जापान

सुरक्षित देश जापानमा कोरोना कहर, नेपाली समुदायमा बढदो त्रास

आनन्द कोइराला
—मार्च अन्तिमबाट अप्रिलको पहिलो सातासम्म जापानका साना ठूला पार्कमा साकुराको फुलसंगै हुने जमघट ‘हानामी’ यस वर्ष कोरोना संक्रमणकै कारण ठप्प छ। डेढकरोड जनघनत्व रहेको टोकियोकी गर्भनर कोईकु युरिकोले क्षणिक रमाईलोका लागि जोखिम नमोल्न गरेको आग्रहलाई टोकियोबासीले सहर्स स्वीकार गर्दा रमाईलो हानामी सुनसान रहने भयो । यस्तै अवस्था जापानभरि नै छ। पार्क त के ठूला सपिङ सेन्टर लगायत हजारौको भिड हुने सिवुया समेत सुनसान प्राय छ।
—गत सोमबार कोरोना संक्रमणबाट जापानका चर्चित हास्य कलाकार सिमुरा केनको मृत्यु पश्चात धेरै नेपालीले आफनो सामाजिक संजालमा समवेदना देखाए। जापानी भाषा सिक्ने र दख्खल राख्ने नेपालीहरु माँझ लोकप्रीय रहेका कलाकार केनको मृत्यु लगत्तै जापानका नेपाली संचारमाध्यम तथा सामाजिक संजालमा धेरैले दुख व्यक्त गरे। केनको भिडियो फलो गर्ने मध्येका एक नेपाली दिपक मैनाली जापानले चर्चित कलाकार गुमाए पनि सरकारले देखाएको मौनताले कोरोना कै कारण कठिन अवस्था आउने चिन्ता व्यक्त गर्छन।
अन्यौलमा नेपाली समुदाय
गत साताबाट कोरोनाको संक्रमण दोव्वरले बढको तथ्याकं सार्वजानिक भएसंगै जापानवासीहरुमा के हुने र कसो हुने भन्नेमा अन्यौलता छाएको छ। टोकियोकी गर्भनर कोईकुले गत शनिबारबाट अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन गरेको आग्रहसंगै मंगलबारसम्म उनले प्रधानमन्त्री सिन्जो आवेलाई लाकडाउन वा संकटकाल लगाउन दवाव बढाएकी छन। लगातार टोकियो तथा आसपासका राज्यहरु चिवा, साईतामा, खानागावा, लगायतका क्षेत्रमा पनि अप्रत्यासित रुपमा संक्रमण फैलिएपछि यसको प्रभाव अन्य क्षेत्रसंगै यहाँ बासोवास गर्दै आएका नेपालीहरुमा पनि स्वभाविक परेको हो।

कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल

जापानमा दैनिक बढदो संक्रमणका कारण छाएको सन्नाटाको मुख्य सिकार विद्यार्थीसंगै साना तथा मझौला कम्पनीमा काम गर्ने नेपाली तथा विदेशीहरु पर्ने निश्चित छ। अप्रिल महिनाबाट विद्यार्थीबाट कम्पनी भिषामा भर्खरै परिवर्तन गरेकाहरु, डिपेण्डेन्ट भिषामा रहेकाहरु, विद्यार्थी भिषामा रहेका मध्ये धेरैलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको समाधान के कसरी गर्न सकिन्छ यसबारे आन्तरिक तयारी थालिएको गैरआवासीय नेपाली संघ एनआरएनए जापानका महासचिव जनकविक्रम शाही दावी गर्नुहुन्छ।
चिनको बुहान कोरोना संक्रमणको सुरुवाती समयमै जापानका औषधी पसल, सपिङ मल तथा सुपरमार्केटहरुमा टवाईलेट पेपर, सेनिटाईजर र मास्क जस्ता अत्यावश्यक सामाग्री अझैपनि सहज हुन सकेको छैन। अचानक भएको यस्तो अवस्था जापानमा सुनामी तथा ताईफु आउने समयमा अनुभव संगालेका लागि नौलो नभएपनि भर्खरै जापान आएका र टोकियोमा रहेका विदेशीमा भने आश्चर्य चकित घटना नै रहयो।
जापानीहरु संक्रमण रोक्ने सामाग्री जोहो गर्दा नेपालीहरु भने खाध्यान्हको जोहोमा तल्लिन भेटिएका थिए। तर व्यवसायीहरुले भने यस्ता सामानहरु नियमित रुपमा पसलमा आउने तर छिटटै सकिने गरेको बताउछन।
के हुदैछ जापानमा?
एक साता अघि यसैवर्ष हुने ओलम्पिक तथा प्याराओलम्पिक जस्तो महत्वकाँक्षी कार्यक्रम स्थगित गरेको जापान सरकारलाई बढदो कोरोना प्रकोपका कारण फेरी नयाँ कदम चाल्न धेरै संकट परेको पाईएको छ।
एनआरएनए जापानका महासचिव जनकविक्रम शाही

