२०७७ सालमा जम्मा ६७ दिन विदा, यस वर्ष दशैंको टीका कार्तिक १० गते भाइटीका मंसिर एक गते
अबको केही दिनपछि सुरु हुने नेपालीहरुको नयाँ वर्षसंगै सो वर्षको महत्वपूर्ण चाड पर्व तथा सार्वजनिक विदाहरुको सूची सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको २०७७ सालका सार्वजनिक विदाहरुको सूचीअनुसार नेपालीहरुको महत्वपूर्ण चाड दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूची अनुसार ०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार बाहेक दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।
सूची अनुसार बडादशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशभर सार्वजनिक विदा हुनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक विदा हुनेछ ।
यसै गरी शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ ।
यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ । होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।