बिचार

कालो कोरोनाबिरुद्ध उज्यालो अभियान "… तमसो मा ज्योतिर्गमय । मृत्योर मा अमृतं गमय।"

– यादब देवकोटा

“असतो मा सदगमय- तमसो मा ज्योतिर्गमय-मृत्योर मा अमृतं गमय” को मन्त्र उच्चारण गर्ने हामी वैदिक सनातनी धर्मावलम्बीहरुका लागि हरेक दिन, पल र तिथि विश्व शान्ति र मानव कल्याणका लागि कुनै न कुनै कार्य गर्ने विधि शास्त्रले लिपिबद्ध गरेको छ ।

यस्तै शास्त्रीय विधान अनुसार आज चैत्र २३ गते आइतबार विश्व शान्तिका लागि विशेष दिन परेको छ र यो दिन घरघरमा दीपावली गर्दा संसारलाई उज्यालो दिने विश्वास गरिन्छ ।

यसै तथ्य बुझेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार हरेक भारतबासीलाई साँझ ९ बजेर ९ मिनेट जाँदा घरघरमा दीप प्रज्वलन गर्न आव्हान गर्दा धेरैले मोदीले के भने भन्ने ठाने होलान् तर आइतबारको दिन दुर्लभ दिन भएकाले नेपाली समय अनुसार साँझ ७ बजेर सात मिनेटदेखि ९ बजेर ९ मिनेटसम्म विशेष समय परेकाले विश्व शान्तिका लागि दीप प्रज्वलन गर्न नेपाली विद्वानहरुले पनि आव्हान गरेका छन् ।

अन्धकारलाई हटाएर उज्यालो दिने सूर्यलाई रवी भनिन्छ । रवी अर्थात प्रकाशदायिनी सूर्यको विशेष दिन आइतबार रवी प्रदोश त्रयोदशी कमै मात्र पर्दछ । आज चैत्र २३ गते आइतबार यस्तै विशेष दिन परेको हुँदा हिन्दु धर्मावलम्बीहरुले साँझ घरघरमा दियो बालेर अन्धकारमा रहेको विश्वलाई उज्यालो दिने दिन ।

आइतबार र त्रयोदशीको तिथिको संयोगबाट रवी प्रदोश योग सिर्जना हुन्छ । यस दिन भगवान शिवको प्रशन्नताका निम्ति व्रत बस्ने गरिन्छ र यस व्रतको प्रभावले लामो आयु, राम्रो स्वास्थ्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।

रवी प्रदोशको दिन भगवान शिवको ब्रत बस्नाले व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पर्छ भन्ने मान्यता छ भने साँझ दीप प्रज्वलन गर्दा विश्व शान्तिका लागि बल पुग्ने बताइन्छ । रवी प्रदोश त्रयोदशीको व्रतसंग जोडिएको एक कथा यस्तो छ-

एउटा गाँउमा एक जना दीन-हीन ब्राह्मण बस्दथे । उनकी धर्मनिष्ठा पत्नी प्रदोष व्रत लिने गर्दथिन् । ती दम्पत्तिको एउटा पुत्र थियो । ए पल्ट त्यो पुत्र गंगा स्नान गर्न गयो । दुर्भाग्यवश बटोमा उसलाई चोरहरूले घेरे र डर र त्रास सिर्जना गर्दै सोधे-‘तिम्रा पिताले गुप्त धन कहाँ लुकाएर राखेका छन् ? बिचरा बालकले दीनतापूर्वक आफूहरू अत्यन्त निर्धन र दु:खी भएको कुरा बतायो । उसले पिताजीसँग गुप्तधन रहने प्रश्न नै नउठ्ने कुरा पनि भन्यो ।

चोरहरूले उसको अवस्था सुनेर दया राखी उसलाई छोडिदिए । ब्राह्मणबटु आफ्नो बाटो लाग्यो । हिंड्दाहिंड्दै ऊ थाकेर गल्यो र एउटा बरको वृक्षमुनि बस्यो, थाकेको हुनाले केही बेरमा निदायो । त्यतिखेरै त्यस नगरका सिपाहीहरू चोरलाई खोज्दै त्यहीं आइपुगे । तिनले ब्राह्मण बालकलाई चोर ठानेर बन्दी बनाए र राजासामु उपस्थित गरे । राजाले बालकका कुरा नबुझीकन उसलाई कारागारमा हाल्ने आदेश दिए । उता घरमा यी घटनाको अत्तोपत्तो थिएन । त्यस दिन रवि प्रदोषको दिन थियो, बालककी आमा प्रदोष व्रत गरिरहेकी थिइन् । आमाको व्रतको प्रभावले त्यसै दिन रात्रिकालमा राजाले सपनामा एउटा सन्देश सुने, त्यसमा भनिएको थियो- त्यो बालक निर्दोष छ यदि त्यसलाई कारागारबाट मुक्त तुल्याइएन भने तपाइँको राज्य र वैभव नष्ट हुनेछ ।

भोलिपल्ट बिहान उठ्ने बितिक्कै राजाले बालकलाई मुक्त तुल्याई सभागृहमा बोलाए र अघिल्लो दिनको घटनाबारे सोधे, बालकले राजालाई सत्यतथ्य बतायो । राजाले त्यस बालकका मातापितालाई दरबारमा झिकाए । ती बृद्धबृद्धालाई भयभीत भएको देखेर राजाले मुस्कुराउँदै भने- तपाइँहरूको छोरो निर्दोष र निडर छ । तपाईंहरूको दरिद्रताका बारेमा जानकारी पाएर मलाई दुःख लाग्यो, त्यसैले म तपाईंहरूको आजीविकाका निमित्त पाँचवटा गाँउ बिर्ता दिन्छु । यसपछि ब्राह्मण परिवार आनन्दले रहन थाल्यो । भगवान् शिवजीको दयाले तिनको दरिद्रताको नाश भयो ।

स्थावरजंगममा रहेको प्राणी, वनस्पति, कीट पतंग समेत शान्त रहे मात्र मानव कल्याण सम्भव छ भन्ने पूर्वीय वैज्ञानिकहरु महान ऋषि-महर्षिले मानवजातिका लागि सिकाएको असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतिर र मृत्युबाट अमर हुने बाटोमा लैजाने तीन वाक्य “असतो मा सदगमय ।। तमसो मा ज्योतिर्गमय ।। मृत्योर मा अमृतं गमय”को महत्व र यसले दिने अर्थको मनन गरे मात्रै पनि पृथ्वी शान्त हुनेछ । यसैका लागि आज घरघरमा दीपावली गर्ने हो ।

शिव शान्ति र कल्याणको प्रतीक भएका कारण शिव आराधना विशेष महत्वको हुन्छ । अहिले विश्व नै कोरोना भाइरसका कारण अन्धकारतर्फ धकेलिइरहेका बेला हामी सबै भगवान शिवको आराधना गर्दै “असतोमा सदगमय तमसोमा ज्योतिर्गमय, मृत्योरमा अमृतम गमय” को शास्त्रीय सिद्धान्त अनुरुप घरघरमा दीप प्रज्वलन गर्ने हैन त ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.