प्रवेशसम्बन्धी पनि कैयौँ प्रसङ्गहरूको उल्लेख गरिएको छ । त्यसमध्ये एउटा प्रसङ्ग रामले सीतालाई लङ्काबाट मुक्त गरेर ल्याएपछिको अग्नि प्रवेशको प्रसङ्ग हो । सीताले अग्निमा प्रवेश गरेर आफ्नो चरित्र शुद्ध भएको प्रमाण दिएकी थिइन् । सीताको अग्नि प्रवेशको सन्दर्भमा कूर्मपुराणमा एउटा अर्को कथन पनि लेखिएको छ । रामले वनवास जाँदा सीतालाई अग्निमा प्रवेश गराएका थिए र उनले आफ्ना साथमा जुन सीता लगेका थिए, ती नक्कली सीता नै थिइन् । लङ्का विजयपछि ती नक्कली सीताले नै अग्निमा प्रवेश गरेकी थिइन् र अग्निबाट पहिलेकी सक्कली सीता नै निस्केकी थिइन् । नक्कली सीताको विवरण वाल्मीकि रामायणमा छैन र पछि कूर्मपुराणमा नै त्यो कथा थपिएको थियो ।

अग्नि प्रवेशको सन्दर्भमा एउटा अर्को कथा पनि प्रचलित छ। स्वर्गको राजा इन्द्रकी छोरी लक्ष्मणप्रति धेरै नै आसक्त भएर एउटी युवतीको भेषमा राति लक्ष्मणकहाँ सुत्न गएकी थिइन् । तर लक्ष्मण उनीसित सुत्न तयार भएका थिएनन् । तैपनि राति एउटी युवती लक्ष्मणकहाँ गएको कुरा थाहा पाएर सीताले त्यो कुरा रामलाई बताइदिएकी थिइन् ।

आफू्माथि त्यसप्रकारको आक्षेप लागेपछि आफ्नो चरित्र शुद्ध भएको प्रमाणित गर्न लक्ष्मणले अग्नि प्रवेश गरेका थिए । रामायणको सिलसिलामा यो पनि भन्ने गरिन्छ मूल रामायणमा उत्तरकाण्ड थिएन । मूल रामायण युद्धकाण्डमा नै समाप्त भएको थियो । त्यसमा पछि उत्तरकाण्ड थपिएको थियो । त्यो भनाइअनुसार रामले सीतालाई परित्याग गरेको तथा शम्बूकवधको कथा पनि मूल रामायणमा नभएको र पछि थपिएको भन्ने गरिन्छ।

रामायणका सन्दर्भमा यो पनि भन्ने गरिन्छ, प्रारम्भमा त्यसका १०० श्लोकहरू मात्र थिए । तर पछि ती श्लोकहरू थप्दै गएर रामायण २४००० श्लोकको ग्रन्थ बनेको थियो । वास्तवमा विभिन्न कविहरूले नयाँ–नयाँ कल्पना गरेर नयाँ–नयाँ रामायणहरू लेख्ने तथा रामसम्बन्धी नयाँ–नयाँ कथाहरू लेख्दै जाने मात्र गरेका थिएनन्, उनीहरूले वाल्मीकि रामायणमा नै श्लोकहरू थप्दै गएका थिए । समाजमा धार्मिक वा सांस्कृतिक मान्यताहरू बदलिँदै गएपछि त्यसअनुसार नयाँ–नयाँ रामायणहरू लेख्ने वा त्यसमा वृद्धि गर्ने काम पनि हुँदै गएको थियो ।

वाल्मीकि रामायणपछि सबैभन्दा प्रसिद्ध रामायण रामचरित्रमानस वा तुल्सीकृत रामायण नै हो । वाल्मीकि रामायण संस्कृत भाषामा नै लेखिएको थियो । त्यसैले त्यसलाई पढ्नु जनसाधारणका लागि सजिलो थिएन । तर तुलसीदासको रामायण साधारण हिन्दी भाषामा लेखिएको हुनाले जनसाधारणका लागि त्यसलाई पढ्न धेरै सजिलो भयो र जनसाधारणमा त्यो धेरै लोकप्रिय पनि भयो ।

त्यो बेला एकातिर हिन्दू धर्म र अर्कातिर इस्लाम धर्मको प्रचारका कारणले हिन्दू धर्मको प्रभाव कम हुँदै गएको थियो वा हिन्दू धर्मका विरुद्ध कैयौँ विचारहरू पनि देखा पर्न थालेका थिए । महिला र दलितहरूमा पनि उनी माथि गरिने सामाजिक बन्देजहरूका विरुद्ध आवाजहरू उठ्न थालेका थिए । त्यसैले हिन्दू धर्मप्रति जनताको आस्था बढाउन तथा महिला वा दलितहरूमा उठ्न थालेको विरोधको स्वरमाथि नियन्त्रण गर्न पनि तुल्सीकृत रामायणको रचना गरिएको थियो । त्यो रामायणका तलका भनाइहरूबाट त्यो कुरा प्रस्ट हुन्छ ।

नारी वा महिलाहरूप्रति राममानस रामायणको दृष्टिकोण कुन प्रकारको छ ? त्यो कुरा त्यसमा लेखिएको एउटा श्लोकको यो भनाइबाट प्रस्ट हुन्छ “ढोल गँवार शूद्र पशुनारी, से सव ताडना के अधिकारी ।” त्यसमा नारीहरूका सन्दर्भमा यो पनि भनिएको छ । ‘उनीहरू मूर्ख र ज्ञानहीन हुन्छन् र उनीहरूको युद्ध ओठमा हुन्छ, उनीहरूको चरित्र जानिसक्नु हुन्न, उनीहरूको स्वरूप सबै प्रकारका कपट, पाप र अवगुणहरूको खानी हुन्छ उनीहरूले वृद्ध, रोगी, मूर्ख, गरिब, अन्धा, बहिरा, झोकी, अत्यन्तहीन पतिको पनि अपमान गर्न हुन्न, स्त्रीको एउटा मात्र धर्म शरीर, मन र वचनले पतिको सेवा गर्नु हो । आदि ।

