जन सरोकार

बाइसे चौबीसे राज्यकालको एक समृद्ध र शक्तिशाली राज्य तनहुँसूर ओझेलमा

बाइसे चौबीसे राज्यका पालामा एक समृद्ध र शक्तिशाली राज्यका रूपमा स्थापित नेपालकै एक महत्वपूर्ण ऐतिहासिकस्थल तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसूर तनहुँसूर ऐतिहासिक र पर्यटकीय सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ । यो स्थल सदरमुकाम दमौलीबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ ।



विसं १६१० सम्म पाल्पा राज्यअन्तर्गत पर्ने तनहुँ राज्य तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले आफ्ना छोरालाई भागवण्डा गरेको समयदेखि विसं १८३९ सम्म एक स्वशासित अखण्ड राज्यका रूपमा तनहुँसूर रहेको थियो । प्रथम राजा भृङ्गी सेनदेखि अन्तिम राजा हरकुमार दत्तसेनसम्म करिब २३० वर्षको अवधिमा विभिन्न नौ सेनवंशी राजाले राज्य गरेको राजधानीको नाम हो तनहुँसूर ।

समुद्री सतहबाट एक हजार २४५ मिटर उचाइमा रहेको तनहुँसूर पहिलेजस्तो भरिभराउ छैन, यहाँका बासिन्दा शहरकेन्द्रित भएका छन् । अर्कातर्फ सरकारले पनि यसको ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्ने खालका कुनै कार्यक्रम ल्याउन सकेको छैन । यसरी राष्ट्रिय महत्वको यो स्थल यतिखेर ओझेलमा परेको पाइएको छ ।

तनहुँसूरको टुप्पोमा रहेका तीनवटा टाकुरालाई त्रितुङ पनि भन्ने गरिन्छ । त्रितुङबाट अपभ्रंश भई तनुङ हँुदै तनहुँ नामाकरण हुन गएको इतिहासविद्हरूको भनाइ पनि पाइन्छ । ऐतिहासिक, पुरातात्विक एवं प्राकृतिक दृष्टिले महत्व बोकेको प्राचीन स्मारकस्थलका रूपमा तनहुँसूर परिचित रहेको छ ।

विसं २००७ को क्रान्तिमा बन्दीपुर अड्डा कब्जा गर्ने क्रममा तनहुँसूरका धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठले शहादत प्राप्त गरेका थिए । त्यसैगरी सोही क्रान्तिमा वसन्तपुरका खड्कबहादुर गोदार र पुलिमराङका धर्मध्वज गुरुङले पनि शहादत प्राप्त गरेपछि उनीहरूको सम्मानमा तनहुँसूरमा छ जनाको पूर्णकदको शालिकसहितको शहीद उद्यान (पार्क) निर्माण गरिएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र जननिर्वाचित प्रतिनिधिले स्थानीय सरकारमार्फत सेवा प्रवाह पनि गर्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्न थालेसँगै आफ्नो पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृति पर्यटकीय क्षेत्रहरूको खोजी अनुसन्धान गर्दै संरक्षण र संवद्र्धनका लागि चासो दिन पनि थालेका छन् । यस्ता अभियानले आफ्नो क्षेत्रको विकासका लागि मद्दत पनि गर्न सक्छ । तर तनहुँसूरमा भने यस्तो चासो कमै मात्र पाइएको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको भए पनि यसको प्रचारप्रसार हुन नसक्दा यो ऐतिहासिकस्थल भने ओझेलमा पर्दै गएको व्यास नगरपालिका–११ का वडाध्यक्ष नीरबहादुर खड्काले बताउनुभयो । तनहुँसूरको महत्व बुझेर यस क्षेत्रको मुहार फेरिने गरी विकास निर्माणका कार्य तथा प्रचारप्रसारका गतिविधिलाई तीव्ररूपमा अघि बढाउन थालिएको छ । उहाँले भन्नुभयो, “तनहुँसूरको गरिमा र महत्वलाई बुझ्न नसक्दा तनहुँसूर जहाँको त्यहीँ छ, बन्दीपुरले समयमै आफूलाई चिन्न सक्दा पर्यटकीय दृष्टिकोणले फड्को मारेको छ ।”

अहिले भने तनहुँसूरस्थित तनहुँसूर दरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा स्थानीय बासिन्दाले गर्न थालेका छन् । जीर्ण बन्दै गएको दरबारको पुरातत्व विभागले उत्खनन गरेपछि पुनःनिर्माण शुरु गरेको हो । यो दरबारको पुनःनिर्माण रु ७० लाखको लागतमा भइरहेको छ । दरबार निर्माणपश्चात पर्यटकहरूको थप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसूर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ भने हाटबजार पनि घटेका छन् । विकास र व्यापारको खोजीमा तनहुँसूरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएपछि तनहुँसूर बस्तीविहीन बन्दै गएको हो । पछिल्लो समयमा तनहुँसूरमा विकास निर्माणका साथै मानिसका लागि आवश्यक पर्ने आधारभूत सुविधा पुग्ने क्रम भने अर्कातर्फ शुरु पनि भएको छ । यसबाट पनि यसअघि छाडेर गएका यहाँका बासिन्दा पुनः गाउँमै फर्किने अभियान पनि शुरु हुनसक्ने यहाँ बसोबास गरिरहेका स्थानीयवासीको आशा छ ।

तनहुँसूर भ्रमणका मुख्य आकर्षण के–के छन् ?

तनहुँसूर भ्रमणका लागि जाने आन्तरिक एवं बाह्य पर्यटकहरूले प्रसिद्ध हिमशृङ्खलाका साथै हिउँदमा वरिपरि उपत्यकामा लाग्ने कुहिरोको मनोरम दृश्यले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन सजिलै लोभ्याउनेछ । तनहुँसूर उचाइमा रहेकोले त्यहाँबाट सूर्योदय र सूर्यास्त, तत्कालीन बाइसे चौविसे राजाहरूले प्रयोग गरेका दरबार तथा हातहतियारका अवशेष अझै पनि देख्न सकिन्छ ।

त्यसै गरी राजपरिवारले प्रयोग गरेका किल्ला, गढी, धारा, तोप, तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा अझै पनि सजिलै देख्न सकिन्छ । साउने कुवा, कुँडापानी, बाइस सिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, विष्णु शिव मन्दिर, चोरलाई सजाय दिने किल्ला, हात्ती बाँध्ने किल्लालगायतका ऐतिहासिकस्थलले पर्यटकको मन सजिलै आकर्षण गर्दछ ।

नेवार, मगर र दलित समुदायको बस्ती रहेको तनहुँसूरमा पछिल्लो समय सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यचौकी, सामुदायिक भवन, माध्यमिक विद्यालय, कृषि सहकारी र वाइफाइको समेत सुविधा पुगिसकेको छ । यस क्षेत्रको विकासका लागि व्यास नगरपालिका कार्यालयले प्राथामिकतामा राखेर काम गर्दै आएको छ ।

सम्बन्धित खबर

Back to top button