तत्काल संकटकाल वा लकडाउन गर्दा जापानको अर्थतन्त्र डामाडोल हुने बताउदै आएका जापानी प्रधानमन्त्रीले सिन्जो आवेले सर्वसाधारण जनता र व्यवसायीहरुलाई राज्यले सहयोग गर्ने भनेकै आधारमा टोकियो र जापानका अन्य ठूला शहरहरु विश्वका अन्य मुलुकको जस्तो सुनसान त छैन। तर टोकियो राज्यकी गभर्नर कोईकी युरीकोले दिनहु जापानमा खासगरि टोकियोमा कोरोना संक्रमितको सख्या बढेको जानकारी दिदै सरकारलाई नयाँ कदम चाल्न दवाव बढाएकी छन। यसरी दोहोरो अवस्थाले सर्वसाधारणमा अन्यौल भने छाएको छ।
गत फेब्रुअरी अन्तिममा जापानको उत्तरी राज्य होक्काईदोमा अचानक स्थानिय सरकारले संकटकाल लगाएका कारण यसको प्रभाव जापानभरि नै रहयो। लगत्तै जापानभरिका विद्यालयलाई एक महिनाका लागि बन्द गर्दा थप संन्त्रास फैलियो। तरपनि सरकारले दिर्घकालिक कदम तर्फ कुनै चासो नदेखाउदा अहिलेसम्मपनि यस्तो अवस्था कतिन्जेल भन्ने कायमै छ। जापानको दोश्रो ठूलो शहर ओशाकामा व्यवसाय गर्दै आएका नेपाली तुल्सीराम खरेल निरोगी भएमात्र जिवनमा केही गर्न सकिन्छ भन्दै नजिकका आफन्त र नेपाली समुदायमा आश्वासन दिदै आएका छन। दिनहुँ सुभेच्छुक तथा नेपालीहरुसंगको सम्पर्कमा खरेलले कोरोना संक्रमणबाट जोगिन आग्रह गदै आएको बताए।

यो खबर तयार पार्दासम्म जापानमा २२३३ जनामा कोरोना संक्रमण देखिएको छ भने ७३ जना (११ जना डायमण्ड क्रुज बाहेक)को मृत्यु भएको छ। डायमण्ड क्रुजमा ७१२ जनामा कोरोना संक्रमण देखिएको थियो भने ११ जनाको मृत्यु भएको थियो। पछिल्लो तथ्याक अनुसार सवैभन्दा बढी टोकियोमा ५२१ जना, ओशाकामा २४४जना, होक्काईदोमा १७६ जना, आईचीमा १७८ जना, चिवामा १७१ जना र ह्योगो राज्यमा १३७जनामा संक्रमण रहेको पुष्टि भएको छ। जापानी संचारमाध्यम एनएचकेका अनुसार जापानमा दैनिक करिव २०० जनामा संक्रमण फैलिदो छ। यता टोकियोमा समेत दैनिक संक्रमितहरुको सख्या बढदो क्रममा छ।
संचारकर्मी दिपक गौतम

यसै वर्ष हुन लागेको ओलम्पिकका लागि खर्वौ रकम लगानी गरेको जापान सरकारलाई विश्व महामारीका कारण अचानक स्थगित गर्न धेरै समय लागेपनि थप संक्रमण बढन नदिन र जनतालाई त्रासबाट जोगाउन राज्यले केही गरोस भन्ने चाहनामा जनता पर्ख र हेरको अवस्थामा छन। जापान सरकारले तत्कालका लागि संकटकाल वा लकडाउन कदम चालेमा अन्यौलको अवस्था छिटै टुङिगिन्छकी भन्नेमा मानिसहरुको ध्यान बढेको छ।
गत शुक्रबारबाट खासगरि बाक्लो घनत्व रहेको टोकियोमा लगातार नयाँ संक्रमितहरु बढेको खवर आएसंगै जापानमा रहेका नेपाली तथा विदेशीहरु थप चिन्तित छन। करिव एक लाख नेपालीहरुको बसोवास रहेको जापानमा कोरोनाको प्रकोप दिन प्रतिदिन बढदै जादाँ सरकारले चाल्ने कदमसंगै भोली के हुने र कसरी संक्रमणबाट जोगिने चिन्ताले सताएको संचारकर्मी दिपक गौतमले बताए।
 