त्यो रामायणमा एउटा श्लोकमा दलितहरूलाई सम्बोधन गर्दै लेखिएको छ– ‘हामी पनि ब्राह्मणहरूभन्दा कहाँ कम छौँ ? भन्दै ब्राह्मणहरूलाई आँखा देखाउन थालेका छन् ।’ त्यो भनाइले त्यो बेला दलितहरूमा बढ्दै गएको असन्तोष र विरोधलाई बताउँछ । त्यसैले दलितहरूमाथि पनि कडा प्रहार गर्न थालेको हुन सक्दछ ।

यो कुराको अनुमान गर्न सकिन्छ कि त्यो बेलाको त्यसप्रकारको सामाजिक र सांस्कृतिक वातावरणमा नै वाल्मीकि रामायणमा पनि उत्तरकाण्ड थपिएको थियो र तपस्या गर्न थालेको आरोपमा रामले एउटा दलित शम्बूकको हत्या गरेका थिए र गर्भवती सीतालाई पनि परित्याग गरेका थिए । संसारका धेरै देशहरूमा रामायणको त्यति धेरै प्रसार हुनुको कारण के थियो ? त्यो बेला धेरैजसो देशहरूमा राजतन्त्र थियो र त्यसप्रति जनतामा असान्तोष बढ्दै गैरहेको थियो ।

त्यसैले रामायणद्वारा आदर्श र जनप्रिय राजाको चित्रण गर्दा जनताको राजतन्त्रप्रतिको आस्था बढाउन सकिन्थ्यो । त्यसैले धेरै देशका राजाहरूमा रामायण उनीहरूको सत्ताप्रति जनताको विश्वास प्राप्त गर्न रामायण एउटा साधन बन्न सक्दथ्यो । त्यसैले धेरै देशका शासकहरूले रामायणलाई आफ्नो देशहरूमा प्रचार–प्रसार गर्ने गरेका थिए । सोही पृष्ठभूमिमा नै नेपालका राणाशासकहरूले पनि भानुभक्तको रामायणलाई प्रोत्साहित गर्ने नीति अपनाएका थिए र त्यसद्वारा जनतामा शासकवर्गप्रति आदर सम्मानको भाव उत्पन्न गर्न चाहन्थे । अन्तमा रामायणको मुख्य विषयवस्तु भनेको राजाहरूप्रति जनताको विश्वास जोगाउनु नै थियो ।

समाजमा कैयौँ किंवदन्ती, लोककथाहरू प्रचलित हुन्छन् । त्यसप्रकारका किंवदन्ती, लोककथा वा कतिपय ऐतिहासिक घटनाहरूका आधारमा दशरथ जातक कथा रामायण वा महाभारत बनाएर वाल्मीकिले रामायण वा व्यासले महाभारतको रचना गरेको हुन सक्दछ ।

रामायणको कथासार यत्ति मात्र हो एउटा राजाले आफ्नी जेठी पत्नीका जेठा छोरालाई गद्दी दिन खोजेका थिए । तर राजाकी एउटी सौतेनी पत्नीले आफ्ना छोरालाई राजा बनाउन र जेठा छोरालाई वनमा पठाउन खोजिन् र राजाले त्यसै गरे । वनमा गएको बेलामा लङ्काका राजा रावणले सीतालाई अपहरण गरे । पछि रामले युद्ध गरेर आफ्नी पत्नीलाई फर्काएर ल्याए र अयोध्याका राजा बने । त्यही कथामा कैयौँ कल्पनाहरू जोडेर वाल्मीकिले रामायण लेखे ।

रामायणका पात्रहरूलाई विभिन्न देवताहरूको अवतारका रूपमा पनि वर्णन गरिएको छ र रामले दश हजार वर्षसम्म अयोध्याको राजा भएर राज्य गरेको बताइएको छ । युनान वा अन्य कैयौँ देशहरूमा पनि त्यही प्रकारले महाकाव्यहरूको रचना गर्ने गरिएको छ । त्यसो गर्दा कुनै किंवदन्ती, लोककथा वा कुनै ऐतिहासिक कथनलाई आधार बनाएर महाकाव्यहरूको रचना गर्ने कार्य गरिएको छ ।

रामायणबारे संसारका धेरै विश्व विश्वविद्यालयकहरुमा अनुसन्धान भएका छन् र ठुलो संख्यामा शोधपत्रहरु पनि लेखिएका छन् । रामायणको अन्तराष्टिय महत्वमाथि ध्यान दिदै एउटा अन्तराष्टिय सुविधा सम्पन्न अन्तरराष्टिय रामायण संग्राहलयको स्थापना ऐतिहासिक महत्वको सांस्कृतिक आवश्यकता हो । कहाँ र कहिले त्यो कार्य सम्पन्न हुनेछ । त्यसका लागि हामीले भविष्यलाई पर्खेर बस्नु पर्नेछ ।

(कामरेड पुष्पलाल श्रेष्ठको सताब्दी जन्म जयन्तीको अवरमा २०८० साल चैत्र ९ गते दर्शन सम्बन्धी पुस्तकको विचार गोष्ठीमा प्रस्तुत ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.