राजनीति

स्वदेशमै उत्पादन बढाउन उपराष्ट्रपति पुनको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्दै समृद्ध मुलुक निर्माणका लागि स्वदेशमै उत्पादनमूलक व्यवसाय बढाउनुपर्ने बताउनुभयो ।

“विदेशी मुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसाय गर्नुपर्छ, जसले देशको विकासमा टेवा पु¥याउँछ”, उहाँले भन्नुभयो । निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर परेको उहाँको भनाइ थियो ।

संविधानको मर्म र भावनाअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुगे पनि नेपाली जनताको आर्थिक विकासमा अपेक्षाकृत परिवर्तन र पर्याप्त रोजगारीको अवसर बन्न नसकेको उहाँले बताउनुभयो । विसं २०६२÷६३ मा भएको राजनीतिक परिवर्तनसँगै सकारात्मक दिशामा अगाडि बढेको देशको अर्थतन्त्र कोरोनाको कारण पुनः चपेटामा परेको उहाँको भनाइ थियो ।

उपराष्ट्रपति पुनले नेपाली पुँजीपतिलाई ढुक्क भएर नेपालमा लगानी गर्नसमेत आग्रह गर्नुभयो । “म नेपाली पुँजीपतिहरुसँग आग्रह गर्न चाहन्छु, पुँजी विदेशमा लैजाने नसोच्नुस्, उल्टो विदेशी पुँजीसमेत नेपालमा भित्र्याउनुहोस्”, उहाँले भन्नुभयो ।

आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उपराष्ट्रपति पुनले साना तथा मझौला उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकको आर्थिक विकासका लागि उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “तपाईँहरु ढुक्क भएर लगानी गर्नुहोस्, तपाईँको लगानीको ग्यारेन्टी तीन तहकै सरकारले गर्नेछ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका लागि सरकारले निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले कोरोनाका कारण साना तथा मझौला उद्योगी मारमा परेको भन्दै यस्ता व्यवसायीलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक गतिमा हिँड्न नसकेको भन्दै यसलाई सकारात्मक गतीमा हिँडाउनका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले कोरोना महामारीको विषम् परिस्थितिका बाबजुद महासङ्घमा आबद्ध सम्पूर्ण उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको बताउनुभयो ।

विसं २०७३ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २२ व्यवसायी सदस्यको आबद्धता छ । महासङ्घमा १० हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.