अर्थकृषि

महामारीले ग्रहण लागेको पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो ।

खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।

“अहिले महामारीको त्रास कम छ, मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन्, विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ”, फ्लोरीकल्चर एशोसिएशनले भनेको छ । महामारीको समयमा यस व्यवसयले दैनिक रु एक करोडसम्मको नोक्सान सामना गर्नुपरेको थियो ।

महामारीका समयमा अन्य केही व्यवसाय आंशिक सञ्चालनमा आए पनि यो क्षेत्र भने पूर्णरूपमा बन्द नै रहेको थियो । कोरोनाका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एशोसिएशनले जनाएको छ ।

अन्य पेशामा पलायन भएका व्यवसायीलाई पुनः यस पेशामा नै ल्याउनुपर्ने चुनौती भने संस्थालाई रहेको एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ ।

हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको एशोसिएशनका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.