राजनीति

सानो हेलचेक्र्याइँ गर्दा समुदायमा सङ्क्रमण फैलिने र परिणाम भयावह हुने चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । अब कुनै पनि हेलचेक्र्याइँ गर्दा समुदायमा सङ्क्रमण फैलिने र परिणाम भयावह हुने भन्दै कांग्रेसले सो आग्रह गरेको हो ।

नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ ।

काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत ती महिलाले सङ्क्रमण मुलुक बाहिरबाट लिएर नआएको तर सतर्कता नअपनाउँदा सङ्क्रमित बन्न पुगेको उल्लेख गर्नुभएको छ । “समयमै दोहोरो अन्तरराष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन”, उहाँले उल्लेख गर्नुभएको छ ।

यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न उहाँले सरकारसँग अपिल गर्नुभएको छ । काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रवक्ता शर्माले भन्नुभएको छ, “आजको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यतालाई छोडेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ ।” अब कुनै पनि हेलचेक्र्याइँ गर्दा समुदायमा सङ्क्रमण फैलिने र परिणाम भयावह हुने भन्दै उहाँले समयको गम्भीरताअनुरुप सरकारलाई गति बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.