अर्थ

गाडी र विलासिताका बस्तु आयातमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको घट्दो संचिति र बढ्दो शोधनान्तर घाटाबाट अर्थतन्त्रमा परेको जोखिम काम गर्न आयातमा थप कडाईको नीति लिएको छ । अब गाडी तथा विलासी बस्तुहरुको आयातमा रोक लागेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गाडी र विलासीताका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन दिंदै निर्देशन अटेर गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नेपालको कुल आयातमा पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात हुन्छ भने त्यसपछि सवारी साधन र तिनको पार्टपुर्जाको छ । चालु आर्थिक वर्षको ७ महिनासम्मको कुल आयातमा सवारी साधन र तिनको पार्टपुर्जाको हिस्सा साढे ७ प्रतिशत छ ।

गत आर्थिक वर्षको ७ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा सवारी साधन र पार्टपुर्जाको आयात साढे २६ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म ८६ अर्ब ९ करोड रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात गरिएको छ । २०७७ माघसम्म ६७ अर्ब ९७ करोड रुपैयाँको सवारी साधन र पार्टपुर्जा आयात गरिएको थियो ।

सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ अत्यावश्यक भएकाले नियन्त्रण गर्न कठिन छ । त्यसैले दोस्रो धेरै आयात हुने सामग्रीको आयातमा थप कडाइ गरिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलमा बोलाएर सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने आग्रह गरिएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तमा ९ अर्ब ७५ करोड छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३.९ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७८र७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

आयात बढेकाले शोधनान्तर घाटा चुलिएको र विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । यो अवस्थाबाट सुधार ल्याउन भन्दै दुई चरणमा गरेर राष्ट्र बैंकले करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि केही महिना आयात घटे पनि पछिल्ला महिनामा पुनः बढ्न थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.