जापान सरकारको यस्तो छ तयारी
जानकारहरुका अनुसार जापानको आर्थिक वर्षको अन्तिम दिन मार्च ३१ सम्म राज्यले कुनैपनि कदम नचाल्नुको पछाडी आर्थिक कारण नै रहेको दावी गर्छन। नयाँ आर्थिक वर्षको सुरुवात हुने अप्रील एक तारिकबाट केही समय लकडाउन नै भएपनि करिव तीन चार महिनाको घाटालाई बाँकी समयमा पुर्ताल गर्न सकिने आकलनमा रहेका प्रधानमन्त्री सिन्जो आवेले अबको केही दिनमा नै नयाँ कदम चाल्न सक्ने बताईएको छ। यद्यपी बुधबार संसदमा विशेष सम्वोधन गदै आवेले अहिलेको अवस्थामा मुलुक नै ठप्प पार्नुपर्ने आवश्यकता भने नभएको दोर्होयाए।
तुल्सीराम खरेल

शिक्षा र स्वास्थ्यका हिसावमा केही सजग जापानीहरु कोरोनाको रोकथामका लागि अन्य मुलुकमा भन्दा आफैले पनि सजगता अपनाएका छन। जसका कारण बाक्लो घनत्व रहेर पनि धेरै कम मात्रामा संक्रमण देखिएको सरकारी आकलन छ।
तर दैनिक बढदो संक्रमणका कारण  साना तथा मझौला लगानी गरेका लगानीकर्ताहरुमा कठोर दिन सुरु भएको गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक समेत रहेका व्यवसायी पारसमणी पोखरेलको दावी छ।
जापानमा हजारबढीको सख्यामा रहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न नेपालीहरु सुरक्षित रहनु नै अहिलेको आवश्यकता भन्दै पोखरेलले भने केही समयको धैर्यताले भोलीको दिनमा निरोगी बन्न सकिन्छ।
सकृय हुदै नेपाली समुदाय
जापानमा पव्लिक हेल्थ विषयमा विद्यावारिधि गरेकी नेपाली रजिष्टर्ड नर्स डा एलिजा केसी भण्डारीको भनाईमा यदि जापानमा अहिलकै अवस्थामा संक्रमण बढदै जाँदा नेपाली लगायत विदेशीहरु बढी नै मर्कामा पर्ने दावी गर्नुहुन्छ। जापानमा पूर्णतह निशुल्क रुपमा उपचार हुने भनिएको कोरोनाको संक्रमणमा नेपाली परेको खण्डमा मनोवैज्ञानिक त्रास भने बढने बताउनु हुन्छ। हालसम्म कोही नेपालीमा कोरोना संक्रमण देखिएको छैन। तर जापान सरकारले गरेको ढिलासुस्तिले अन्यौलका बीच बसेका नेपालीहरुमा थप त्रास थपेको उहाँको दावी छ।
पारसमणी पोखरेल

गैरआवासीय नेपाली संघ एनआरएनए जापनको तर्फबाट अन्तराष्ट्रिय समन्वय परिषद आईसीसीमा जापानबाट कोरोना भाईरस महामारी सहयोग संयन्त्रको संयोजक डा केसीले एनआरएनए जापान मार्फत विभिन्न माध्यमबाट नेपालीहरुको जिज्ञासाको समाधान गराउन सकृय रहेको बताउनु भयो। विभिन्न मााध्यमबाट जनचेतना तथा सचेनताका लागि नेपालीहरु माझ धेरै जानकारी अभाव रहेको पाएको दावी गर्दै उहाँले जापान सरकारले प्रदान गर्ने स्वास्थ्य बिमा कार्ड हमेसा आफुसंग राख्न तथा कार्ड नभएकाहरुले विरामी भएर अस्पताल भर्ना भएको खण्डमा खर्चका बिलहरु सुरक्षित राख्न समेत आग्रह गर्नुभयो।
जापानमा रहेर पनि स्वास्थ्य चेतनामा पछि परेका धेरै उदहारणलाई हेर्दा नेपाली समुदायमा धेरै सचेतना जरुरी रहेको बताउनु भयो।
 
 

सकृय नेपाली राजदूतावास

सकृयताका हिसावले टोकियो स्थित नेपाली राजदूतावासले हरेक दिन जसो जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुसंग अनलाईनमा छलफल गर्दै स्थानिय नेपाली समुदायका अग्रजहरुसंग सम्पर्क बढाएको छ। विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाका कारण जापानमा रहेका नेपालीहरु नपरुन तथा परेको खण्डमा सहजताका लागि हरेक संयन्त्र मार्फत नेपालीहरुमा सम्पर्क स्थापित गर्न प्रयासरत रहेको कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले बताउनु भयो।

