जन सरोकार

हराइरहेका बालकको शव छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो

सर्लाहीको मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।

शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।

बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलङ्गवा–१२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी दिनुभयो । जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टी ट्याङ्कीभित्र लुकाएको वडाध्यक्ष रायले बताउनुभयो ।

बालकको शव सेफ्टी ट्ययाङ्कीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । ‘मृतक बालकका परिवारसँग रु १५ लाख फिरौतीसमेत माग गरिएको थियो”, वडाध्यक्ष रायले भन्नुभयो, “फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको रहेछ ।”

छोरो हत्याको घटना सुनेर उनको आमा अहिले बेहोस भएकी छिन् । उनको मलङ्गवास्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.