हतियार उठाएका मोहनको सन्देश- “राजनीति सेवा हो, जीवन चलाउन व्यवसाय गर्नुपर्छ”

राजनीतिलाई पेशा बनाएर यसैबाट घरव्यवहार चलाउने मात्र हैन विलाशी जीवन बिताउने हैसियत बनाएका नेताहरुको दैनिक देखेपछि विना लगानीको मुनाफायोग्य व्यवसाय बनिरहेको राजनीतिलाई सेवामूलक बनाउने हो भने पहिला आफ्नो घरव्यवहार चलाउन व्यवसाय सुरु गर्नुपर्छ भन्ने सन्देशश कतिपय युवा राजनीतिकर्मीहरुले दिइरहेका छन् ।
पछिल्लो समय राजनीतिप्रति आम धारणामा आएको परिवर्तन र यसको मर्म बुझेका युवाहरु आफ्नो पेशा र व्यवसाय चलाएर राजनीतिलाई सेवा मात्र ठान्ने क्रम बढिरहेका बेला केही समयअघिसम्म हतियारयुक्त राजनीति गरिरहेका सल्यान दार्मा गाउँपालिका ३ का मोहन देवकोटा पनि यसै कोटीमा पर्नुभएको छ ।
कुनै समय राजनीति सबथोक हो भनेर भूमिगत हुँदै विप्लव समूहको जिल्ला जनसरकार प्रमुख भएर जिम्मेवारी पूरा गर्नुभएका देवकोटा अहिले व्यावसायिक कुखरापालनमा सक्रिय रहनुभएको छ ।
गाउँघरमा स्थानीय जातको कुखुराको माग भएपछि व्यवसायिक रुपमा कुखुरापालन थालनी गरिएको छ । स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै विक्री हुने गरेको छ ।
गएको एक वर्षदेखि देवकोटा पशुपंक्षी फर्म दर्ता गरेर अहिले व्यवसायिक कुखुरापालन गरिरहनुभएका देवकोटाको फार्ममा दश लाख बरावरको लगानी भएको छ । उहाँले कुखुरा विक्रीबाट मासिक ५० हजारभन्दा बढी कमाई गरिरहनु भएको छ ।
उहाँको योजना यसै वर्षभित्र १० हजार कुखुरापालन गर्ने रहेको छ । राजनीति सेवा भन्ने मान्यताका साथ व्यावसायिक रुपमा सक्रिय रहेका मोहन देवकोटाको सिको अन्य दलका नेता कार्यकर्ताले गर्नु उपयुक्त देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्