डा एलिजा केसी

जसका लागि सिधा सम्पर्क स्थापित गर्न हटलाईन सम्पर्क सेवा सहित कोरोनाका कारण नेपाली समुदायमा पर्नसक्ने प्रभावलाई न्यूनिकरण गर्न दूतावासले नेपाली गैरआवासीय नेपाली संघ सहित जापानमा रहेका नेपाली संघसस्थाहरुसंग समन्वय जारी राखेको छ। यस्तै जापान सरकारसंग पनि विभिन्न स्रोत मार्फत सम्पर्क स्थापित गरेको कार्यवाहक राजदूत अर्यालले नोपाल जापान डटकमलाई बताउनु भयो।
नेपालीहरुसंग अनलाईनमा छलफल गर्दै

यस्तै यसअघि नै दूतावासले भिषामा पर्नसक्ने समस्या समाधानका लागि जापानको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागलाई पत्रचार गरिसकेको जानकारी दिनुभयो। यस्तै कोरोनाबाट बच्ने उपाय तथा दूतावासका सेवाका बारेमा दूतावासको फेसबुक पेज तथा विभिन्न माध्यम मार्फत जानकारी गराएको बताउनुभयो।
यद्यपी जापानमा बढदो संक्रमणका कारण कुन बेला कसलाई के हुने र कसरी समस्या समाधान गर्ने बारे गैरआवासीय नेपाली संघ एनआरएनए जापानले छिटटै नयाँ रणनीति सार्वजानिक गर्ने एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले बताउनु भयो। कोरोना संक्रमण कै कारण कोही कसैलाई समस्या नहोस भनेर जापानभरी चौधवटा क्षेत्रमा स्थानिय रुपमा संयन्त्र मार्फत जनचेतना तथा सहयोग समिति मार्फत काम गर्न लागेको बताउनु भयो।
लेखकको अनुभुति
साच्चै नै कोरोनाको सुरुवाती चरणमा अमेरिकीहरुले भनेझै जापानमा पनि चीनमा मात्र संक्रमण फैलने अनि विस्तारै औषधी पत्तालागि सक्ने आकलन एकाएक विलाए जस्तै जापानमा गत साताबाट त्रास एकदमै बढेको छ।
सरकारी तवरबाट दिनहुँ पत्रकार सम्मेलन नै गरेर जानकारी दिने अनि दिनहँ संक्रमितको सख्या बढेको जानकारीले टोकियोबाट करिव ३० किलोमिटरको दुरीमा बसोबास रहेको चिवाको फुनावासीबाट टोकियो आउदाँ जादाँ अनि काममा विदेशी लगायत जापानीहरुसंग हुने सम्पर्कबाट नै त्रसित बनाएको छ। चिकित्सकहरुले संक्रमण जोकोहीबाट अनि जतिवेला पनि सर्ने बताएका कारण मनमा शंकाको मात्रा धेरै छ।
जापान सरकारले विदेशबाट आएका जापानी तथा विदेशीहरुलाई केही कडाई गरेको छ। भएपनि केही मात्रामा सहज भित्रिएका यात्रुका कारण अनि नारिता एयरपोर्टबाट सिधा टोकियो प्रवेश गर्ने रेलमा हुने दिनहुँ यात्रा नै जोखिमसंगै शंकाको मुल कारण बनेको छ। म जस्ता सयौ नेपालीहरुले रेलमा गर्ने यात्रा, किनमेल गर्ने, रेष्टुरेन्टमा काम गर्ने तथा डिपेन्डेन्टहरुमा त्रास बढेको छ।
सांझको समयमा घर फर्कदै जापानीहरु। तस्वीर तीर्थ कार्कीको फेसबुकवालबाट

जापान सरकारले गर्ने एकएक निणर्यलाई नियालेर हेर्दा नेपालमा रहनु भएका आफन्तहरुको दैनिक नियाल्न फेसबुक तथा घरमा दिनहुँ फोन नगरी बस्न सकेको छैन। अझ यसै साताको तथ्याकंमा ४० वर्षभन्दा कमका मानिसमा बढेको संक्रमणका कारण त्रासको मात्रा बढेको छ।
कार्यालयबाट दैनिक जाने गरेको खाना खाने रेष्टुरेन्ट जान छाडिएको छ। कार्यालयबाट बाहिर भन्दा अफिसमै बसेर टेलिफोनबाट काम गर्न गरेको आग्रहले केही राहत दिएको भएपनि जापान सरकारले रोकथामका लागि अझ प्रभावकारी कदम चालोस भन्ने कामना गर्दछु।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.